April 26th, 2016

ग्लोबल आईएमई बैँकको खुद मुनाफा १ अर्बमाथि

global ime bvankचालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ग्लोबल आइएमई बैंकको खुद मुनाफाले १ अर्ब नाघेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा २२ करोड रुपैयाँ नाफा बढाएर १ अर्ब ३ करोड रुपैयाँ पुर्याएको हो । गत वर्ष ८० करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । 
 
बैँकको आम्दानीका स्रोतहरु
बैंकले करिब ८ अर्ब रुपैयाँ कर्जा र करिब १० अर्ब रुपैँया निक्षेप बढाएको छ । चैत्र मसान्तसम्म बैंकले ६७ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेको छ भने ५७ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै,  बैंकले खुद व्याज आम्दानी २ अर्ब ७ करोड रुपैयाँ पुर्याएको छ । गत वर्षको तुलनामा बैंकले व्याज आम्दानीमा ३३ करोड रुपैयाँ बृद्धि गरेको हो । गत वर्ष खुद व्याज आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो । यो बर्ष बैंकले विदेशी विनिमय कारोबारबाट २० करोड रुपैयाँ कमाएको छ । गत वर्ष यस्तो कारोबारबाट १४ करोड रुपैयाँ कमाएको थियो । संभावित नोक्सानका लागि गरेको प्रोभिजनबाट बैंकले २० करोड रुपैयाँ उठाएको छ । यस वर्ष ४२ करोड रुपैयाँ प्रोभिजन पनि गरेको छ । बैंकले ४.६३ प्रतिशत स्प्रेड कायम गरेको छ भने खराव कर्जाको मात्रा १.९३ प्रतिशतमा झारेको छ ।