बैंकिङ खबर
विकट क्षेत्रमा वाणिज्य बैंकहरु भन्दा विकास बैंकले बढी सेवा दिइरहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको एक तथ्यांक अनुसार वाणिज्य बैंक नपुगेका अधिकांश विकट क्षेत्रमा विकास बैंकका शाखाहरु पुगिसकेका छन् । संघीय संरचना अनुसार निर्माण भएका ७ सय ५३ स्थानीय तहहरुमध्ये ग्रामिण भेगका अधिकांश स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिती छैन । ७ सय ५३ स्थानीय तहमध्ये ग्रामिण भेगका न्युनतम् भौतिक पूर्वाधार पुगेका धेरैजसो स्थानीय तहमा विकास बैंकहरुले शाखा खोलिसकेको विकास बैंकर्स संघले जनाएको छ ।
विकट क्षेत्रको उपस्थितीले वित्तीय पुहँच वृद्धि
विकास बैंकहरुले शहरभन्दा पनि बढी विकट क्षेत्रलाई प्राथमिकतामा राखेर सेवा दिइरहेकाले वित्तीय पहुँचमा नागरिकको आकर्षण बढ्दै गएको विज्ञहरुको भनाई छ । नेपालका करिब ६० प्रतिशत नागरिकहरु बैंकिङ पहुँच बाहिर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । नेपालका ४० प्रतिशत जनतामा मात्र वित्तीय पहुँच पुगेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । कार्यकारी निर्देशक थापाका अनुसार सहकारी संस्थाहरुलाई जोड्ने हो भने ६१ प्रतिशत जनतामा बैंकिङ पहुँच पुगेको छ । पछिल्लो समय नाफाभन्दा पनि बढी सेवालाई प्राथमिकतामा राखेर विकास बैंकहरुले ग्रामिण भेगमा बैंकिङ सेवा दिन थालेपछि वित्तीय पहुँच बढ्दै गएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
वाणिज्य बैंकलाई उछिन्यो
वाणिज्य बैंकहरुले शाखा खोल्ने तयारी गरिरहेको कतिपय ठाउँमा विकास बैंकहरुले शाखा खोली सेवा दिइरहेका छन् । २७ वटा वाणिज्य बैंकहरुले सहमति गरे अनुसार बैंक नपुगेको दुई सय ५० स्थानीय तहमा शाखा खोल्न आवश्क गृहकार्य गरिरहेका छन् । स्टान्डर्ड चार्टर्ड बैंकबाहेक सबै बैंकहरुले आफूले जाने स्थानीय तहको नाम र संख्यासहित नेपाल राष्ट्र बैंकबाट स्वीकृत गराएका छन् । अहिले स्थानीय तहमा शाखा खोल्नका लागि कतिपय बैंकले स्थलगत रुपमा रिपोर्ट तयार पारिरहेका छन् भने कुनै बैंकले कतिपय स्थानीय तहमा शाखा खोल्न घर भाडामा समेत लिइसकेको बुझिएको छ । तर वाणिज्य बैंकले शाखा खोल्न लागेका यी स्थानीय तहहरुमध्ये २५ प्रतिशतभन्दा बढी स्थानीय तहमा शाखा खोलिसकेको विकास बैंकहरुले दावी गरेका छन् ।
वाणिज्य बैंकले शाखा खोल्छाँै भनेका केहि स्थानीय तहहरुमा यसअघि नै विकास बैंकले शाखा सञ्जाल विस्तार गरिसकेको डेभलपमेन्ट बैंकर्स एशोसियसनका महासचिव समेत रहेका लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले बताए । ‘उदाहरणका लागि झापाको कमल गाउँपालिकामा वाणिज्य बैंकले जान्छौँ भनेका छन्, त्यहाँ अलरेडी हाम्रो शाखा कार्यालयले सेवा दिइरहेको अवस्था छ,’ बैंकिङ खबरसँगको कुराकानीमा महासचिव खनालले भने– ‘अन्य ठाउँमा पनि विकास बैंकका शाखा स्थापना भई सेवा दिइरहेका छन्, जहाँ वाणिज्य बैंक हालसम्म पुग्न सकेका छैनन् ।’ वाणिज्य बैंकका शाखा नपुगेका कतिपय स्थानीय तहमा विकास बैंकका शाखा पहिले नै भएको र कतिपय स्थानीय तहमा शाखा खोल्ने तयारी भइरहेको खनालको भनाई छ ।
वाणिज्य बैंकको सेवा शहर केन्द्रित
वाणिज्य बैंकहरु धेरैजसो शहर केन्द्रित देखिएका छन् । मुलुकका २८ वटा वाणिज्य बैंकहरुमध्ये प्रभु बैंक, एनआईसी एशिया तथा सरकारी बैंकहरुले ग्रामिण भेगलाई प्राथमिकतामा राखेका भए पनि अधिकांश वाणिज्य बैंकहरुको शाखा शहर केन्द्रित रहेका छन् । वाणिज्य बैंकहरुमध्ये पनि स्टाण्डर्ड चार्टर्ड बैंकले ग्रामिण भेगलाई सेवा दिन चाहेको देखिँदैन । सेवाभन्दा पनि मूनाफामा जोेड दिने स्टाण्डर्ड चार्टर्ड बैंकको शाखा सञ्जाल जम्मा १४ वटा मात्रै छन् । त्यसमा पनि देशको मूख्य शहरमा मात्रै यसले शाखा खोलेको छ ।
बैंक नपुगेका स्थानीय तहमा शाखा खोल्न चुनौती
बैंकिङ पहुँच नपुगेको स्थानीय तहमा शाखा खोल्न सबैभन्दा बढी भौगोलिक समस्या छ । पहाड, डाँडा–काँडामा यातायातको सुविधा समेत नपुगेको हुँदा त्यहाँ शाखा खोल्न चुनौतीहरु देखिएका छन् । फण्ड म्यानेजमेन्ट, कर्मचारी व्यवस्थापन लगायतका चुनौतीहरु पनि छन् । विकट क्षेत्रमा दक्ष कर्मचारीको अभाव हुँदा शाखा खोल्नका लागि काठमाडौं लगायत शहरी क्षेत्रबाट कर्मचारी लैजानुपर्ने हुन्छ ।




