नेपालीहरुको महान पर्व दशै नजिकै आइसकेको छ । आफन्तजन सबै एक ठाउँमा जम्मा भएर, मिठो–मिठो परिकारको स्वाद लिएर तथा मान्यजनबाट टिका ग्रहण गरी आशिर्वाद लिएर मनाइने दशैँ पर्वको छुट्टै महत्व छ । व्यक्ति अनुसार रमाइलो गर्ने तरिका फरक फरक हुन्छ । प्रायः जसो मान्छेहरुले यस बर्षको दशैँ कसरी र कहाँ मनाउने भन्ने बिषयमा यति बेला निर्णय गरिसकेका छन् । यसै सन्दर्भमा बैंकिङ खबर डटकमा रोयल आचार्यले यस बर्षको दशै कहाँ अनि कसरी मनाउनु हुँदैछ भनेर केहि बैंकरहरुसँग प्रतिक्रिया लिएका छन् ।
केही बैंकर्सको यसपालीको दशैँ उनीहरुकै भाषामा यहाँ प्रस्तुत गरिन्छः
दशैँको काठमाडौँ मलाई मन पर्छ’
देवेन्द्रपताव शाह, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक लिमिटेड
दशैँमा प्रायः मान्छेहरु देश बाहिर जाने, घुम्ने, रमाइलो गर्ने गर्छन् । तर म दशैँमा काठमाडौँमा नै बस्छु । मेरो आफन्तहरु सबै काठमाडौँमा नै हुनुहुन्छ । त्यसर्थ म हरेक वर्षजस्तै यसपाली पनि काठमाडौँमा नै बसेर दशैँ मनाउछु । अरुबेला फुर्सद हुँदैन । दशैँका बेला नरनाता आफन्त सबैसँग भेटेर कुराकानी गर्छु । मेरो ८९ बर्षीया आमा हुनुहुन्छ । म आमाको हातबाट टिका लगाउँछु । समग्रमा भन्नुपर्दा म नेपाली परम्परा अनुसार नै सामान्य रुपमा दशैँ मनाउछु ।
मेरो दशैँ अमेरिकामा
लिला प्रकाश सिटौला, प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक लिमिटेड
यसबर्षको दशैँ सम्भवत मेरो अमेरिकमा हुन्छ । दशै कहाँ मनाउने भन्ने बिषयमा पारिवारिक छलफल भइरहेको छ । मेरो छोराछोरीहरु पनि अमेरिकामा नै भएको हुनाले अमेरिकामा नै मनाउने सम्भावना बढी छ । हामी दशैँ मनाउनका लागि दशैँ बिदा शुरु भएपछि अमेरिका प्रस्थान गर्नेछौं । मैले जहाँ दशै मनाए पनि आफ्नो धर्म, सस्कृति र रितिरिवाज अनुसार नै दशैँ मनाउनेछु । सबै परिवार एकै ठाउँमा भेला भएर खुसीयाली साटासाट गर्ने हाम्रो योजना छ ।
‘नेपाली परम्परा अनुसार दशै मनाउछु’
अशोक शेरचन, प्रमुख कार्यकारी अधिकृत, प्रभु बैंक लिमिटेड
यस बर्षको दशैँ म काठमाडौंमा नै मनाउँछु । मेरो दशैँ अन्य नेपालीहरुको जस्तै सामान्य हुन्छ । खासमा हामी नेपाली सबैको दशैँ उस्तै हुन्छ जस्तो मलाई लाग्छ । बैंकर र ननबैंकरले फरक फरक किसिमले दशैँ मनाउँछन् जस्तो मलाई लाग्दैन । म नेपाली परम्परा अनुसार सामान्य तरिकाले नै दशैँ मनाउँछु । मैले दशैँ बिशेष कुनै त्यस्तो प्लान बनाएको छैन ।
यसपालीको दशैँ काठमाडौँमा
भरतराज ढकाल, अध्यक्ष, डेपलपमेन्ट बैंकर्स एशोसियसन
विगतका बर्षहरुमा म दशैँ पोखरा गएर मनाउथेँ । पोखरामा मेरो पुरानो घर छ । सधैँ पोखरा नै गएर दशै मनाउने भए पनि २०७४ सालको दशै भने मेरो काठमाडौंमा हुन्छ । मेरो परिवारले यसपालीको दशैँ काठमाडौँमा नै मनाउने निर्णय गरिसकेको छ । यस बर्ष मेरो बुवा, आमा लगायत सबै परिवार काठमाडौंमा नै हुनु भएकाले काठमाडौंमा मनाउन लागेको हो । यस बर्षको दशैँमा खासै विशेष त्यस्तो केहि छैन । म मेरो पूख्र्यौली परम्परा अनुसार नै दशैँ मनाउँछु ।
यसपाली दाङ नजाने
प्रकाशराज शर्मा, प्रमुख कार्यकारी अधिकृत, लक्ष्मी लघुवित्त विकास बैंक
यो बर्षको दशैँ म काठमाडौंमा मनाउँछु । विगतमामेरो आमा दाङमा हुनुभएकाले उतै गएर दशैँ बनाउने गरेको थियो । यसपाली भने आमा पनि काठमाडौँमा नै आउँदै हुनुहुन्छ । हामी तीन दाजुभाई छौं । सबैजना काठमाडौँ मा भेला भएर आफ्नो परम्परा अनुसार रमाइलो गरेर दशैँ मनाउछौं । मलाई दशैँ मनाउन गाउँमै मनपर्छ । तर, यस बर्ष विजयादशमीको भोलीपल्ट देखिनै घरमा श्रीमत् भागवात सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने हुँदा दशैँ काठमाडौँमै मनाउने भएका हौँ । दशैँअघि पनि अन्त घुम्न जाने त्यस्तो प्लान छैन । घरमा सप्ताह पुराणको तयारीका लागि खटिने हुँदा समय पनि छैन । जे होस यो बर्ष आफ्नो धर्म सस्कृति अनुसार काठमाडौंमा नै बसेर राम्रोसँग दशैँ मनाउछौँ ।
डोटेली परम्परा अनुसार दशैं मनाउछु
मिनबहादुर बोहरा, प्रमुख कार्यकारी अधिकृत, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक
यस बर्षको दशैं म विगतमा जस्तै मेरो जन्मथलो डोटी जिल्लामा गएर मनाउँछु । म डोटेली परम्परा अनुसार दशैं मनाउछु । गाउँका सबै घरमुलीहरु विजयादशीको दिन सबैभन्दा पहिले मुखियाको घरमा जाने हाम्रो प्रचलन छ । मुखियाको घरबाट सबै घरमुलीले जमरा लिएर आ–आफ्नो घरको जमरामा मिसाउँछन् । त्यसलाई हामी हाम्रो सस्कृति अनुसार देवता भन्छौं । हाम्रो गाउँमा कुनै पनि जातजातीबीच भेदभाव हुँदैन । हामी सबै मिलेर दशै मनाउछौं । विभिन्न समयमा गाउँका मान्छे एकआपसमा झगडा गरेको भए पनि दशैंमा टिका लगाएर मिलापत्र गर्छौँ । यस बाहेक यो बर्षको दशैँमा मैले लघुवित्त र स्वास्थ्य बीमा कार्यक्रम गाउँमा सञ्चालन गर्ने योजना बनाएको छु । जसअन्तर्गत आमा र किशोरीहरुलाई महिनावारी सम्बन्धी शिक्षा दिइनेछ ।