नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सह–प्रवक्ता राजेन्द्र पण्डितले बैंकमा जागिर खान सर्टिफिकेटले मात्रै नपुग्ने बताएका छन् । बिहीबार मिडिया इन्टरनेसनलले आयोजना गरेको बैंकिङ ट्रेनिङ कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सह–प्रवक्ता पण्डितले हातमा सर्टिफिकेट बोकेको भरमा बैंकमा जागिर पाउन नसक्ने बताए । उनले कमर्श पढेर जागिर खोज्दै हिड्ने मान्छेले वित्तीय साक्षरता सम्बन्धी सामान्य जानकारी समेत नराख्नु लाजमर्दो भएको बताउँदै वित्तीय चेतना नभएका मान्छे बैंकिङ क्षेत्रमा प्रवेश गर्न नसक्ने बताए ।
‘बैंकमा जागिर खान फाइल बोकेर आउँछन्, एटिएमको फुलफर्म जान्दैनन्’ कार्यक्रममा बोल्दै पण्डितले भने ‘कसरी बैंकले जागिर दिन सक्छ ?’ बैंकिङ रोजगारीमा आवेदन दिन आउनेलाई समेत सामान्य बैंकिङ चेतना नभएको आफूले पाएको भन्दै नेपालमा म्यानेजेमेन्ट अध्ययन गर्ने विद्यार्थीका लागि बैंकिङ ट्रेनिङ अपरिहार्य रहेको उनको भनाई थियो ।
कार्यक्रममा वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक एवं मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले म्यानेजमेन्ट अध्ययन गरेका हरेक बिद्यार्थीमा वित्तीय साक्षरताको ज्ञान हुनुपर्ने बताए । मुलुकमा राजनीति हाबी भएका कारण आर्थिक विकास नभएको भन्दै अध्यक्ष निर्दोषले अब गाउँ गाउँमा वित्तीय चेतनाको जागरण फैलाउनुपर्ने बताए । बैंकिङ रोजगारी गर्न चाहने व्यक्तिले बैंकिङ क्षेत्रमा राम्रो जानकारी हासिल गर्नुपर्ने बताउँदै उनले जागिरका लागि बैंकमा भौतारिन नपरोस भन्ने उद्देश्यले बैंकिङ ट्रेनिङ आयोजना गरिएको बताए ।
बिहीबारदेखि शुरु भएको बैंकिङ ट्रेनिङ एक हप्तासम्म चल्ले मिडिया इन्टरनेसनलले जनाएको छ । मिडिया इन्टरनेसलका अनुसार ट्रेनिङमा हरेक दिन फरक फरक बिषयमा बैंकिङ क्षेत्रमा लामो अनुभव भएका बैंकरहरुले प्रशिक्षण दिनेछन् ।