नेपाल धितोपत्र बोर्डले बैंकिङ क्षेत्रका कारण गत आर्थिक वर्षमा नेप्से परिसूचक तथा बजार पुँजीकरणमा संकुचन आएको जनाएको छ । गत आर्थिक वर्षको धितोपत्र बजारको समीक्षा गर्दै बोर्डले यस्तो बताएको हो । बोर्डले भनेको छ, ‘बजारको ठूलो हिस्सा ओगट्ने बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद तथा बोनस सेयर मार्फत पुँजी बृद्धिमा जोड दिएसँगै भएको धितोपत्र आपूर्तिमा भएको बृद्धिका कारण पनि नेप्से परिसूचक तथा बजार पुँजीकरणमा केही संकुचन आएको छ ।’
आर्थिक वर्ष २०७३।७४ मा नेपालको धितोपत्र बजारमा विभिन्न उतारचढाव देखिएको भएतापनि सो अवधिमा भएको बजार सुधार तथा विकासका कारण धितोपत्र बजार उत्साहजनक रहेको छ । यस अवधिमा धितोपत्रको प्राथमिक तथा दोस्रो बजारको परिसूचकको विश्लेषण गर्दा बजारको अवस्था मिश्रित देखिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
धितोपत्र बोर्डका अनुसार, गत आर्थिक वर्षमा प्राथमिक निष्काशन गर्ने कम्पनीहरुको संख्यामा केही बृद्धि भएको छ । तर, निष्काशन रकममा भने करिव ४५ प्रतिशतले संकुचन आएको छ । यसबाहेक प्राथमिक बजारका अन्य परिसूचकहरु हकप्रद, थप तथा सामूहिक लगानी कोष निष्काशनमा अघिल्लो आ.व.को तुलनामा उल्लेखनिय बृद्धि भएको बोर्डको भनाइ छ ।
प्राथमिक बजारमा गत वर्ष ५९ अर्व ३९ करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको धितोपत्र बोर्डको तथ्यांक छ । जसमध्ये, एक अर्व ५१ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ), ४५ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, सात अर्ब ९९ करोड रुपैयाँ बराबरको थप निष्काशन (एफपिओ) र चार अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्डहरु रहेका छन् । अघिल्लो वर्षको तुलनामा साधारण सेयर निष्काशनको रकममा गिरावट आएको छ भने एफपिओ निष्काशनको रकम ३७ प्रतिशतले बढेको छ । हकप्रद सेयर निष्काशनको रकम भने पूरै चार गुणाले बढेको छ ।
त्यस्तै, दोस्रो बजारमा कारोबार रकम तथा संख्या, फ्लोट बजार पुँजीकरण बाहेक अन्य परिसूचकमा सामान्य गि ावट आएको छ । आ.व. २०७२।७३ मा रु. १ खर्व ६४ अर्व ६५ करोडको कारोवार भएकोमा समीक्षा अवधिमा यस र कममा २४.५२ प्रतिशतले बृद्धि आई २ खर्व ५ अर्वको कारोवार भएको छ भने औषत दैनिक कारोवार मा समेत यस वर्ष २६.१५ प्रतिशतको बृद्धि आई करिव ९० करोड रुपैयाँ पुगे को छ । आ.व. २०७२।७३ मा औषत दैनिक कारोवार करिव ७१ करोड रुपैयाँ रहेको थियो । कूल बजार पुँजीकरणमा अघिल्लो वर्षको तुलनामा १.७६ प्रतिशतको सामान्य गिरावट आई यस आ.व.मा रु. १८ खर्व ५७ अर्व पुगेको छ । फ्लोट बजार पुँजीकरणमा भने अघिल्लो वर्षको तुलनामा १.४३ प्रतिशतको सामान्य बृद्धि भई रु.६ खर्व ४२ अर्व पुगेको छ ।
यता, नेप्से सूचकांक गत आर्थिक वर्षको अन्त्यमा ७.८९ प्रतिशतले घटेर १५८२.६७ विन्दुमा झरेको छ । त्यस्तै, आ.व. २०७२।७३ को अन्त्यमा १२५.४१ विन्दु रहेको फ्लोट सूचकांकमा यस अवधिको अन्त्यमा ७.३९ प्रतिशतले ह्रास आई ११६.१४ विन्दु कायम भएको छ । आ.व. २०७२।७३ को अन्त्यमा सूचिकृत संगठित संस्था २२९ रहेकोमा समीक्षा वर्षमा २०८ मा झरेको छ । गत वर्ष ६ विकास बैंक र ६ जलविद्युत् कम्पनी थपिएको भए पनि बैंक तथा वित्तीय संस्थाको मर्जर र एक्विजिसनका कारण सो संख्या अघिल्लो वर्षको तुलनामा ९.१७ प्रतिशतले घट्न पुगेको बोर्डले जनाएको छ ।
नेपालको सेयर बजारको ७० प्रतिशत हिस्सा बैंकिङ क्षेत्रले ओगटेको छ । त्यसैले, यो क्षेत्रमा भएका साना परिवर्तनहरुले पनि समग्र सेयर बजारमा नै ठूलो उतारचढाव आउने गरेको छ ।