२०७४ आश्विन ५ गते

दशैँमा पनि रेमिट्यान्स सेवा सुचारु हुने

रोयल आचार्य – शैंलाई लक्षित गरी विदेशमा रहनेले अहिले धमाधम रेमिट्यान्स नेपाल पठाइरहेका छन् । विदेशमा रहने नेपालीले नेपालमा रेमिट्यान्स पठाउने मुख्य सिजन यही नै हो । असोज महिनालाई रेमिट्यान्सको बिशेष महिना भन्ने गरिन्छ । नेपालीहरुको महान पर्व दशैँका बेला विदेश गएका आफ्ना आफन्तले कहिले पैसा पठाउलान् भनेर नेपालीहरु बाटो हेरेर बसेका हुन्छन् । कतिपयले दशैँ शुरु भइसकेपछि रेमिट्यान्स पठाएका कारण पैसा निकाल्न नपाएर उसको घर परिवारले दशैँमा खर्च गर्न नपाएको इतिहास हामीमाझ प्रष्ट छ । दशैँमा चाँडै रेमिट्यान्स सेवा बन्द भएका कारण पैसा पाउन नसकेको गुनासोपछि विगत केहि वर्षदेखि रेमिट्यान्स कम्पनीहरुले सरकारले दिएको सार्वजनिक विदामा समेत सेवा दिन थालेका छन् । अब हेरौँ यस बर्षको दशैँमा कहिलेदेखि कहिलेसम्म रेमिट्यान्स सेवा पाइन्छ :

प्रभु मनि ट्रान्सफर
प्रभु मनि ट्रान्सफरबाट विजयादशमी बाहेक अन्य सबै दिनमा रेमिट्यान्स भुक्तानी गर्न सकिने छ । दशैँका लागि प्रभु मनि ट्रान्सफरका शाखा कार्यालयहरु आगामी ११ गते अर्थात फुलपातीको दिनदेखि बन्द हुने भए पनि प्राइभेट एजेन्टमार्फत विदाका दिनमा समेत रेमिट्यान्स भुक्तानी गर्न सकिने भएको हो । प्रभु मनि ट्रान्सफरका रामेश्वर सापकोटाले दिएको जानकारी अनुसार असोज ११ गते फुलपातीदेखि असोज १६ गतेसम्म कार्यालय बन्द हुने भएपनि प्राइभेट एजेन्टमार्फत बिदाका दिनमा समेत रेमिट्यान्स भुक्तानी पाइनेछ । 

आईएमई रेमिट्यान्स
आइएमई रेमिट्यान्सले पनि प्रभुको जस्तै फुलपातीकै दिनदेखि आफ्ना कार्यालयबाट कारोबार बन्द गर्नेछ । तर एजेन्टहरुमार्फत भने विजयादशमी अर्थात टिकाको दिन बाहेक अन्य सबै दिन कारोबार हुने आईएमईका मार्केटिङ डिपार्ट हेड राजु पौडेलले बताए । पौडेलका अनुसार ११ गते फुलपातीका दिनदेखि १६ गतेसम्म कार्यालय बन्द भएपनि प्राइभेट एजेन्टका माध्यमबाट सर्वसाधारणले बिदाका दिनमा समेत सेवा पाउने छन् । १७ गतेदेखि भने नियमित सेवा शुरु गर्ने आईएमईले जनाएको छ । 

जेएमई रेमिट
जेएमई रेमिटले पनि असोज ११ गते अर्थात फुलपातीको दिनसम्म रेमिट्यान्स सेवा दिने भएको छ । जेएमई फाइनान्स डिपार्टका रमन केसीका अनुसार १२ गते अष्टमीदेखि १५ गतेसम्म कारोबार बन्द रहनेछ । जेएमईका शाखा कार्यालय १२ गतेदेखि १५ गतेसम्म बन्द रहने भएपनि एजेन्टहरुले भने नवमीसम्म कारोबार गर्न सक्ने केसीले बताए । १६ गतेदेखि भने जेएमईको नियमित सेवा शुरु हुनेछ । 

इजिलिंक मनि ट्रान्सफर 
इजिलिंक मनि ट्रान्सफर भने सरकारले उल्लेख गरेको दशैँ बिदा अर्थात असोज ११ गतेदेखि १६ गतेसम्म आफ्नो कारोबार बन्द गर्ने भएको छ । इजिलिंक मनि ट्रान्सफर अपरेशन डिपार्टका शालिकराम दाहालले दिएको जानकारी अनुसार दशैँ अगाडी फुलपातीको अघिल्लो दिन अर्थात असोज १० गतेसम्म मात्रै कारोबार खुला रहनेछ भने दशैँपछि १७ गतेदेखि कारोबार पुनः शुचारु हुनेछ । 

बेष्ट रेमिट
बेष्ट रेमिट पनि सरकारले उल्लेख गरेको दशैँ बिदा अर्थात असोज ११ गतेदेखि १६ गतेसम्म नै आफ्नो कारोबार बन्द गर्ने भएको छ । बेष्ट रेमिटका माधव डाँगीले दिएको जानकारी दशैँ अगाडी फुलपातीको अघिल्लो दिन अर्थात असोज १० गतेसम्म मात्रै कारोबार खुला रहनेछ भने दशैँपछि १७ गतेदेखि कारोबार पुनः शुचारु हुनेछ । 

बुम रेमिट 
बुम रेमिटले भने दशैँका बेला टिकाको दिनबाहेक अन्य सबै दिन सेवा दिने भएको छ । बुम रेमिटका बिष्णुमान श्रेष्ठका अनुसार बुम रेमिट विजयादशमीको एक दिन मात्रै बन्द हुन्छ । विजयादशमी बाहेक अन्य दिन भने नियमितझैँ कारोबार हुने श्रेष्ठले बताए । 

अन्य रेमिट्यान्स कम्पनीहरु
अन्य रेमिट्यान्स कम्पनीहरुमा अधिकांशले फुलपातीका दिनदेखि नै आफ्नो कार्यालयबाट कारोबार बन्द गर्नेछन् । आफ्नो कार्यालय बन्द भएपनि अधिकांश रेमिट्यान्स कम्पनीका प्राइभेट एजेन्टहरुले भने विजया दशमीको अघिल्लो दिन अर्थात नवमीसम्म रेमिट्यान्स भुक्तानी गर्नेछन् ।