इन्धन लगायत अत्यावश्यक वस्तुहरुको आपूर्ति सामान्यीकरण हुने क्रम जारी रहेकोले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण कार्यको तीब्रतासँगै अर्थतन्त्रले गति लिने अनुमान नेपाल राष्ट्र बैँकको छ । यसले सीमेन्ट, छड, रोडा एवम् जस्ता पाता लगायतका निर्माण सामाग्रीहरुको उत्पादन अभिवृद्धि हुनुको साथै रोजगारीमा समेत सकारात्मक असर पर्ने देखिन्छ । इन्धन लगायत अत्यावश्यक कच्चा पदार्थको आपूर्ति सहज हुंदै गएकोले उद्योगहरुको क्षमता उपयोग मा सुधार हुने अनुमान गरिएको छ । त्यसैगरी, साहसिक पर्यटकीय सिजन शुरु भएकोले पर्यटन क्षेत्रमा विस्तार आउने अपेक्षा रहेको छ । प्रमुख हिउँदे वालीहरुमध्ये गहुँको उत्पादनमा केही कमी आउने देखिएता पनि वेमौसमी तरकारी र मकैको उत्पादन केही वृद्धि हुने अनुमान रहेको छ । बैक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता हुनुको साथै सरकारकोस्रोत परिचालन सन्तोषजनक रहेको र विप्रेषण आप्रवाहमा विस्तार भइरहेकोले समष्टिगत मागमा विस्तार आउने र सोलेआर्थिक गतिविधिमा वृद्धि ल्याउने अपेक्षा छ ।
बढ्यो मुद्राप्रदाय
चालू आर्थिक वर्षको फाल्गुन मसान्तसम्मको अवधिमा विस्तृत मुद्राप्रदाय ११.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७२ फागुन मसान्तमा विस्तृत मुद्राप्रदाय २३.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति ( विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) १ खर्ब ५८ अर्ब १८ करोड रुपैँयाले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ३५ अर्ब ७ करोड रुपैँयाले बढेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ४.८ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७२ फागुन मसान्तमा उक्त मुद्रा ३०.९ प्रतिशतले बढेको छ । यस बैंकको खुद वैदेशिक सम्पत्तिमा आएको विस्तारका कारण सञ्चित मुद्रा बढेको हो ।
निक्षेप संकलनमा पनि वृद्धि
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको निक्षेप क्रमशः ८.१ प्रतिशत, ५.१ प्रतिशत र ८.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०७२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २१ प्रतिशतले बढेको छ ।
कुल आन्तरिक कर्जा पनि बढ्यो
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ५.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ६.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा यस बैंकमा रहेको नेपाल सरकारको निक्षेप बढेकोलेकुल आन्तरिक कर्जाको वृद्धिदरमा केही संकुचन आएको हो । वार्षिक विन्दुगत आधारमा २०७२ फागुन मसान्तमा यस्तो कर्जा १५.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ११.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १२.४ प्रतिशतले बढेको थियो । र्वािर्षक विन्दुगत आधारमा निजी क्षेत्रमाथिको दावी २०७२ फागुन मसान्तमा १८.५ प्रतिशतले बढेको छ ।
कुन क्षेत्रमा कति कर्जा प्रवाह ?
चालू आर्थिक वर्षको फाल्गुन मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १०.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको कर्जा प्रवाह क्रमशः ११.५ प्रतिशत, ७ प्रतिशत र १० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०७२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १८.७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा औद्योगिक उत्पादन, थोक तथा खुद्रा व्यापार, निर्माण तथा कृषि जस्ता प्रमुख क्षेत्रहरुमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कर्जा प्रवाह केही न्यून भएको छ । समीक्षा अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.२ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १०.८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १९.८ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा ९ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७२÷७३ को ८ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कुल कर्जामध्ये ५९.७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.४ प्रतिशत र १३ प्रतिशत रहेको थियो । २०७२ फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा कुल २ खर्ब २५ अर्ब ३६ करोड रुपैँया कर्जा (प्रति ग्राहक १ करोड रुपैँयाभन्दा कमको १ खर्ब २७ अर्ब ८६ करोड रुपैँयाको आवासीय घरकर्जा सहित) प्रवाह गरेका छन् । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हुन आउँछ ।
२०७२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २.२ प्रतिशत अर्थात् ३२ अर्ब ७१ करोड रुपैँया रहेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरुबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.५ प्रतिशतअर्थात् ३१ अर्ब २३ करोड रुपैँया मात्र रहेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरुबाट प्रवाहित ट्रष्ट रिसिट कर्जा (आयात कर्जा) १.२ प्रतिशत अर्थात् ६५ करोड रुपैँयाले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा सीमा नाका अवरोध एव्म मधेश आन्दोलनका कारण आयात उल्लेख्य रुपमा घट्न गएकोले कर्जाको उपयोगमा कमी आएको हो ।
तरलता व्यवस्थापन
आर्थिक वर्ष २०७२÷७३ को ८ महिनासम्ममा नेपाल राष्ट्र बैंकले ४ खर्ब ६९ अर्ब ३७ करोड रुपैँया बराबरको तरलता प्रशोचन गरिसकेको छ । जसमध्ये, पटक– पटक गरी निक्षेप बोलकबोलमार्पmत् २ खर्ब ९७ अर्ब ५० करोड रुपैँया, रिभर्स रिपोमार्पmत् (टर्नओभरको आधारमा) १ खर्ब ६२ अर्ब ७७ करोड रुपैँया तथा सोभैm बिक्री बोल–कबोलमार्फत् ९ अर्ब १० करोड रुपैँया तरलता प्रशोचन गरेको हो । २०७२ फागुन मसान्तमा निक्षेप संकलन बोल–कबोल बक्यौता रकम १ खर्ब १९ अर्ब १० करोड रुपैँया रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोल–कबोलमार्फत् ८५ अर्ब रुपैँया तथा रिभर्स रिपोमार्पmत २ खर्ब ७१ अर्ब १० करोड रुपैँया तरलता प्रशोचन गरिएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७२÷७३ को ८ महिनासम्ममा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ८९ करोड खुद खरिद गरी ३ खर्ब ६ अर्ब ३३ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब २२ करोड खुद खरिद गरी २ खर्ब १३ अर्ब १३ करोड खुद तरलता प्रवाह भएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ३ करोड र यूरो १ करोड बिक्री गरी क्रमशः २ खर्ब १३ अर्ब ८४ करोड र १ अर्ब १८ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ३६ करोड बिक्री गरी २ खर्ब ३२ अर्ब ६० करोड बराबरको भा.रु. खरिद भएको थियो ।
पुनरकर्जा तथा उत्पादनशील कर्जा
उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा घटेको छ । समीक्षा अवधिमा साधारण पुनरकर्जा २ अर्ब २६ करोड रुपैँया र निर्यात पुनरकर्जा १ अर्ब १२ करोड रुपैँया गरी जम्मा ३ अर्ब ३८ करोड रुपैँया पुनर्कर्जाको उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारणतर्फ ३ अर्ब २२ करोड रुपैँया र निर्याततर्फ १ अर्ब ८० करोड रुपैँया गरी कुल ५ अर्ब २ करोड रुपैँया पुनरकर्जा उपयोग भएको थियो । त्यसैगरी, भूकम्प पीडितहरुलाई राहत प्रदान गर्न यस बैंकबाट शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्र्तगत २०७२ फागुन मसान्तसम्ममा ५० लाख रुपैँया कर्जा प्रवाह भएको छ ।
वाणिज्य बैंकहरुले उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा २०७२ फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुको यस्तो कर्जा अनुपात १७.८९ प्रतिशत पुगेको छ । त्यसैगरी समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ५.३८ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जाको अनुपात ४.९७ प्रतिशत थियो । तोकिएका कृषि व्यवसायको लागि वाणिज्य बैंकहरुबाट ६.० प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था अन्र्तगत २०७२ पुस मसान्तसम्ममा १ अर्ब १६ करोड रुपैँया कर्जा प्रवाह भई १ हजार ५ सय ५९ जना किसानहरुले १ करोड ८० लाख रुपैँया ब्याज अनुदान प्राप्त गरेका छन् ।
अन्तर–बैंक कारोबार र स्थायी तरलता सुविधाको उपयोग
आर्थिक वर्ष २०७२÷७३ को ८ महिनामा वाणिज्य बैंकहरुले ५ खर्ब २३ अर्ब ८४ करोड रुपैँया र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक) ले ४५ अर्ब २० करोड रुपैँयाको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरूले क्रमशः २ खर्ब ७५ अर्ब ३० करोड रुपैँया र १ खर्ब ३४ अर्ब ८९ करोड रुपैँयाको यस्तो कारोबार गरेका थिए । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले स्थायी तरलता सुविधाको माग गरेका छैनन् ।
ब्याजदर
२०७१ फागुनको तुलनामा २०७२ फागुनमा ९१–दिने ट्रेजरी विल, ९०–दिने निक्षेप बोलकबोल तथा अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर घटेको छ । २०७१ फागुनमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर १.१३ प्रतिशत रहेकोमा २०७२ फागुनमा ०.५३ प्रतिशत रहेको छ । २०७१ फागुनमा ९० दिने निक्षेप बोलकबोलको भारित औसत ब्याजदर ०.८६ प्रतिशत रहेकोमा २०७२ फागुनमा ०.३९ प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७१ फागुनको १.८० प्रतिशतको तुलनामा २०७२ फागुनमा ०.४२ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७१ फागुनको ४.०६ प्रतिशतको तुलनामा २०७२ फागुनमा ०.९८ प्रतिशत रहेको छ । २०७२ फागुनमा वाणिज्य बैंकहरुको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ४.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको फागुनमा यस्तो ब्याजदर अन्तर ४.४९ प्रतिशत रहेको थियो । त्यसैगरी, वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर २०७१ फागुनको ७.५२ प्रतिशतको तुलनामा २०७२ फागुनमा ६.४६ प्रतिशत कायम हुन आएको छ ।
मर्जर÷प्राप्ति तथा रिजोलुसन
वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर नीति कार्यान्वयनमा आएसँगै मर्ज हुने बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढ्दै गएको छ । “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी विनियमावली, २०६८” कार्यान्वयनमा आएपछि २०७२ फागुन मसान्तसम्ममा ८४ वटा बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भई ३१ वटा संस्था बनेका छन् । त्यसैगरी, एउटा वाणिज्य बैंकले दुईवटा वित्त कम्पनीहरु र एक विकास बैंकले अर्को एक विकास बैंक प्राप्ति गरेका छन् । २०७२ पुस मसान्तमा १२ वटा संस्थाहरु (३ विकास बैंक र ९ वित्त कम्पनीहरु) रिजोलुसनको प्रक्रियामा रहेका छन् । उक्त संस्थाहरुमा निक्षेप ४ अर्ब ५१ लाख रुपैँया रहेको छ भने कर्जा लगानी ७ अर्व ७१ करोड रुपैँया रहेको छ । यी संस्थाहरुको खराव कर्जा करीब ९१ प्रतिशत रहेको छ भने समग्र पुँजीकोष करीब ३० प्रतिशतले ऋणात्मक रहेको छ ।
नेपाल राष्ट्र बैँकका नियमन व्यवस्था
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस बैंकबाट समस्याग्रस्त घोषणा गरिएका बैंक तथा वित्तीय संस्थाको शाखा खरिद गर्न सक्ने, उच्च गरिबी रहेका तोकिएका १० जिल्लाहरु र गरिबीको गहनता बढी भएका दक्षिणी सीमावर्ती क्षेत्रका तोकिएका गाउँ विकास समिति तथा नगरपालिका क्षेत्रमा कृषि तथा साना व्यवसायमा प्रवाहित ५ लाख रुपैँयासम्मको कर्जामा विशेष पुनरकर्जा सुविधा प्रदान गर्ने तथा उक्त क्षेत्रमा शाखा खोल्न यस बैंकको पूर्व स्वीकृति लिनु नपर्ने, प्रमुख शहरहरुमा संचालन हुने सार्वजनिक यातायात संचालन गर्ने संगठित संस्थालाई प्रदान गरिने कर्जालाई उत्पादनमूलक कर्जामा गणना गर्ने र म्याग्नेटिक स्ट्रिप
कार्डलाई चिप बेस्ड कार्डमा प्रतिस्थापन गर्ने लगायतका निर्देशनहरु जारी गरिएका छन् ।
तराई आन्दोलन तथा सीमा क्षेत्रमा भएको व्यापार एवम् पारवहन अवरोधले सृजना गरेको असहज परिस्थितिका कारण समयमै कर्जाको सावाँ–ब्याज वा किस्ता रकम तिर्न नसकी त्यस्तो रकम २०७२ चैत मसान्तभित्र प्राप्त भएमा असल कर्जामै गणना गर्ने र कुनै प्रकारको हर्जाना वा शुल्क नलगाउने, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र ऊर्जा लगायतका सेवा क्षेत्रका ऋणीले लिखित कार्ययोजना सहित माग गरेमा २०७२ चैत मसान्तभित्र एक पटकका लागि बढीमा १ वर्षसम्म कर्जा पुनर्तालिकीकरण वा पुनरसंरचना गर्न सकिने, २०७२ पुस मसान्तसम्म पाकेको ब्याज २०७२ माघ मसान्तसम्ममा प्राप्त भएमा चालू आर्थिक वर्षको दोस्रो त्रयमासको नाफा नोक्सान हिसाबमा राख्न सकिने, प्रतितपत्रको आधारमा प्रवाह गरिने ट्रष्ट रिसिट कर्जाको अवधि विद्यमान १ सय २० दिनबाट बढाई बढीमा १ सय ८० दिन कायम गर्ने लगायतका निर्देशनहरु समेत जारी गरिएका छन् ।
बैकिङ्ग कारोबारको जोखिम कम गरी बैकिङ्ग प्रणालीमा सर्वसाधारणको विश्वासलाई सुदृढ गर्न यस बैंकले बासेल–३ मा आधारित न्यु क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ जारी गरेको छ । यसलाई वाणिज्य बैंकहरुले २०७२ पुसदेखि समानान्तर रुपमा र २०७३ साउनदेखि पूर्णरुपमा कार्यान्वयनमा ल्याउनु पर्नेछ ।
राष्ट्र बँैक अन्तर्गत संचालन हुने गरी स्थापना भएको पुनरुद्धार कोष १ खर्ब रुपैँयाको रहेको र यसबाट तोकिएका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने १० करोड रुपैँयासम्मको कर्जामा ४ प्रतिशत र सो भन्दा माथिको कर्जामा २ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको छ । साथै, कोषबाट भूकम्प पीडितहरुलाई तोकिएको व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाहरुले ५ प्रतिशतसम्मको ब्याजमा कर्जा प्रदान गर्न सक्ने र यसका लागि १.५ प्रतिशतमा पुनरकर्जा उपलब्ध गराउने प्रावधान रहेको छ ।
पूँजी बजारको अवस्था
२०७२ माघदेखि कागजरहित शेयर (डिम्याट) प्रणालीबाट मात्र कारोबार भएको, वित्तीय प्रणालीमा अधिक तरलता रहिरहेको तथा विभिन्न वित्तीय संस्थाहरुको पूँजी वृद्धि गरिने नीति÷योजनाका कारण शेयर बजार परिसूचक लगातार बढ्ने क्रममा रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७२ फागुन मसान्तसम्ममा २ सय ३० रहेको छ । २०७१ फागुन मसान्तमा यस्तो संख्या २ सय ३२ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी वार्षिक विन्दुगत आधारमा ३५ प्रतिशतले वृद्धि भई २०७२ फागुन मसान्तमा २ खर्ब ५५ अर्ब ४४ करोड रुपैँया पुगेको छ । आर्थिक वर्ष २०७२÷७३ को ८ महिनासम्ममा १ अर्ब ८९ करोड रुपैँया बराबरको साधारण शेयर, २ अर्ब ५५ करोड रुपैँया बराबरको हकप्रद शेयर, ७ अर्ब ६२ करोड रुपैँया बराबरको बोनस शेयर र १ अर्ब ७० करोड रुपैँया बराबरको डिबेन्चर गरी कुल १३ अर्ब ७६ करोड रुपैँया बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।