खासगरी कर्मचारी हकहित र संस्थागत सुशासन कायम गर्न भन्दै विभिन्न सार्वजनिक संघसंस्थाहरुमा ट्रेड युनियन गठन गरिएका हुन्छन् । त्यस्तै कर्मचारीहरुको हकहितका साथै वित्तीय सुशासन कायम गर्ने उद्देश्यले विभिन्न बैंकहरुमा पनि कर्मचारी युनियनहरु गठन गरिएका छन् । ट्रेड युनियन ऐनले पनि सार्वजनिक संस्थामा कर्मचारीहरुलाई संगठित हुने अधिकार दिएको छ
बैंकिङ प्रणालीभित्र अहिले ‘क’ वर्गका २९ वटा वाणिज्य बैंक, ‘ख’ वर्गका ८१ वटा, ‘ग’ वर्गका ५१ वटा, ‘घ’ वर्गका ३६ वटा बैंक तथा वित्तीय संस्था क्रियाशील छन् । यीमध्ये तिनवटा सरकारी स्वामित्वका वाणिज्य बैंकबाहेक अधिकांश निजी स्वामित्वमा सञ्चालित बैंक तथा वित्तीय संस्था पर्दछन् । श्रमिक कर्मचारीका लागि न्यूनतम श्रम मापदण्डअन्तर्गत नियुक्ति, सरुवा, पदोन्नति, तलब सुविधा, विभागीय सजायदेखि अवकाशसम्मका कर्मचारीसँग सरोकार रहेका सबै विषय पर्दछन् । यसका साथै श्रमिकको ट्रेड युनियन अधिकार ( ट्रेड युनियन खोल्न पाउने, सामूहिक सौदाबाजी गर्न पाउने र माग पूरा नभए हडताल गर्न पाउने) लाई पनि नियमावली तथा विनियमावलीमा सुनिश्चित गर्नुुपर्दछ भन्ने मान्यताका साथ बैंकहरुले युनियनहरु गठन गर्न दिएका हुन्छन् ।
यसरी गठन भएका कर्मचारी युनियन संस्था सञ्चालकहरुको लागि बेलाबेला ‘घाँडो’ साबित हुने गरेका छन् । कर्मचारी युनियनले सेवा सुविधा बृद्धिका माग मात्रै नराखेर बेला–बेला बैंकभित्रको अपारदर्शिता, कुशासन र जवाफहीनता बढेको भन्दै प्रश्न उठाउँछन् । एकहदले विद्रोह गरिदिन्छन्, जसका कारण बैंक सञ्चालन र व्यवस्थापनमा समस्या देखा पर्छ ।
नेपालमा अहिले २९ वटा वाणिज्य बैंकहरु छन् । जसमध्ये १८ वटा बैंकहरुमा क्रियाशील ट्रेड युनियनहरु छन् । बैंकको कार्य प्रणाली तथा कर्मचारीको पेशाागत हितको लागि गठन भएका यीमध्ये केही बैंकका युनियनले बेलाबेला बैंकको कामकारबाही नै ठप्प हुने गरी आन्दोलन गर्ने गरेका छन् । केही बैंकहरु कर्मचारी युनियनबाट बेलाबेला गाँजिने गरेका छन् ।
कृषि विकास बैंक
कर्मचारी आन्दोलनको सबैभन्दा बढी चपेटामा पर्ने बैंकमध्ये एउटा बैंक हो कृषि विकास बैंक । यो बैंकको आन्दोलन श्रृंखला २०४६ सालबाट सुरु भएको इतिहास छ । तत्कालीन समयमा गिरिजा प्रसाद कोइरालोको पक्षबाट वित्तीय कर्मचारी संघले प्रजातन्त्रको माग गर्दै बैंकमा धर्ना दिएको थियो । त्यसपछि शाही शासन कालमा पनि कर्मचारीको पेशागत हकको लागि भन्दै बैंकका कर्मचारीहरुले आन्दोलन गरेका थिए । २०६५ साल साउन ३१ गते कर्मचारी सरुवा बढुवाको माग राख्दै कर्मचारी युनियनले चर्को आन्दोलन गरे । त्यस्तै ०६६ सालमा तत्कालीन सिईओ तेजवहादुर सिंहलाई हटाउने विषयमा आन्दोलन भएको थियो भने ०६७ सालमा पनि एकपक्षिय रुपमा कर्मचारी सरुवा बढुवा गरेको भन्दै बैंकमा ३१ दिने आन्दोलन चर्किएको थियो । उक्त समयमा ६ दिन बैंकिङ कारोबार नै पनि ठप्प भएको थियो । व्यवस्थापन समितिले अनियमित ढंगले कर्मचारी सरुवा बढुवा गरेको भन्दै तत्कालीन सिईओ श्यामसिंह पाण्डेले पदबाट हात समेत धुनुपरेको थियो । हाल बैंकमा ४ वटा युनियन क्रियाशील छन् । जसमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादी निकट युनियनहरु छन् । आवश्यकताभन्दा बढी युनियन गठन भएपछि बैंकमा बैंक तथा कर्मचारीको हितको लागि भन्दा पनि राजनीतिक स्वार्थ पूरा गर्नको लागि बैंकका युनियनहरु सक्रिय देखिन्छन् । युनियनहरुले सबै कर्मचारीको पक्षबाट आवाज उठाएतापनि बैंकभित्र पार्टीगत विभेद भने हावी हुँदै गएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक पनि बेलाबेला कर्मचारी आन्दोलनको चपेटामा पर्ने गरेको छ । २०४८ सालमा राष्ट्रिय बाणिज्य बैंकमा कर्मचारी युनियन गठन भएको थियो । कर्मचारी युनियन गठन भएको ३ वर्षमा नै २०५१ सालमा वाणिज्य बैंकमा राजनीति हावी भएको भन्दै एमाले निकट युनियनले ४२ दिन धर्ना दिएको थियो । त्यसयता सानातिना आन्दोलन भईरहे पनि ०६६/६७ सालमा आइपुग्दा एउटा ठूलै आन्दोलन गरे कर्मचारहिरुले । कर्मचारीको बोनस रोकेको भन्दै युनियनले बैंकमा धर्ना दिनुका साथै अर्थमन्त्रालय, अख्तियार, राष्ट्र बैंक र सरकारको विरुद्धमा सर्बोच्च अदालतमा युनियनले मुद्धा हालेको थियो । उक्त मुद्धा डेढ बर्षअघि युनियनको पक्षमा टुङ्गीएको छ । हालै वाणिज्य बैंकमा नयाँ सिईओ नियुक्तिमा ढिला भएको भन्दै कर्मचारी युनियनका पदाधिकारीहरुले बैंकमा धर्ना दिनुका साथै कालो पट्टी बाधेर आन्दोन गरेका थिए ।
नेपाल बैंक लि.
सरकारी स्वामित्वमै रहेको नेपाल बैकमा कार्यरत संगठीत कर्मचारीहरुले बेलाबेला बैंकलाई नै अप्ठरो पर्ने गरि आन्दोलन चर्काउँछन् । तर यस बैंकमा कर्मचारीले गरेको आन्दोलनबारे त्यति धेरै कुरा बाहिर आउँदैन । बैंकको सञ्चालक समितिको चातुर्यताका कारण पनि त्यति धेरै कुरा बाहिर आउन पाउँदैन । उनीहरु आन्दोलनमा उत्रिएका कर्मचारीहरुसंग बिलम्ब नगरी वार्ता गर्ने र आश्वासन दिएरै भएपनि आन्दोलनरत कर्मचारीलाई मनाउँछन् । यस बैंकका कर्मचारी पनि गत साउनमा आवश्यक सेवा सुविधा कम भएको भन्दै आन्दोलित भएका थिए । २०७० सालमा विभिन्न पाँच बुँदे माग राखेका कर्मचारीहरुको मागको बैंक व्यवस्थापन पक्षले सुनुवाई नगरेको भन्दै आन्दोलित भएका थिए । यस बैंकमा नेपाल बैक कर्मचारी संघ, नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संघ, नेपाल बैंक राष्ट्रिय कर्मचारी संस्थालगायतका ट्रेड युनियन क्रियाशील छन् ।
माछापूछ्रे बैंक
गत वर्ष साउनमा माछापुच्छ्रे बैंकमा कर्मचारी युनियन गठनको विषयले खैलाबैला मच्चियो । कर्मचारीहरुको आन्दोलन कै कारण केही समय बैंकको कारोबार समेत ठप्प भयो । कानुनी प्रक्रिया अनुसार यूनियन गठन गर्न खोज्दा बैंक व्यवस्थापनले ४६ जनालाई सरुवा गरी कर्मचारीको ट्रेड युनियन गठन गर्न पाउने नैसर्गिक अधिकारलाई बैंकले दबाउन खोजेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधि बैंकको काम छाडेर आन्दोलनमा उत्रिए । अन्ततः बैंक व्यवस्थापन कर्मचारी युनियन गठन गर्न सहमत भएपछि बैंकिङ कारोबार संचालनमा आयो । माछापुच्छ्रे बैंकका ट्रेड युनियनका अध्यक्ष वंशिधर घिमिरेले युनियन गठन भएपछि बैंकको कुनै पनि काम कारवाहिमा असर नभएको बताए । उनी कर्मचारी युनियन गठन भएपछि सबै कर्मचारीहरुको समस्या हल भएको बताउँछन् । यद्यपी अहिले कर्मचारी तहबाटै बैंकका सेवा, सुविधा र अवसरहरुमा बैंकमा राजनीतिक पुर्वाग्रह हावी हुन थालेको बैंक स्रोतको दाबी छ ।
नविल बैंक
कमर्सियल बैंकहरुमध्ये सबैभन्दा पहिले युनियन गठन गर्ने बैंक हो नविल बैंक । नविल बैंकमा २०५१ सालमा युनियन गठन भएको थियो । बैंकमा कार्यरत कर्मचारीहरुले युनियनको माग गर्दै आन्दोलन चर्काएपछि बैंकमा युनियन गठन भएको थियो । नविल बैंकमा २०७२ साल असारमा कर्मचारी युनियनले बैंक व्यवस्थापन समितिसँग सामूहिक सौदाबाजीको सहमति गरेको थियो । बैंकले स्थापना कालदेखि बैंकको नियम परिवर्तन र कर्मचारीको मागहरुलाई सम्बोधन गर्नको लागि पटक–पटक बैंकमा कालोपट्टी बानेर धर्ना दिने गरेका छन् ।
नेपाल राष्ट्र बैंक
त्यसो त बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक नै पनि कर्मचारी आन्दोलनको चपेटाबाट चोखो छैन । सरकारी बैंक भएकाले अरुको तुलनामा यस बैंकमा अहिले बढी नै कर्मचारी गतिविधि हुन्छ । सेवा सुविधाको माग गर्दै नेपाल राष्ट्र बैंकमा पटक–पटक कर्मचारीहरु आन्दोलित हुने गरेका छन् । कर्मचारी हकहित र संस्थागत सुधारको माग राख्दै नेपाल राष्ट्र बैंकमा २०४६ सालमा कर्मचारी युनियन गठन भएको थियो । कर्मचारीको सेवा सुविधाको माग राख्दै ०५६ सालमा युनियनले आन्दोलन चर्काएको थियो । त्यस्तै २०६१ सालमा आर्थिक वृद्धि र कर्मचारीको सरुवा बढुवाको विषयलाई लिएर युनियनले आन्दोलन गरेको थियो । २०६२/६३ को आन्दोलनताका बैंकको ढुकुटी नै बन्द गरेर युनियनहरु नेपालको बैंकिङ क्षेत्र झनै बिग्रँदै गएको भन्दै आन्दोलनमा उत्रिएका थिए । हाल राष्ट्र बैंकमा ४ वटा युनियनहरु गठन भएका छन् । बैंकमा गठन भएको विभिन्न राजनीतिक पार्टी निकट संगठनहरुले कर्मचारीको सरुवा बढुवा र एकल युनियनको माग राख्दै धर्ना दिँदै आएका छन् । राष्ट्र बैंकमा गर्भनर डा. चिरंजीबि नेपालको नियुक्तिको विषयमा एमाल युनियनले अर्को पार्टीबाट गर्भनर नियुक्त गरेकोमा आपत्ति जनाउँदै धर्ना दिएका थिए । विभिन्न माग राख्दै अहिले पनि त्यहाँका कर्मचारी आन्दोलित नै छन् ।
संगठीत भएपश्चात युनियनहरु राजनीतिक आडमा कर्मचारी नियुक्तिमा दबाब दिने र बैंकको कामभन्दा राजनीतिक गतिविधिमै बढी केन्द्रित हुँदा बैंकले एकापट्टि गंभिर चुनौतिको सामना गनुपर्ने हुन जान्छ । अकोतर्फ कर्मचारी ट्रेड युनियनले दिएको कर्मचारी संगठीत हुन पाउनेसम्बन्धी अधिकारलाई बेवास्ता गर्दै कर्मचारी युनियन गठन गर्न नदिने वा गठन भएका कर्मचारी युनियनले उठाएका कर्मचारीका पेशागत हितका कुरालाई बैंक संचालकहरुले ख्याल नगरिदिँदा पनि काममा खराब असर पर्न जान्छ ।
बैंकको व्यवस्थापन र कार्यरत कर्मचारीबीचको आपसी सम्बन्ध राम्रो हुन सक्यो भने मात्र असल औद्योगिक सम्बन्ध स्थापित हुन्छ । असल औद्योगिक सम्बन्ध स्थापित हुँदा कर्मचारीले उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना हुन्छ र यसबाट स्वाभाविक रूपमा ग्राहक वर्गले छिटोछरितो ढंगले सेवा प्राप्त गर्दछन् । ग्राहक वर्गले प्राप्त गर्ने सन्तुष्टिले नै बैंक र ग्राहकबिच प्रगाढ सम्बन्ध स्थापित हुन्छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरू सुचारु रूपले सञ्चालन भई समग्रमा स्वस्थ एवं सुदृढ वित्तीय प्रणालीको विकास गर्न मद्दत पुग्छ । त्यसका लागि कर्मचारी युनियन र बैंक सञ्चालक नै पनि जिम्मेवार हुनुपर्दछ ।