टेक प्रसाद चौलागाईँ –प्रजातान्त्रिक रूपमा नियन्त्रित अनि संयुक्त स्वामित्व सहितको उद्यममार्फत आ–आफ्ना आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवम् आकांक्षालाई पूरा गर्नका लागि स्वैच्छिक रूपले संगठित भएका व्यक्तिहरूको स्वायत्त संगठन नै सहकारी संस्था हो । नेपालमा गरीबी उन्मुलनको लागि सहकारी संस्था एउटा महत्वपूर्ण अंग हो ।
सहकारी मैत्री नीति
हाल काठमाडौँमा मात्रै ३७८८ सहकारी संस्था क्रियाशील रहेका छन् । जिल्ला सहकारी संघमा करीब १८ सय सहकारी आबद्ध छन् । यो समयमा ०४८ सालको सहकारी ऐन पुरानो भइसक्यो । जम्मा ८ सय सहकारी संस्था दर्ता हुँदा ल्याइएको उक्त ऐनले अब ३३ हजार सहकारी संस्थालाई नियमन गर्न सक्दैन । यसै आवश्यकतालाई मध्यनजर गर्दै अहिले सहकारी ऐन ०४८ लाई विस्थापित गरेर नयाँ सहकारी ऐन ल्याइँदै छ ।
अर्को कुरा, अहिले सहकारी भनाईमा मात्रै सीमित भएको छ । सरकारले सहकारीलाई अर्थतन्त्रको एक खम्बाको रुपमा घोषणा गरेको छ । यद्यपि, व्यवहारमा त्यो नभएको अवस्था छ । यसै कारण सहकारी संस्थाले अपेक्षित रुपमा भूमिका देखाउन सकिरहेका छैनन् । त्यसैले अब सहकारी संस्थालाई राम्रो बनाउनका लागि सहकारी मैत्री नीति आउनुपर्छ ।
तत्कालिन सहकारी मन्त्री चित्र बहादुर केसीले सहकारी ऐन ल्याउँदा दुईचार वटा संस्थाले गल्ती गरे भनेर समग्र सहकारी संस्थाहरुलाई खुम्च्याउने खालको नीति ल्याएका छन् । यसको बिरोध गर्दै सहाकारी संघले २०४८ सालको भन्दा अग्रगामी, प्रगतिशील र राम्रो ऐन आउनुपर्दछ भन्ने माग राखेको छ । जुन अहिले संसद्मा विचाराधीन अवस्थामा छ ।
सहकारी सदस्यमा सचेतना
पछिल्लो समय संख्यात्मक रुपमा मात्रै हेर्दा सहकारीहरुको विकास भइरहेको छ । व्यवहारिकता बिनाको संख्यात्मक वृद्धिलाई पक्कै पनि राम्रो मान्न सकिँदैन । यद्यपि, यसरी सहकारी संस्था बढ्दै जाँदा मानिसहरुमा सहकारी सम्बन्धी जागरण बढ्दै गएको सकारात्मक पाटो पनि अर्का्तिर छ । सहकारी सस्थामा न्यून पूँजी भएका विपन्न वर्गका करीब ५५ लाख मानिस आबद्ध भइसकेका छन् । यो क्रम अझै बढ्दै छ । यहाँ समस्या सहकारीमा भन्दा पनि अनुगमनमा हो ।
हुन त सहकारीलाई नियमन र नियन्त्रण गर्ने निकाय सहकारी विभाग हो । प्रत्येक जिल्लामा सहकारीलाई नियन्त्रण गर्ने कार्यालय हुनुपर्छ भनेर सहकारीहरु माग गर्दै आइरहेका छन् । तर, अहिलेसम्म जम्मा ३८ वटा जिल्लामा मात्रै नियन्त्रण गर्ने डिभिजन कार्यालय छ । सहकारी संख्याहरुमा अहिले दक्ष कर्मचारीको अभावमा राम्रोसँग सञ्चालन नै हुन नसक्ने समस्याहरु देखिरहेको छ । सहकारी क्षेत्रका यस्ता ससाना कमजोरीलाई पनि नियामक निकायले नियन्त्रण गर्न सकेको छैन ।
वास्तवमा नेपालमा सहकारी अनुगमन नै फितलो छ । अनुगमनका नाममा सहकारीलाई बदनाम गराउने होडबाजीमा उत्रिने गरेको तीतो यथार्थ हामी माझ छ । त्यसैले यहाँ, अब सहकारी सदस्य आफैँमा सचेत हुनु जरुरी छ । सहकारी सदस्य नै पूरा सचेत हुन सकेमा कसैको अनुगमनको जरुरी नै पर्दैन । वास्तवमा सहकारी संस्थालाई आफ्नै सहकारीका सदस्यहरुले नियन्त्रण गर्ने हो । हामीले सबै काम माथिबाटै होओस् भन्ने सोचाई राख्नु हुँदैन ।
सहकारीहरु बीचमा मर्जर
एउटै घरमा ६/७ वटा सम्म सहकारी संस्थाहरु छन् । यो हुन नहुने हो । तर भइरहेको छ । काठमाडौंमा मात्रै ४२ सय सहकारी दर्ता भएका छन् । मुलुकभरका सहकारीहरुले ३ खर्ब रुपैयाँको कारोबार गर्ने गरेकोमा त्यसको ६० प्रतिशत रकमको कारोबार काठमाडौँकै सहकारीहरुबाट हुने गरेको छ । अब यो समस्यालाई हल गर्नका लागि धेरै संस्थाहरु मर्ज गरेर ठुला र व्यवस्थित बनाउने योजना पनि अघि सारिएका छन् । यसलाई कार्यान्वयनमा ल्याउनु पर्छ । खुल्ला बजार छ, प्रतिष्पर्धा धेरै छ । गर्न सक्ने र साँच्चै सक्षम भएका संस्था टिक्छन्, र असक्षमहरु टिक्न सक्दैनन् । टिक्न नसक्नेहरुका लागि अरु कुनै सक्षम संस्थासँग र्मरमा जाने विकल्प रहन्छ । जापानले पनि सहकारी क्षेत्रलाई व्यवस्थि तगर्न यही उपाय अपनाएको थियो । अहिले २५÷२६ हजार सहकारी रहेको जापानमा अहिले ६÷७ सय सहकारी मात्रै सञ्चालनमा छन् । अनि, जति छन्, सबै व्यवस्थित र सबल छन् । नेपालमा पनि विस्तारै सोहि अवस्था आउनेछ । यसमा दुई मत छैन ।
मुलुकको अर्थतन्त्रमा सहकारी संस्थाको निकै महत्वपूर्ण भूमिका रहेको छ । राज्यको १८ प्रतिशत आर्थिक कारोबार सहकारी संस्थाबाटै हुने गरेको छ । सहकारी संस्थाबाट करिब ३ खर्ब रकम परिचालन भएको छ । कुल ग्राहस्थ उत्पादनमा ५ प्रतिशत योगदान सहकारी संस्थाकै रहेको छ । संविधानले वा सरकारले स्वीकार गरेको ३ खम्बे अर्थनीति (निजी, सहकारी र सरकारी) अनुसार ३३ प्रतिशत पुर्याउनु पर्ने हो तर त्यो पुर्याउन सकिरहेको छैन ।
जलविद्युत्मा सहकारीको लगानी
हाम्रो देशमा जलविद्युत्को राम्रो सम्भावना छ । पानी, पर्यटन, कृषि जस्ता सम्भावना बोकेका कुराहरु हामीमाझ छ । हामीले अझैसम्म पनि डा. हरीमान श्रष्ठले थेसीस गर्दा बुझाएको ८३ हजार विद्युत उत्पादन हुन्छ भन्दै हिड्छौं । त्यो मात्रै यथार्थ होईन, त्यो भन्दा पनि बढी उत्पादन हुन सक्छ । अहिले नेपालमा करीब १५ सय मेगावाट विद्युत्को माग छ । यद्यपि, वर्षात्को समयमा समेत जम्मा ७ सय मेगावाट विद्युत् मात्रै उत्पादन हुने गरेको छ ।
मुलुकलाई आर्थिक रुपमा अघि बढाउन विद्युतको धेरै महत्व हुने गर्छ । अहिले कलकारखानाको संख्या त्यत्ति नबढ्दा त विद्युत्को माग वार्षिक १० प्रतिशतले बढ्ने गरेको छ भने कलकारखाना बढ्ने हो भने त विद्युत् माग झनै चर्को रुपमा बढ्छ । विद्युत् निकाल्ने माध्यक धेरै छन्, तर सबैभन्दा सस्तो माध्यम भनेको पानी नै हो, जसमा नेपाल विश्वकै दोस्रो धनि मुलुक मानिन्छ । तर यहाँ त अरुको देखासिकि गरेर अन्य वैकल्पिक उपायमा बहस हुने गर्दछ । यदि सहकारीले पनि विद्युतमा लगानी गर्ने गरेमा सहकारी संस्था बलियो रुपमा स्थापित हुन सक्छ ।
विद्युत् उत्पादनका लागि हामी १३ वटा मन्त्रालयमा पुग्नुपर्ने, काम गर्नका लागि स्वीकृत लिन पनि धेरै झन्झट बेहोर्नु पर्ने भएकाले यो क्षेत्रमा लाग्न नचाहने धेरै छन् । विद्युत् उत्पादनमा सरकारी निकायमा एकद्धार नीति नहुनु र दुःख दिने नियत धरै हुनु, बिजुली उत्पादन गरेर जोड्ने प्रसारण लाईन नहुनु लगायत थुप्रै समस्या र चुनौतीहरु छन् । यद्यपि, चुनौतिहरुको सामना गर्ने अठोट लिएर काम गर्ने हो भने नसकिने भन्ने कुरै हुँदैन । त्यसैले, सहकारीलाई बचत तथा ऋणमा मात्र सीमित गर्नुहुँदैन । सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नु पर्दछ । विशेषगरी ग्रामीण भेगमा संचालन गरिने सहकारीता भनेको कुनै न कुनै किसिमको सहकार्य गर्नु नै हो । त्यसैले, चुनौति छन् भने हामी पछाडि हट्नुहुँदैन ।
अन्त्यमा
नेपाल जस्तो मुलुकमा सहकारी संस्थाका थुप्रै फाइदा तथा सकारात्मक पाटोहरु छन् । सहकारी क्षेत्रबाट बैंकिङ क्षेत्रले पनि धेरै कुरा सिकेको छ । बैंक पुग्न नसकेको धेरै ठाउँमा सहकारी पुगेको छ । बैंकसम्म पुग्न नसकेका जनतालाई सहकारीले समेटेको छ । त्यसैले, सहकारी क्षेत्रमा सुधार ल्याउनका लागि संस्थाका सदस्यहरु आफैँ जागरुक हुनु जरुरी छ । आफू सदस्य रहेको सहकारी संस्थाको बारेमा राम्रो जानकारी भएको हुनुपर्छ । डिभिजन कार्यालयले पनि सहकारीको मोनिटरीङ गर्नु पर्छ । र राज्यको तर्फबाट सहकारी ऐन पनि सहकारी मैत्री आउनुपर्दछ । साथै अन्य ऐन पनि सहकारी मैत्री हुनुपर्दछ । अनि मात्र सहकारी क्षेत्रमा सुधार ल्याउन सकिन्छ ।
(जिल्ला सहकारी संघ, काठमाडौँका अध्यक्ष टेक प्रसाद चौलागाईसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको)