सानिमा बैंकको खुद नाफा गत बर्षको तेस्रो त्रैमासको तुलनामा ५९ प्रतिशत भन्दा बढीले बढेको छ । बैंकले गत बर्षको तेस्रो त्रैमासमा ४२ करोड खुद नाफा गरेकोमा यस त्रैमासमा ६७ करोड नाघेको हो । गत बर्षको खुद नाफाबाट २० प्रतिशत बोनस शेयर दिएर पूँजी बढाएको सानिमाले त्यसको अनुपातमा खुद नाफा धेरैले बढाएर प्रति शेयर आम्दानी २९ रुपैयाँ ५१ पैसा बनाएको छ ।
बैंकको निक्षेप र कर्जा परिचालन पनि उल्लेखनीय रुपमा बढेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा झण्डै नौ अर्ब रुपैयाँ कर्जा र १० अर्ब रुपैयाँ निक्षेप बृद्धि गरेको उल्लेख छ । कर्जा लगानीमा गरेको बृद्धिले नाफा बढाउन सहयोग गरेको हो । बैंकले यो त्रैमासिक अवधिसम्म ४३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३६ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
कर्मचारी र संचालन खर्च बढे पनि बैंकको आम्दानी बढ्दा त्यसको प्रभाव खुद नाफामा पर्न सकेको छैन । बैंकले खुद व्याज आम्दानी ३८ करोड रुपैयाँ बढाएको छ भने गत वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ८२ करोड १७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकोमा यस वर्ष एक अर्ब २० करोड अुद व्याज आम्दानी गरेको छ । विदेशी विनिमयको कारोबारबाट बैंकले ११ करोड रुपैयाँ कमाएको छ ।
बैंकको खराव कर्जाको मात्रा निकै कम छ । तेस्रो त्रैमासिक अवधिसम्म बैंकको खराव कर्जा ०.१२ प्रतिसत मात्रै छ । संभावित जोखिम व्यहोर्न गरिएको प्रोभिजनको रकम नौ करोड ६९ लाख रुपैयाँ छ ।
गैर आवासीय नेपालीहरुको लगानी रहेको सानिमाले चुक्ता पूँजी बृद्धिका लागि ५० प्रतिशत हकप्रद शेयर निश्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।