Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

अन्यौलमा साना बैंकहरु : अरुले पनि गाभेनन्, पुँजी बढाउन पनि सकेनन्

२०७४ असार ९ गते

रोयल आचार्य । नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको योजनाका कारण एक जिल्ले र तीन जिल्ले विकास बैंक तथा ‘ग’ वर्गका फाइनान्स कम्पनीहरु अधिकांश नाम निशाना नरहने गरी विलय भएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको समयसीमामा तोकेअनुसार चुक्तापुँजी पुर्याउन नसक्ने भएपछि अधिकांश साना विकास बैंक तथा फाइनान्स कम्पनीहरु वाणिज्य बैंक र राष्ट्रिय तथा क्षेत्रीय स्तरका विकास बैंकहरुसँग विलय भएका हुन् । वाणिज्य बैंकहरुबीच मर्जर गराउन राष्ट्र बैैंक असफल देखिए पनि विकास बैंक र वित्त कम्पनीको संख्या घटाउन भने राष्ट्र बैंक सफल देखिएको छ । 

अन्य संस्थाले लिइदिने आशमा साना विकास बैंकहरु
राष्ट्र बैंकको पुँजी वृद्धिको योजनापूर्व ७६ वटा विकास बैंकहरु थिए । हाल विकास बैंकहरुको संख्या घटेर ५० को हाराहारीमा आइसकेको छ । अझै पनि साना विकास बैंकहरु अन्य ठूला बैंकहरुमा विलय हुने तथा अन्य संस्था गाभेर नयाँ संस्था बन्ने क्रम जारी रहेकोे छ । एक जिल्ला देखि तीन जिल्लासम्म कार्यक्षेत्र भएका ‘ख’ वर्गका विकास बैंकहरु अहिले तीनदेखि चार वटाको संख्यामा झरिसकेको नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता एवं निर्देशक राजेन्द्र पण्डितले जानकारी दिए । बैंकिङ खबरसँगको कुराकानीमा सह–प्रवक्ता पण्डितले भने – ‘एक जिल्ले र तीन जिल्ले विकास बैंकहरु अधिकांश वाािणज्य तथा ठूला विकास बैंकहरुमा विलय भइसकेका छन्, बाँकी रहेका ३÷४ वटा स्थानीय विकास बैंकहरु पनि पुँजी पुर्याउन नसक्ने अवस्थामा छन् ।’ बाँकी रहेकामध्ये केहिले हकप्रद तथा बोनस सेयर जारी गरेर चुक्तापुँजी पुर्याउने सोच बनाएका छन् । राष्ट्र बैंकले तोकेको समयमा पुँजी पुर्याउन तीन विकास बैंकहरु कि मर्जरमा जानुपर्छ कि पुँजी थप्नुपर्छ । यस्ता समस्याका लागि राष्ट्र बैंकले हालसम्म कुनै विशेष व्यवस्था गरेको छैन । चुक्ता पुँजी पुर्याउन कसरत गरिरहेका स्थानीय स्तरका विकास बैंकहरुलाई थप केहि समय दिने र त्यो समयमा पनि पुँजी पुर्याउन नसके कारबाही प्रक्रियामा जाने सहप्रवक्ता पण्डितको भनाई छ । राष्ट्रिय तथा क्षेत्रीय स्तरका विकास बैंकहरु धेरैले पुर्याउने देखिए पनि एकदेखि तीन जिल्लामा सीमित रहेका यी विकास बैंकहरुलाई पूँजी पुर्याउन समस्या देखिएको छ । एक अर्कामा गाभिएर पनि पुँजी र्पुयाउन नसक्नेहरु अन्य कुनै संस्थाले अन्तिम समयसम्म लिइदेला कि भन्ने अपेक्षामा रहेका छन् । 

फाइनान्स कम्पनीहरुको अवस्था पनि उस्तै
स्थानीय स्तरका विकास बैंकको जस्तै समस्या फाइनान्स कम्पनीलाई पनि परेको छ । राष्ट्र बैंकले ल्याएको पुँजी वृद्धिको योजना पछि ‘ग’ वर्गका १२ वटा वित्त कम्पनी ठूला बैंकहरुमा नाम निशाना नरहने गरी विलय भएका छन् भने केहि कम्पनीहरु विलय हुने प्रक्रियामा छन् । पुँजी वृद्धिको सकसमा रहेका वित्त कम्पनीहरुमा पनि पछिल्लो समय मर्जरको लहर नै चलेको छ । चुक्ता पुँजी पुर्याउन नसक्ने कैंयौं फाइनान्सहरु ठूला बैंकमा एक्वाएर भईरहेका छन् । फाइनान्स कम्पनीहरु आधाभन्दा बढी विलय भएर बढीमा २० वटाको हाराहारीमा रहन सक्ने अनुमान गरिएको छ ।

वित्त कम्पनीका लागि समस्याको बजार
वित्तीय बजार खासगरी फाइनान्स कम्पनीका लागि निकै प्रतिष्पर्धी बनेको छ । अहिले फाइनान्स कम्पनीहरुको काम बैंकहरुले गर्न थालेका छन् । त्यसैले मध्यम वा कमजोर अवस्थामा रहेका वित्त कम्पनी अब बजारमा टेका लगाएको भरमा टिक्न सक्ने स्थिति छैन । फेरी नेपाल राष्ट्र बैंकले गरेको पुँजी वृद्धि व्यवस्थामा फाइनान्स कम्पनीहरुलाई ख वर्गका विकास बैंककै हैसियतमा राखेको छ । ग वर्गका कम्पनी भएपनि वित्त कम्पनीहरुले राष्ट्र बैंकले तोकेअनुसारको चुक्ता पुँजी पुर्याउँदा ती संस्थाहरु ख वर्गका जिल्ले विकास बैंकसरह शक्तिशाली हुनेछन् । 

८८ फाइनान्स आधा दर्जनमा सिमित हुँदै
तीन वर्षअघिसम्म मुलुकमा ८८ वटा फाइनान्स कम्पनी थिए । अहिले ती फाइनान्स घटेर करिब २२ वटामा झरेका छन् । यीमध्ये करिव १५ वटा मर्जरमा जाँदैछन् भने केही एक्विजिसनमा जाने क्रममा छन् । नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार हाल कायम वित्त कम्पनीमध्ये बढीमा १० वटा फाइनान्सले पुँजी बढाएर तत्काल आफूलाई जोगाइराख्ने छन् ।

कति चाहिन्छ चुक्ता पूँजी ?
राष्ट्रिय स्तरका विकास बैंकको २ अर्ब ५० करोड रुपैयाँ, ४ देखि १० जिल्ले विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँ र १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकको ५० करोड चुक्ता पूँजी पुर्याउनु पर्ने व्यवस्था छ । भने फाईनान्स कम्पनीहरुमा राष्ट्रिय स्तरका फाइनान्स कम्पनीको ८० करोड रुपैयाँ, ४ देखि १० जिल्ला कार्य क्षेत्र फाइनान्स कम्पनीको चुक्ता पूँजी ४० करोड पुर्याउनुपर्ने व्यवस्था रहेको छ ।