सुरज घिमिरे – भर्खरै मात्र “बस्तु विनिमय बजार सम्बन्धी ऐन २०७३” आइसकेपछि नेपालमा कमोडिटिज बजारबारेको बहस व्यापक बन्दै गएको छ । ऐन अनुसार वस्तु बजारको सुपरिवेक्षण तथा नियमनको अधिकार नेपाल धितोपत्र बोर्डलाई दिइएसँगै यसअघि सेयर करोबारसम्बन्धी आवश्यक नीति निर्माण तथा अनुगमन गर्दै आएको बोर्डले अब वस्तु बजारको पनि नीति निर्माण तथा अनुगमनको काम गर्ने थप जिम्मेवारी पाएको हो ।
कमोडिटिज बजार
वस्तु विनिमय बजार संसारको सबैभन्दा पुरानो बजार हो । वस्तुको खरीद–विक्री तथा कारोबार हुने बजारलाई कमोडिटिबजार वा वस्तुबजार भनिन्छ । यस्तो बजारमा वस्तुको भुक्तानी लिने तथा ढुवानि दिने प्रकृयाको आधारमा कारोबार स्पट तथा फ्युचर दुइ प्रकारले हुने गर्दछ । स्पट मुल्य भनेको तत्कालको बजार मुल्य हो, जहाँ थोक बजार मुल्यमा कारोबार हुने गर्दछ । जबकि फ्युचर मुल्य भविष्यमा कारोब ागर्नका लागि तोकिएको बजार मुल्य हो । सामान्यतया कमोडिटिज बजारमा प्राकृतिक कच्चा (तयारी वस्तुबाहेक) धातु, ऊर्जा तथा कृषिजन्य वस्तुको कारोबार भए तापनि बदलिँदो परिदृश्यमा ब्याजदर, मुद्रा तथा सूचाङ्कजस्ता वस्तुहरूमा समेत कारोबार हुँदै आएको छ ।
कमोडिटी डेरिभेटीभ
वस्तुको मुल्यमा आधारित रहेर सम्झौतापत्र तयार गरिन्छ भने यसलाई कमोडिटी डेरिभेटीभ भनिन्छ । नेपालमा हाल साचालित एक्स्चेन्जमा कारोवार हुने सम्झौतापत्र वस्तुको मुल्यमा आधारित सम्झौतापत्र हुन् । कमोडिटीज डेरिभेटिभ बजारमा हेजिङ, स्पेकुलेसन र आर्विटेजको उद्देश्यसहित कारोबार गरिन्छ ।
वस्तु तथा सम्पत्तिको भविष्य मुल्य सुनिश्चितताको लागि गरिने क्रियाकलाप अथवा मुल्य जोखिमबाट बच्ने उद्देश्यले एक पोजिसनको विपरित अर्को पोजिसन बनाउनु नै हेजिङ्ग हो । यस्तो प्रकारको हेजिङ्ग दुई प्रकारले संभव हुने गर्दछ । पहिलो भविष्यमा मुल्यवृद्धि जोखिमबाट बच्ने उद्देश्यले गरिने खरिद सम्झौता अथवा लङ हेज हो भने दोस्रो भविष्यमा वस्तु तथा सम्पत्तिको मुल्य घट्नसक्ने डरले गरिने विक्री सम्झौता अथवा सर्ट हेज हो ।
स्पेकुलेसन भनेको पूर्वानुमान अर्थात भविष्य अनुमान हो । वस्तु तथा सम्पत्तिको मुल्य बजारमा क्रेता तथा विक्रेताको रुपमा समाविष्ट लगानीकर्ताको मनोविज्ञानमा अडेको हुन्छ भविश्य अनुमानको लागि लगानीकर्ताको मनोविज्ञानमा आधारित ग्राफ चार्ट तथा विभिन्न प्राविधिक इन्डिकेटरहरुको सहयोग लिएर मुल्यको सहि भविष्य अनुमान गर्न सकिन्छ ।
यसैगरी अपारदर्शि मुल्य संयन्त्र भएको र कार्टे्लिङ भएको वजारमा प्रवेश गरी जोखिम विहिन मुनाफा लिने उद्देश्यले गरिने लगानीलाई अर्विट्रेज भनिन्छ । जस्तै कुनै दुई डेरिभेटिभ एक्सचेन्जमा कारोवार हुने एउटै वस्तुको मुल्य अलगअलग रहेको छ भने जसमा सस्तो मुल्य भएको वस्तु तथा सम्पतिको खरिद गर्ने र महंगो मुल्य भएको एक्सचेन्जमा सोहि वस्तु तथा सम्पतिको संझौता विक्री गरी नाफा आर्जन गर्न सकिन्छ ।
वस्तुवजार कारोवार सहभागीहरु
कमोडिटी डेरिभेटीभ बजारमा कारोबार गर्न विभिन्न खेलाडीहरु सहभागी हुने गर्दछन्, जसले गर्दा यो बजारको विश्वसनीयता र जोखिम न्यूनिकरणका लागि महत्वपूर्ण मानिन्छ । विनियम केन्द्र, राफसाफ केन्द्र, ब्रोकर सदस्य र लगानीकर्ताहरु यस्तो बजारका मुख्य पात्रहरु हुन् ।
क्रेता र विक्रेता बीच कारोवार सम्पन्न हुने स्थान विनिमय केन्द्र हो । यसले वस्तुको कारोबारलाई सरल र सहजरुपले सम्पन्न गराउन सम्पूर्ण प्रबन्ध मिलाउने तथा क्रेता र विक्रेता बिच कारोवार सम्पन्न गराउन भूमिका निर्वाह गर्दछ ।
राफसाफ केन्द्रकारोवार सुविधा प्रदान गर्ने तथा राफसाफको काम गर्ने उद्देश्यले स्थापित कारोवारी विभाग हो, जसलाई क्लीयरिङ्ग कर्पोरेशन तथा क्लीयरिङ्ग हाउस भनिन्छ ।
निश्चित कमिसन लिएर अफिस व्यवस्थित गरी लगानिकर्तालाई सुरक्षित लगानीको वातावरण स्थापित गरी बजारलाई व्यवस्थित गराउने र लगानिकर्तालाई सुरक्षित प्रतिफल दिलाउने काम ब्रोकर सदस्यले गर्दछन् ।
नाफा प्रेरीत कारोवारमा संलग्न व्यक्तिहरुलाई नै लगानीकर्ता भनिन्छ । यस वजारमा स्पेकुलेटर, हेजर र आर्विट्रेजर गरी तीन किसिमका लगानीकर्ताहरु हुने गर्दछन् ।
कमोडिटिज मार्केटमा किन लगानी गर्ने ?
नाफा आर्जन गर्न
लगानी पोर्टफोलियो बढाई जोखिम न्यूनिकरण गर्न
तरलता सम्पत्ति कायम गर्न
न्यून पूँजी भए पनि मार्जिनमा कारोबार गर्न
मूल्यमा हुने उतार चढावबाट हुने हानी कम गरी लाभ बढाउन
कृषि, उद्योग तथा अन्तराष्ट्रिय व्यापारमा हुने अनिश्चितता कम गर्न
वैकल्पित क्षेत्रको रुपमा लगानी गर्न
कमोडिटिज मार्केटबाट हुने फाइदाहरु
- कमोडिटिज बजारले प्राकृतिक वस्तुहरूको मूल्य निर्धारण गर्न, भविष्यमा हुन सक्ने मूल्य जोखीम न्यूनीकरण गर्न र वित्तीय बजारमा लगानीको क्षेत्र विस्तार गर्न लगानीकर्ता, उत्पादक, आयातकर्ता एवम् निर्यातकर्तालाई सहयोग गर्छ । यस अर्थमा कमोडिटिज डेरिभेटिभ कारोबारको मुख्य उद्देश्य कुनै पनि प्रकारको लगानी वा व्यवसायमा हुने मूल्य जोखीम व्यवस्थापन वा न्यूनीकरण गर्नु हो ।
- कमोडिटिज डेरिभेटिभ कारोबारबाट कृषिजन्य उपजहरूको मूल्य स्थिरताका लागि मद्धत मिल्दछ ।
- नेपालबाट कृषि उत्पनदनहरु निर्यात गर्दा करारहरूको कारोबार गरी भविष्यमा घटबढ हुन सक्ने मूल्यको जोखीमबाट सुरक्षित भई प्रतिस्पर्धात्मक तवरले आफ्नो वस्तुको निर्यात गर्नसक्ने सम्भावना रहन्छ ।
- वेयर हाउसको स्थापना गरी स्थानीय कृषि उत्पादनलाई डेरिभेटिभ बजारमा कारोबार गराउन सकिएमा नेपाली कृषि उत्पादकनको अन्तरराष्ट्रिय बजार प्रवद्र्धन तथा कृषक क्षेत्रको हित गर्न सकिन्छ ।
- खाद्यपदार्थको उपलब्धतालाई सहज बनाउन खाद्यभण्डार सञ्चालन तथा थोक विक्रेताले कमोडिटिज डेरिभेटिभ बजारलाई जोखीम व्यवस्थापन गर्ने प्रयोग गर्नसके बजारमा मूल्य वृद्धिको चापलाई समेत कम गर्न सकिनेछ ।
- औद्योगिक उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा हुने उतार चढावबाट सिर्जना हुने जोखिम न्यूनिकरण गर्न सकिने ।
- भविष्यमा बढ्न सक्ने कच्चा तेलको मूल्य र त्यसबाट हुन सक्ने जोखीम नियन्त्रण गर्न सकिने देखिन्छ ।
- सुनचाँदीको आयात गर्दा डेरिभेटिभ करारको प्रयोग गरी मूल्यमा हुनसक्ने जोखीम नियन्त्रण गर्न सकिन्छ ।
- कारोबार गर्दा लाग्ने करले देशको अर्थतन्त्रमा ठूलो अंश ओगट्ने देखिन्छ ।
कमोडिटिज मार्केटको इतिहाँस
अन्तरराष्ट्रिय वस्तुबजारको इतिहास बस्तु विनिमयसँगै सुरु भए पनि औपचारिक अभिलेखहरूको अधारमा १७औं शताब्दीमा जापानमा स्थापना भएको डोजिमा राइस एक्सचेञ्जलाई पहिलो कमोडिटी एक्सचेञ्जका रूपमा लिइन्छ भने आधुनिक कमोडिटी एक्सचेञ्जको शुरुआत सन् १८४८ मा अमेरिकामा स्थापना भएको सिकागो बोर्ड अफ ट्रेडबाट भएको मानिन्छ । हाल कमोडिटिज बजार विकसित, विकासशील तथा अल्पविकसित गरी सयभन्दा बढि राष्ट्रमा सञ्चालनमा रहेको छ र देशको अर्थतन्त्रमा ठूलो सहयोग पनि र्पुयाइरहेको छ । दक्षिण एशियामा नेपाललगायत भारत, अफगानिस्तान, भुटान र पाकिस्तानमा समेत वस्तुबजार सञ्चालनमा रहेका छन् भने अन्य राष्ट्रहरूमा सञ्चालन हुने क्रममा छन् ।
नेपालमा कमोडिटिज मार्केट
नेपालमा सन् २००६ देखि कमोडिटिज मार्केटको कारोबार सुरु भए पनि विश्व बजारको लागि भने यो नयाँ कुरा होइन । वास्तबमा कमोडिटिज मार्केट एउटा वस्तु वजार हो, जहाँ सुन, चाँदी, कृषि उत्पादन, तरल पदार्थ लगायत बस्तुहरुको कारोबार हुने गर्दछ । नेपालमा कमोडिटी एण्ड मेटल एक्सचेञ्ज नेपाल (कोमेन)को स्थापनासँगै १४ डिसेम्बर सन् २००६ बाट कमोडिटिज बजारको औपचारिक शुरुवात भएको हो । (कोमेन), मर्कण्टाइल एक्स्चेञ्ज नेपाल (मेक्स), नेपाल डेरिभेटिभ एक्सचेञ्ज (एनडेक्स), वेल्थ एक्स्चेञ्ज प्रालि (वेक्स), कमोडिटी फ्युचर एक्सचेञ्ज (सीएफएक्स), एसियन डेरिभेटिभ एक्सचेञ्ज (एडिएक्स), डेरिभेटिभ एण्ड कमोडिटी एक्सचेञ्ज(डीसीएक्स),एभरेष्ट कमोडिटी एक्सचेञ्ज (ईसीएक्स) र आरसीडीएक्स गरी नौवटा कमोडिटीज एक्स्चेञ्ज दर्तामा रहे पनि हाल केवल तीन कम्पनी मात्र सञ्चालनमा छन् ।
यसैगरी बजारमा करीब दुई सय कमोडिटी ब्रोकर कम्पनी रहे पनि करीब ४०÷५० ब्रोकर कम्पनीमात्र सक्रियरूपमा सञ्चालनमा रहेका छन् । हाल यो बजारमा करीब २५ वटा कमोडिटीहरूका कण्ट्रयाक्टको किनबेच हुने गरेको छ । आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७२÷७३ मा नेपालमा कमोडिटीज एक्सचेन्ज मार्फत २ खर्ब ९५ अर्ब ३२ करोडको कारोबार भएको थियो । जबकि २०७१÷७२ मा २ खर्ब ५५ अर्बको कारोबार मात्रै थियो । यसले नेपालमा कमोडिटिज मार्केटको विस्तार हुँदै गएको कुरा उजागर गर्दछ ।
मुल्यमा हुने उतारचढावलाई समात्न सक्यो भने कमोडिटिज मार्केटबाट जोखिम न्यूनिकरण गर्नुका साथै प्रसस्त आय आर्जन पनि गर्न सकिन्छ । यही विषेशताकै कारण पछिल्लो समयमा कमोडिटिज मार्केटको विकास र विस्तार विश्वव्यापी रुपमै बढ्दै गएको छ । नियामक नियकाको अभाव, आम मानिसमा कमोडिटिज मार्केटबारे ज्ञानको अभाव, तथा यस विषयमा भ्रामक प्रचारले गर्दा पनि नेपालमा कमोडिटज मार्केटको विकास अपेक्षित रुपमा हुन सकेको छैन । तर, भर्खरै मात्र “बस्तु विनिमय बजार सम्बन्धी ऐन २०७३” आइसकेपछि नेपालमा कमोडिटिज बजारबारेको विकासको सम्भावनालाई नकार्न सकिंदैन ।
नेपालमा कमोडिटिज मार्केटको सम्भावना
आधुनिक प्रविधिको विकास, वित्तीय शिक्षा र पहुँचमा भएको उपलब्धी, लगानीकर्ताहरुको चासो तथा नियामक निकाय धितोपत्र बोर्डको विकासको गतिलाई हेर्दा नेपालमा बस्तु विनिमय बजारको द्रुत विकासमा अपेक्षा गर्न सकिन्छ ।
- प्रविधिको विकासले कारोबार सहज बनाउने
- वित्तीय क्षेत्रको विकासले भुक्तनी लेनदेनमा सहायोग पुग्ने
- लगानीकर्ताहरुले प्रोटफोलियो विस्ता गर्ने अवसर प्राप्त गर्ने
- मार्जिनमा कारोबार गर्नसकिने हुँदा न्यून पूँजीबाट पनि लगानी गर्न सकिने
- धितोपत्र वोर्डको सक्षमतामा विकास हुँदै गएको
- वित्तीय साक्षरता र पहुँचता दुवैमा वृद्धि हुँदै गएको
- जिडिपिको एक तीहाइ योगदान दिने कृषि क्षेत्रको बाहुल्यता रहेको
नेपालमा कामोडिटिज बजारको चुनौतिहरु
नेपालमा कमोडिटिज बजार एक सुरुवाती चरणमा रहेको छ । भर्खरै मात्र यो क्षेत्रलाई नियमन गर्न ऐन बनेको छ र धितोपत्र बोर्डलाई यसको नियामक निकायको रुपमा तोकिएको छ । संक्षेपमा नेपालमा कमोडिटिज बजारका चुनौतिहरुलाई देहायकको बुँदाहरुमा उल्लेख गर्न सकिन्छ,
- नियामक निकायको नियमन, सुपरिवेक्षण तथा अनुगमन क्षमताको विकास गर्नु ।
- कारोबार गर्ने वस्तुहरुको परिमाण र गुणस्तर बढाउनु ।
- दूर दराजसम्म प्रविधिको विकास नहुनु ।
- ऐन, नियम, नीति, नियम, विनियमावली तथा निर्देशनको अभाव हुनु ।
- कमोडिटिज बजारबारे ज्ञान, साक्षरता र अनुभवको कमी हुन ।
- अझै पनि कूल जनसंख्याको करिव ६० प्रतिशत जनतामा वित्तीय पहुँच पुग्न नसक्नु
कमोडिटिज बजारमा प्रभाव पार्ने तत्वहरुः
- विनिमय दरमा आउने परिवर्तन
- मुद्रको मूल्यमा हुने परिवर्तन
- लगानी कर्ताको मनोविज्ञान
- बजारका विषयमा आउने भरपर्दाे समाचारहरु
- बस्तुहरुको उत्पादन र उपलब्धता
- एक्सचेन्ज, ब्रोकर, वेयर हाउस, विमा कम्पनी आदिको विकासको अवस्था
बस्तु विनिमय बजार सम्बन्धी ऐन २०७३ का विशेषताहरु
- बस्तु बजार सम्बन्धी बनेको ऐनमा कमोडिटीज एक्सचेन्ज खोल्नको लागि न्यूनतम चुक्ता पूँजी ५० करोड कायम गरिएको छ ।
- डेरिभेटिभलाई खरिदकर्ता तथा बिक्रीकर्ताबीच कम्तीमा ३० दिनपछि बस्तु खरिद वा बिक्री गर्ने गरी वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी भएको वस्तु करारलाई उल्लेख गरिएको छ ।
- अब बजार सञ्चालकहरूले कारोबार अनुमति पाएको १ सय ८० दिनभित्र कारोबार सुरु गरिसक्नुपर्छ ।
- पूर्वाधार विकास नगरी कारोबार सञ्चालन र पाइनेछैन भने पुराना संस्थाहरूले पनि बोर्डसँग स्वीकृति लिएर मात्र कारोबार थाल्नुपर्दछ ।
- कारोबारमा हुनसक्ने सम्भावित प्रणालीगत जोखिमबाट सुरक्षित गर्न लगानीकर्ता संरक्षण कोष स्थापनालाई अनिवार्य गरिएको छ ।
- कमोडिटिज एक्सचेन्ज कम्पनी सञ्चालनका लागि सात सदस्यीय सञ्चालक समिति हुनुपर्ने र त्यसमा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक चयन गर्नुपर्ने बाध्यात्मक व्यवस्था विधेयकमा छ ।
- कमोडिटिज एक्सचेन्जको संचालक बन्नको लागि उमेरहद ३५ वर्ष तोकिएको छ । स्नातकोत्तर उत्तिर्ण र चाटर्ड एकाउन्टेन्स उत्तिर्ण भएको र सम्बन्धित क्षेत्रमा ५ वर्ष काम गरेपछि मात्र संचालकलाई योग्य मानिएको छ ।
- सिइओ हकमा स्नात्कोत्तर तह उत्तिर्ण र सम्बन्धित विषयमा सात वर्ष काम गरेको हुनपर्ने छ ।
- वस्तु कारोबार कम्पनीले कारोबार व्यवसायको बिमा गराउनुपर्ने व्यवस्था छ ।
- कारोबारका क्रममा सुरक्षित र भरपर्दो विद्युतीय कारोबार प्रणालीसमेत हुनुपर्ने पारित विधेयकमा उल्लेख छ ।
- कमोडिटिज एक्सचेन्जको लगानीमा क्रस होल्डिङ गर्न नपाइने अर्थात एउटामा एक्सचेन्जमा लगानी रहेको व्यक्तिले अर्को एक्सचेन्ज खोल्न पाउँदैन ।
- कमोडिटिज एक्सचेन्ज मार्फत कारोबार गर्न सकिने बस्तुमा बोर्डले सीमा तोक्ने सक्ने छ ।
- कारोवार गर्दा सम्झौतालाई अनिवार्य गरिएको छ भने बस्तु कारोबारको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था तोकिएको छ ।
- कमोडिटिज एक्सचेन्जले गोदाम गृह संचालन गर्न सकिने व्यवस्था गरिएको छ ।
- कमोडिटिज एक्सचेन्ज मार्फत लगानीकर्ता ठगिएमा यसको कारवाहीको व्यवस्थापनि ऐनले गरेको छ ।
निश्कर्षः
वस्तुको खरीद विक्री तथा कारोबार हुने बजारलाई कमोडिटिबजार वा वस्तुबजार भनिन्छ । कमोडिटिज बजारले एकातीर लगानीको अवसर सिजर्ना गराउँदछ भने अर्काेतिर मूल्य जोखिमलाई न्यूनिकरण गर्न पनि सहायोग पुर्याउँछ । नेपालमा किसानहरुले आफनो कृषि उपजको सही मूल्य पाइरहेका छैनन् भने अर्कोतर्फ उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन् । कमोडिटिज बजारको अपेक्षित विकास र विस्तार हुनसके यसले किसानदेखि उपभोक्ता सम्मलाई फाईदा पुर्याउँछ । तर, त्यसको लागि कमोडिटिज बजारमा कृषिजन्य उत्पादनलाई प्राथमिकता दिने, भण्डारणको व्यवस्था गर्ने, कृषि विमालाई सहज बनाउने आदि काम गर्नु आवश्यक छ । लामो प्रतिक्षापछि बस्तु विनिमय बजार सम्बन्धी ऐन आएको छ । यो आफैमा ठूलो उपलब्धी हो । यसले आगामि दिनमा आवश्यकता अनुसार ऐनमा संसोधन पनि गर्न सकिन्छ । साथै वस्तु विनिमय बजारको विकास र सुदृढीकरणका लागि नियमावली तथा नियामक निकायले अवलम्बन गर्ने नीति तथा कार्यक्रम वच्छ, पारदर्शी, बलियो र फराकिलो हुनु जरुरी छ । (लेखक नेपाल बैंक लिमिटेड, बुर्तिबाङका शाखा प्रबन्धक हुन् )



