राष्ट्रिय स्तरका विकास बैंकहरु कैलाश र सांग्रिलाले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । दुवैले आफ्नो वित्तीय स्थितीमा राम्रो सुधार आएको विवरण सार्वजनिक गरेका छन् ।
कैलाश विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा २२ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ दशमलव ४५ प्रतिशत बढी नाफा कमाएका हो । अघिल्लो आर्थिक वर्षमा कैलाशले १४ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
दुई अर्ब २९ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ९८ करोड ७३ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा १३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी १७ अर्ब १७ करोड ७६ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ दशमलव ३८ प्रतिशतले वृद्धि गरी १५ अर्ब चार करोड १८ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ४६ दशमलव १६ प्रतिशतले बढेर ८७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ५० दशमलव ३५ प्रतिशतले बढेर ६३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा तीन करोड ३६ लाख रुपैयाँ राखेको छ । यो अवधिमा कैलाशले दुई करोड ८७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
बैंकको पूँजीकोष अनुपात २० दशमलव १२ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ८८ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक २१ दशमलव ९३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १४ दशमलव ९१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४३ दशमलव ०९ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव ६४ प्रतिशत रहेको छ ।
यता, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३४ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा ५९ दशमलव ५३ प्रतिशतले सुधार आएको हो । अघिल्लो आर्थिक वर्षमा सांग्रिलाले २१ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब ३५ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ५७ करोड ५८ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा ३० प्रतिशतले वृद्धि गरी १३ अर्ब ८७ करोड २८ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ११ अर्ब ६६ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ४८ दशमलव ९५ प्रतिशतले बढेर ७१ करोड २४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७० दशमलव १९ प्रतिशतले बढेर ५३ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ६० प्रतिशत र पुँजीकोषको अनुपात १६ दशमलव ८६ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २६ दशमलव ५३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव ७० गुणा, प्रतिसेयर नेटवर्थ १४२ दशमलव ३९ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ६४ प्रतिशत रहेको छ ।