Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

पूँजी वृद्धि गर्न विकास बैंकहरुको यस्तो छ रणनीति

२०७४ असार २३ गते

रोयल आचार्य
नेपाल राष्ट्र बैंकले पूँजी वृद्धिको योजना ल्याएपछि धेरै बैंक तथा वित्तीय संस्थाहरु नाम निशाना नरहने गरी विलय भएका छन् । पूँजी पुर्याउने ध्याउन्नमा धेरै बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभिएर नयाँ संस्थाको रुपमा कारोबार थालेका छन् भने अझै पनि केहि बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुने पाइप लाईनमा नै छन् । पूँजी वृद्धिको योजना आएपछि बैंकको संख्या धेरै घट्ने अनुमान गरिएको थियो । नेपाल राष्ट्र बैंकले पनि पूँजी वृद्धिकोे योजनाले बैंकका शाखा थोरैमा सिमित हुने बताएको थियो । पूँजी वृद्धिको असरले धेरै विकास बैंक र फाइनान्स कम्पनीहरुको संख्या घटेको भए पनि वाणिज्य बैंकको संख्या भने २८ वटाबाट तल झरेको छैन । वाणिज्य बैंकहरु एकआपसमा मर्ज नभएर विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई मर्जर÷एक्विजिशन गरी पूँजी पुर्याउन सफल भएका छन् । 

तोकिएको पूँजी पुर्याउने दाबी
अहिले पूँजी वृद्धिको चपेटामा सबैभन्दा बढी साना अर्थात एक देखी ३ जिल्ला कार्य क्षेत्र भएका विकास बैंकहरु परेको भनिए पनि धेरै यस्ता बैंकहरुले पूँजी पुर्याउन सक्ने दावि गरेका छन् । बैंकिङ खबरसँगको कुराकानीमा अधिकांश ३ जिल्ले विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले तोकिएको चुक्ता पूँजी पुर्याउन सक्षम रहेका बताएका हुन् । १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरु धेरै अन्य बैंकहरुसँग विलय भइसकेका छन् भने बाँकी रहेका विकास बैंकहरु अहिले पूँजी पुर्याउने कसरत गरिरहेका छन् । राष्ट्र बैंकको पूँजी वृद्धिको योजनापूर्व ७६ वटा विकास बैंकहरु थिए । ७६ वटाको संख्यामा रहेका विकास बैंकहरुको संखया घटेर अहिले ५० को हाराहारीमा आइसकेको छ । अहिले पनि १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका बैंकहरु अन्य ठूला बैंकहरुमा विलय हुने तथा अन्य संस्था गाभेर नयाँ संस्था बन्ने क्रम जारी नै रहेकोे छ ।

यसो भन्छन्, विकास बैंकर्स एशोसियसनका अध्यक्ष
पूँजी पुर्याउन बाँकी रहेका साना विकास बैंकहरु मर्जर तथा एक्विजिशनका लागि पार्टनर खोजिरहेको विकास बैंकर्स एशोसिसनका अध्यक्ष भरतराज ढकालले जानकारी दिए । बैंकिङ खबरसँगको कुराकानी एशोसियसनका अध्यक्ष ढकालले भने ‘पूँजी पुर्याउन नसक्ने साना विकास बैंकहरु मर्जर तथा एक्विजिशनका लागि साथी खोजिरहेका छन्, मर्जरका लागि साथी भेट्ने वित्तिकै उनीहरु मर्ज जानेछन् ।’ पूँजी वृद्धिका लागि ति विकास बैंकहरुले मर्जर एक्विजिशन बाहेक अन्य विधि पनि अपनाइरहेको अध्यक्ष ढकालको भनाई छ । असार मसान्त सम्ममा राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पूँजी पुर्याउन नसक्ने तर, पुर्याउन कसरत गरिरहेका बैंकहरुलाई केहि समय थप्नु पर्ने अध्यक्ष ढकालको भनाई छ । अध्यक्ष ढकालका अनुसार एशोसियसनले पूँजी बढाउनका लागि ६ महिना थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । 

३ जिल्ले विकास बैंकको अवस्था 
१ देखी ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले अहिले पूँजी पुर्याउन बिभिन्न कसरत गरिरहेका छन् । ३ जिल्ला कार्यक्षेत्र भएको मिसन डेभलपमेन्ट बैंकको चुक्ता पूँजी अहिले ४३ करोड छ । यस बैंकले चालु आर्थिक बर्षको मूनाफाबाट बोनश शेयर जारी गरेर ५० करोड चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले तोके अनुसारको ५० करोड रुपैयाँ चुक्ता पूँजी चाडै पुर्याउने मिसन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद घिमिरेको भनाई छ । ‘अहिले हाम्रो चुक्ता पूँजी ४३ करोड रुपैयाँ छ, बैंकिङ खबरसँगको कुराकानीमा प्रमुख कार्यकारी अधिकृत घिमिरेले भने, ‘आ.ब. ०७३÷७४ को मूनाफाबाट बोनश शेयर जारी ५० करोड चुक्ता पूँजी पुर्याउछौंँ ।’ केहि समयभित्रै राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पूँजी पु¥याउने भन्दै प्रमुख कार्यकारी अधिकृत घिमिरेले पूँजी पुर्याउन धेरै गाह्रो नभएको बताए । 

यसैगरी प्रदेश नम्बर ७ मा केन्द्रीय कार्यालय रहेको ३ जिल्ले विकास बैंक कञ्चन डेभलपमेन्ट बैंकले पनि चुक्ता पूँजी सजिलै पुर्याउने जनाएको छ । चुक्ता पूँजीको नजिक रहेको यस विकास बैंकले तोकिएको समयमा नै ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैसीले बताए । ‘आ.व. २०७२÷०७३ असार मसान्तमा बैंकको चुक्ता पुँजी १९ करोड ८० लाख रुपैयाँ थियो, हामीले बोनस तथा हकप्रद शेयर निष्काशन गरेर ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याइसकेका छौं ।’ बैंकिङ खबरसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत जैसीले भने, अब चुक्ता पूँजी ३४ करोड ६५ लाख रुपैयाँको १०ः३ ले हुने १० करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद सेयर र आ.व. २०७३÷०७४ को नाफाबाट ४ करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेर ५० करोड चुक्ता पूँजी पुर्याउछौ ।’ कञ्चन डेभलपमेन्ट बैंकलाई पनि पूँजी पुर्याउन समस्या नभएको सीईओ जैसीको भनाई छ । 

बुटवलमा केद्रीय कार्यालय रहेको तिनाउ डेभलपमेन्ट बैंकले पनि चुक्ता पूँजी सहजै पुर्याउने भएको छ । अहिले ३४ करोड भन्दा बढी चुक्ता पूँजी रहेको यस बैंकले अहिले हकप्रद सेयर जारी गरिरहेको छ । हकप्रद जारी पश्चात बैंकको चुक्तापूँजी ४६ करोड रुपैयाँ पुग्ने प्रमुख कार्यकारी अधिकृत प्रदीप कुमार श्रेष्ठले बताए । ‘हकप्रद जारी पश्चात हाम्रो चुक्ता पूँजी ४६ करोड क्रस हुन्छ, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, ‘त्यस पछि चालु आर्थिक बर्षको मूनाफाबाट बोनस शेयर जारी गरेर हामी ५२ करोड चुक्ता पूँजी पुर्याउँदैछौँ ।’

पूँजी वृद्धिका लागि समय थप नहुने
मर्जर÷एक्विजिशनमा नगएका पूँजी पुर्याउन नसक्ने बैंक तथा वित्तीय संस्थाका लागि समय थप नहुने भएको छ । केहि विकास बैंकहरुले थप समय दिए पूँजी पुर्याउन मद्दत पुग्ने विकास बैंकर्स एशोसियसनको माग भए पनि नेपाल राष्ट्र बैंकले भने समय नथप्ने भएको छ । एशोसियसनका अध्यक्ष ढकालका अनुसार पूँजी वृद्धिका लागि एशोसियसनले ६ महिनाको समयसिमा थप गर्न माग गरेको छ । समय थप्ने सम्भावना भने नभएको राष्ट्र बैंकका सह–प्रवक्ता एवं निर्देशक राजेन्द्र पण्डितले बताए । ‘जसरी हुन्छ पूँजी पुर्याउनुहोस भनेर हामीले पहिल्यै भनेका छौं’ बैंकिङ खबरसँग कुरा गर्दै सहप्रवक्ता पण्डितले भने ‘समयसिमा थप्ने सम्भावना छैन ।