२०७४ कार्तिक १ गते

बोनसपछि हकप्रद सेयर निष्काशन गर्दै ‘वोमी माइक्रोफाइनान्स’

बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले २० प्रतिशत बोनस सेयर पाउने भएका छन् । संस्थाको मंगलबार बसेको संचालक समितिको ९५औँ बैठकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । 

सोही बैठकले बोनस सेयर जारी भएपछिको चुक्तापुँजीबाट ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ । अब माइक्रोफाइनान्सले साधारणसभा आयोजना गरी बोनस र हकप्रद सेयर पारित गर्नेछ । 

हाल वोमी माइक्रोफाइनान्सको चुक्तापुँजी छ करोड ४८ लाख रुपैयाँ रहेको छ । उक्त चुक्तापुँजीको २० प्रतिशतले हुने एक करोड २९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर जारी गरेपछि संस्थाको चुक्तापुँजी सात करोड ७७ लाख ६० हजार रुपैयाँ पुग्नेछ । उक्त चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।