रुपा कोइराला । गत आर्थिक वर्षमा थुप्रै वाणिज्य बैंकहरुले नाफा बढाए । हालसम्म वित्तीय विवरण सार्वजनिक गरिसकेकामध्ये, नविल बैंक, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफाले तीन अर्ब नाघ्यो भने ग्लोबल आईएमई बैंक, हिमालयन बैंक र कृषि विकास बैंकको नाफा दुई अर्बमाथि छ । लक्ष्मी बैंक, सनराइज बैंक, सानिमा बैंक, माछापूछ्रे बैंक र बैंक अफ काठमाण्डूले यसपालीदेखिदेखि अर्वपति क्लबमा प्रवेश गरेका छन् । यसबाहेक, एनएमबि बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, एनआईसी एसिया बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल बंगलादेश बैंक र सिटिजन्स बैंकको नाफा पनि एक अर्बमाथि छ । जनता बैंक, कुमारी बैंक र मेगा बैंक भने मुनाफा आर्जनमा कमजोर देखिएका छन् ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये जनता बैंकको मुनाफा सबैभन्दा कम छ । अघिल्लो आर्थिक वर्षको तुलनामा भने बैंकले कमालको प्रगति हासिल गरेको छ । बैंकले गत आर्थिक वर्षमा खुद मुनाफामा ३ सय ८१ दशमलव ९५ प्रतिशत वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड ३६ लाख रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको जनताले गत आर्थिक वर्षमा ६४ करोड १८ लाख रुपैयाँ नाफा गरेको हो ।
यता, कुमारी बैंकको भने मुनाफा नै घटेको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये, कुमारीको मात्रै नाफा घटेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २.१९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ७१ करोड ६० लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कुमारीले गत आर्थिक वर्षमा ७० करोड तीन लाख ७४ हजार रुपैयाँ मात्रै आर्जन गरेको हो ।
मेगा बैंक नेपाल लिमिटेड पनि मुनाफा आर्जनमा कमजोर देखिएको छ । गत आर्थिक वर्षमा यो बैंकले ७९ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ४३ दशमलव ५५ प्रतिशत बढी नाफा कमाएका हो । अघिल्लो आर्थिक वर्षमा मेगाले ५५ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।