Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

उत्पादनशील क्षेत्रको लगानीमा विकास बैंक अगाडी

२०७४ कार्तिक ८ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले जलविद्युत्, कृषि, पर्यटन लगायतका उत्पादनशील क्षेत्रमा ‘क’ वर्गका बैंक अर्थात वाणिज्य बैंकहरुले २५ प्रतिशत र ख वर्गका बैंक अर्थात विकास बैंकहरुले १५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । उत्पादनशील क्षेत्रमा गरेको लगानी डुब्ने खतरा कम हुने तथा उत्पादनशील क्षेत्रमा लगानी गर्दा मुलुकको अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव पार्ने भएकाले राष्ट्र बैंकले यो व्यवस्था गरेको हो । राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा निश्चित प्रतिशत तोकिदिएर अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरे पनि कतिपय बैंकहरुले तोकिएको क्षेत्रमा तोकिए अनुसारको लगानी गर्ने छाँटकाट देखाएका छैनन् ।

उत्पादनशील क्षेत्रमा लगानी गर्न वाणिज्य बैंकहरु भन्दा विकास बैंक अगाडी देखिएका छन् । ग्रामिण भेगमा वाणिज्य बैंकहरुको भन्दा विकास बैंकहरुको उपस्थिती बाक्लो भएका कारणले उत्पादनशील क्षेत्रको लगानीमा विकास बैंक अगाडी देखिएको बैंकरहरु बताउँछन् । उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्न विकास बैंकहरु सदैव तयार रहेको बैंकरहरुको भनाई छ ।

‘उत्पादनशील क्षेत्रमा लगानी गर्न विकास बैंक इच्छुक छन्’
गोविन्द ढकाल, उपाध्यक्ष, डेभलपमेन्ट बैंकर्स एशोसियसन

वाणिज्य बैंकहरुको तुलनामा विकास बैंकहरुले बढी उत्पादनशील क्षेत्रमा लगानी गरेको तथ्यांकले नै देखाएको छ । उत्पादनशील क्षेत्रमा लगानी गर्न चाहनेलाई त्यही किसिमको वातावरण राज्यले पनि बनाईदिनुपर्छ । यहाँका जुनसुकै क्षेत्रका उद्योगीहरु छिमेकी मुलुक भारतका उद्योगीहरुसँग प्रतिष्पर्धा गर्न सक्ने छैनन् । हाम्रो तराईमा तरकारी खेति हुन्छ । तर, हाम्रोमा भन्दा भारतबाट ल्याएको तरकारी सस्तो हुन्छ । यस विषयमा सरकारले ध्यान दिनुपर्छ । उत्पादनशील क्षेत्रमा लगानी गर्न विकास बैंकहरु तयार छन् । तर भाषणमा, किताबमा, नारामा आएका कुराहरु जस्तो त्यति सजिलो भने छैन । ग्रामीण भेगका हाम्रा शाखाहरुमा पशुपालन, तरकारी खेती लगायतका लागि कर्जाको माग कम आउने गरेको छ । तर जे जति माग आउँछ तिनीहरु रित्तो हात फर्कनु परेको छैन । उत्पादनशील कार्य गर्नका लागि कर्जा माग गर्न आउनेहरुका लागि कर्जा प्रवाह गर्न विकास बैंकहरु तयार छन् । विकास बैंकहरु उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्न सँधै नै अगाडी छन् ।

‘आर्थिक समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लगानी’
संजिव प्रधान, प्रमुख कार्यकारी अधिकृत, सिन्धु विकास बैंक

आर्थिक समृद्धिका लागि उत्पादनशील क्षेत्रमा नै लगानी गर्नुपर्छ । उत्पादनशील क्षेत्रमा विकास बैंकको लगानी धेरै छ । सिन्धु विकास बैंकको कुरा गर्ने हो भने हामीले ४० प्रतिशतभन्दा बढी लगानी उत्पादनशील क्षेत्रमा  गरेका छौँ । उत्पादनशील क्षेत्रमा जति बढी कर्जा लगानी गर्यो त्यति नै कर्जाको गुणस्तर हुन्छ र कर्जा असुली पनि सहज रुपमै हुन्छ । कर्जाको सदुपयोगिता हुने भनेको नै उत्पादनशील क्षेत्रको कर्जामा हो । उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्दा डुब्ने खतरा पनि हुँदैन । देशको आर्थिक विकासका लागि उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्नु अपरिहार्य छ ।

अनुत्पादक क्षेत्रमा गरेको लगानी डुब्ने खतरा
बैंक तथा वित्तीय संस्थाहरुले ७० प्रतिशत भन्दा बढी कर्जा अनुत्पादक क्षेत्रमै गर्ने गरेको राष्ट्र बैंकको एक तथ्यांकले देखाएको छ । घरजग्गा, ओभरड्राफ्ट, हायर पर्चेज र सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले व्यापक लगानी गरेका छन् । तथ्यांकअनुसार यी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले झण्डै करिब दुई खर्ब रुपैयाँ लगानी गरेका छन् । मुलुकको विकासका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञहरु बताउँछन् । फेरी अनुत्पादक क्षेत्रमा लगानी उच्च हुँदा बैंक तथा वित्तीय संस्थाको कर्जा डुब्ने सम्भावना पनि उत्तिकै हुन्छ । तर उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्दा खराब कर्जाको अनुपात बढ्ने सम्भावना रहँदैन । त्यसैले पनि राष्ट्र बैंकले कृषि, उर्जा, हाइड्रोलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न आफ्नो नीतिमार्फत नै बैंक तथा वित्तीय संस्थालाई निर्दिष्ट गरेको हो । तर खासगरी निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकहरु उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्दा बढी मुनाफा नदेखेकाले त्यतापटि कर्जा प्रवाह गर्न त्यति उत्साहित नभएको बताइन्छ ।