परिचयपत्रको सिस्टमले थोरै पैसा जम्मा गर्नेहरुका लागि झन्झट मात्रै थपेको छ । राष्ट्र बैंकले कुनै पनि बैंकमा अरुको खातामा पैसा जम्मा गर्दा पैसा जम्मा गर्न गएको व्यक्तिको परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरेको छ । सम्पति शुद्धीकरण तथा आतङ्कबादी क्रियाकलापमा वित्तीय लगानी हुनबाट रोक्न राष्ट्र बैंकले साउन १ गतेदेखि यस्तो व्यवस्था गरेको हो ।
‘ग्राहकबाहेक अन्य कुनै व्यक्तिले ग्राहकको खातामा नगदै जम्मा गर्न आएमा रकम जम्मा गर्ने व्यक्तिको पहिचान हुनसक्ने विवरण तथा कागजात लिनुका साथै नगद जम्मा गर्नुको प्रयोजनसमेत खुलाउनुपर्ने छ,’ राष्ट्र बैंकद्वारा जारी परिपत्रमा भनिएको छ । तर, खातावाल स्वयंले आफ्नो खातामा जम्मा गर्न लागेको हो भने मात्रै उसले बैंकमा परिचयपत्र नबुझाउँदा पनि हुन्छ ।
दुई नम्बरी धन्धाबाट कमाएको रकम लुकाउन अरुको नामको खाता चलाउने तथा अन्य अवैधानिक कार्यका लागि अरुको नामको बैंक खाता प्रयोग गर्ने क्रमलाई रोक्न राष्ट्र बैंकले गरेको यो व्यवस्थाले भूमिका खेल्नेछ । तर, दुई चार हजार जम्मा गर्न जानेलाई भने यो व्यवस्थाले झन्झट मात्रै दिएको छ । कतिपय सर्वसाधारण त बैंकबाट रित्तो हातसमेत फर्किएका छन् ।
आतङ्कबादी गतिविधिमा आर्थिक क्रियाकलाप नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको राष्ट्र बैंकको भनाइ छ । विगतमा १० लाख रुपैयाँभन्दा माथिको रकम जम्मा गर्दा मात्रै परिचयपत्र चाहिने गरेकोमा अब जति रकम जम्मा गरेपछि परिचयपत्र अनिवार्य हुने व्यवस्था लागू भएको छ । सम्पत्ति सुद्धिकरणका लागि यो व्यवस्था सहयोगी हुने छ । तर, सानो कमाइबाट थोरै बचाएर बैंक खातामा जम्मा गर्न पठाउनेहरु पनि यो व्यवस्थाबाट हैरान भएका छन् । साथमा बैंकका कर्मचारी भने सबैको परिचयपत्र चेक गर्नुपर्ने झन्झटमा परेका छन् ।