जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको ककौरा शाखाले मृतक ग्राहकको परिवारलाई ऋण मिनाहा गरी राहत स्वरुप क्रिया खर्च समेत प्रदान गरेको छ । यस बैंकको शाखा कार्यालय ककौरा अन्तर्गत हिम शिखर बैंकिङ समुदाय बाँसगढी–०९, बर्दिया केन्द्र नं. ००९० मा आवद्ध समुह सदस्य आशारानी कुमालको गत असोज २१ गते निधन भएपछि उनले लिएको साधारण कर्जा रु ५८,३३२ र मौसमी कर्जा रु १५,००० गरी जम्मा रु ७३,३३२ मिनाहा गरिएको छ । साथमा क्रिया खर्च बापत पति प्रेम कुमाललाई नगद रु ३,००० समेत प्रदान गरिएको छ ।
कुमाल बर्दिया जिल्लाको बाँसगढी गाँउपालिका वडा नं. ०९, कुनौठी घर भई सोही स्थानमा बासोबास गर्दै आएकी थिइन् । ४४ वर्षको उमेरमै असामयिक निध भएकोप्रति समवेदना प्रकट गर्दै जनउत्थान सामुदायिक लघुवित्तका अध्यक्ष यम बहादुर बि.क., संचालक मान बहादुर विश्वकर्मा, गोकर्ण बहादुर कार्की, नरेन्द्र कंडेल र प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले संयुक्त रुपमा मृतकका परिवारलाई ऋण मिनाहा गरिएको पत्र र सहयोग रकम प्रदान गरे ।
कार्यक्रममा बैंकका अध्यक्ष बिकले जनउत्थान सामुदायिक लघुवित्ते सुखमा मात्र नभएर दुःखमा पनि आफ्ना ग्राहक सदस्यहरुलाई साथ दिने बताए । त्यस्तै, बैंकका सीईओ पोख्रेलले यो बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने क्रियाकलाप भएको र बैंकको ग्राहक संरक्षण कोष निति २०७२ कोे व्यवस्था बमोजिम ऋण मिनाहा तथा क्रिया खर्च उपलब्ध गराएको जानकारी दिए ।
बैकले पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुरसम्मका १० वटा तराईका जिल्ला र ५ वटा पहाडी जिल्ला गरी जम्मा १५ वटा जिल्लामा २५ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरी करिब १८,००० जना समुह सदस्यहरुलाई वित्तीय सेवा दिएको छ ।


