संगैका साथीहरु विदेशतिर हाँकिएको देखेर तनहुँ शुक्लागण्डकी नगरपालिका – १६ का युवा हरि पौडेल सोच्थे, ‘आखिर जिन्दगी पाल्नको लागि त विदेश नगई नहुने नै रहेछ ।’ ‘महिनाको ५०/६० हजार कमाउँछु’ भन्दै कुनै साथीले च्याट गर्दा त उनी सोच्थे – ‘म पनि त्यो देश जान पाए, यति नै पैसा कमाएर परिवारलाई पठाउन पाए कति सुखि हुन्थ्यो होला जीवन ?’
आजभन्दा बर्षौअघिदेखि नै हरिका बुबा भिष्मबहादुर पौडेलले गाई पालेको भएपनि फार्मबाट खासै राम्रो आम्दानी हुन सकेको थिएन । घरको सामान्य व्यवहार टार्दै ठिक्क हुन्थ्यो गाईबाट प्राप्त गरेको आम्दानी । त्यही कारण पनि हरि सोच्थे, ‘यस्तै त रहेछ । गाई पालेर केही हुँदैन । केही नलागे अन्तमा विदेश जानुपर्ला ।’ आफ्नै भएको २० रोपनी जग्गामा मकै, तरकारीहरुको उत्पादन निराशाजनक थियो ।
तर साना किसान बिकास बैंक र नेपालका लागि इजरायली राजदूतावासको समन्वयमा संचालन भएको १० महिने कृषि तालीममा सहभागी भएर इजरायलबाट फर्केपछि भने हरिले सोच परिवर्तन गरे । उनले आफ्नै उत्पादनहीनझैँ बनेको २० रोपनी जग्गाको सदुपयोग गर्दै कृषि विकास बैंक र साना किसान विकास बैंकबाट ५/५ लाख कृषि कर्जा लिएर बुबाको निर्वाहमुखी गाई पालनलाई व्यवसायिक बनाउन कम्मर कसे । दुईवटा बैंकबाट १० लाख लिएर उनले गाई खरिद गरे भने ६/७ लाख ऋणपान गरेर गोठ बनाए । पेट पाल्न अन्त्यमा विदेश नै जाने योजना बुनेका हरि हिम्मत जुटाएर व्यवसायिक गाई पालनतिर लागे ।
हरि आजभोली दैनिक १५ घण्टा काम गर्छन् । उनी हरसमय गोठका गाईकै हेरचाहमा खटिएका हुन्छन् । उनीमात्र हैन उनका परिवारका हरेक सदस्य नै राधेकृष्ण गाई फार्ममा व्यस्त हुन्छन् । हरिले इजरायलमा सिकेका सीप, देखेका प्रविधि र विधिलाई आंशिक अवलम्बन गर्दै बुबाले सुरु गरेको गाई पालनलाई फार्मको रुपमा विकास गरेर व्यवसायिक स्वरुपमा बदलिदिए । आर्थिक तथा प्राविधिक चुनौति भएपनि उनले हिम्मत हारेनन् ।
सुरुबाट गाईपालनलाई दुध खाने तथा सामान्य गर्जो टार्ने तवरले हेर्ने हरिका बुबा पनि छोराले आफुलाई सघाएकोमा दंग परे । तर छोराले इजरायलमा देखेका कुराहरुलाई व्यवहारमा उतारेर गाईपालनमा फड्को मारेको जब देखे त्यसपछि उनी चकित भए । उनले गाई पालेर मासिक झण्डै १ लाख कमाइन्छ भन्ने कुरा कहिले सोचेकै थिएनन् ।
घरमा एउटी जेष्ठ हजुरआमा, बुबाआमा, दाईभाउजु र उनीहरुका एउटा छोरा छन् हरिका परिवारमा । सबै सघुलमा छन् । शरिरले नसक्नेबाहेक अहिले सबै नै राधेकृष्ण गाई फार्म नामबाट उनीहरुले संचालन गरेको गाई फार्ममा खटिरहेका हुन्छन् । खटाईअनुसार आम्दानी पनि राम्रो भएकाले उनीहरुमा काम गर्ने जाँगर पनि उत्तिकै छ ।
लगानीको वातावरण छैन भन्ने चौतर्फी टिप्पणीका कारण सुरुमा लगानी गर्न डराएका हरि जोखिम मोलेरै गाई पालन व्यवसायमा प्रवेश गरेका थिए । केही समय केही चुनौतिको सामना गरेपनि सफलता हात पारेपछि आजभोली उनको उदाहरणीय प्रगति देखेर गाउँलेहरु पनि यस्तै पेशामा लाग्न उत्प्रेरित बनेका छन् । २५/२६ वर्षको एउटा ठिटोले गरेको प्रगति देखेर उनलाई गाउँलेले पनि खुब इज्जत गर्छन् ।
उनले बैंकिङ खबरसंग भने, ‘मैले यति गर्नुमा कृषि विकास बैंक र साना किसान विकास बैंकको ठूलो भूमिका छ । मेहनत गर्ने जाँगर हुँदाहुँदै पनि लगानीको अभावका कारण धेरै युवाहरु विदेश पलायन भइरहेको अवस्थामा यी दुई बैंकहरुले मलाई कृषि कर्जा दिए । मैले त्यसको सदुपयोग गरेँ । आज म आत्मनिर्भर भएको छु । मेरो परिवार पनि खुशी छ । साना किसान बिकास बैंकबाट मैले अलि बढी फाइदा लिएँ । किनभने इजरायलजस्तो कृषिमा फड्को मारेको देशमा गएर तालीम लिने अवसर जुटाईदिएको र स्वदेश फर्किएपछि पनि कृषिमा लाग्छु भन्दा लगानीको वातावरण मिलाईदिएकाले उसलाई अलि बढी जस जान्छ । नेपालका बैंकहरुले यसरी नै सीपलाई प्राथमिकता दिएर सीप र क्षमता भएका युवाहरुमा लगानी गर्ने हो भने देश विकास हुन कति समय लाग्ला र ?’
अहिले हरिको गोठ २२ वटा गाईले भरिएका छन् । तीमध्ये १२ वटा गाई लैनो छन् । १२ वटा गाईबाट दैनिक १ सय ७० लिटरभन्दा बढी दुध विक्री गर्छन् हरिले । दूध विक्रीको लागि बजारको लागि पनि उनलाई समस्या छैन । उनको परिवारले अहिले सबै लागत खर्च कटाएर मासिक ८०÷९० हजार चोखो आम्दानी गरिरहेको छ । उनले बैंकबाट लिएको झण्डै पचास प्रतिशत ऋण पनि चुक्ता गरिसकेका छन् । हरि भन्छन्– ‘पचास प्रतिशतभन्दा अलि बढी कर्जा चुक्ता गर्न बाँकी नै छ । तर अब त्यसको चिन्ता छैन । कमाउँदै तिर्दै गरिरहेको छु ।’
अहिलेसम्म उनले अनुदान भने पाएका छैनन् । अनुदानका लागि केही प्रक्रिया अघि बढाएको भएपनि त्यो अनिश्चित रहेको उनले सुनाए । उनले आफ्नो फार्म र गाईहरुको बिमा गराएका छैनन् । यसबारेमा धेरै कुरा थाहा नपाएकाले बिमा नगरेको उनले बताए ।
साना किसान विकास बैंक र नेपालका लागि इजरायली राजदूतावासको समन्वयमा सन् २०१३ बाट संचालन भईरहेको ‘लर्न एण्ड अर्न’ प्रोग्राममार्फत साना किसानका छोराछोरीहरुलाई भनेर तालीम दिईरहेको छ । तर धेरैले सिकेका सीप कार्यान्वयन नगरेकाले यस कार्यक्रमको प्रभावकारीतामाथि नै प्रश्न उठ्ने गरेको छ । यद्यपी हरि पौडेलजस्ता केही यस्ता उदाहरणीय प्रशिक्षार्थी छन् जसले यो कार्यक्रमको साख अझै उच्च बनाइदिएका छन् । तर पनि तालीममा सहभागी गराउँदा बैंकले कृषिमा साँच्चै चासो राख्ने युवा र साँच्चै किसानको परिवारका प्रशिक्षार्थी छनौट गर्न सक्ने हो भने यसको प्रभाकारीता अझै बढ्ने थियो । त्यसैगरि हरि पौडेलजस्ता स्वदेशमै बसेर कृषिमा केही गर्न चाहने सीप, उत्साह र जाँगर भएका युवाहरुलाई बैंकहरुले लगानी गर्ने हो भने देशको समृद्धिका लागि ठूल्ठूला रणनीति बनाईरहन आवश्यक नै छैन ।