बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (वाफिया) २०७३ पारित भएर कार्यान्वयनमा आएसँगै बैंकहरुले सञ्चालकको संख्या घटाउन सुरु गरेका छन् । महिना दिनअघि संसदबाट पारित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ले बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ र बढीमा ७ जना मात्रै सञ्चालक राख्न पाउने व्यवस्था गरेको छ । सोही व्यवस्थालाई कार्यान्वयनमा ल्याउन नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले तत्काल साधारणसभा वा विषेश साधारणसभा बोलाएर बैंक सञ्चालकको संख्या घटाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन समेत दिइसकेको छ ।
दुई सय सञ्चालक बाहिरिने
राष्ट्र बैंकको निर्देशनअनुसार, बैंक तथा वित्तीय संस्थाहरुले तत्काल विशेष साधारण सभा बोलाएर प्रबन्ध पत्र वा नियमावलीमा भएको सञ्चालकको संख्या सम्बन्धि प्रावधान संशोधन गर्नुपर्नेछ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले ७ देखि ९ संख्यामा सञ्चालक राख्न सक्ने व्यवस्था थियो । जसअनुसार अधिकांस बैंक तथा वित्तीय संस्थामा ९ जना सञ्चालक छन् । हाल १ सय १५ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा छन् ।
यस्ता छन्, बैंक सञ्चालकका मापदण्ड
बाफिया अनुसार बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा ०.१ प्रतिशतभन्दा बढी सेयर लिएको सेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन पाउने छैनन् । त्यस्तै, संवैधानिक पद धारण गरेका व्यक्तिहरु पनि बैंकको सञ्चालक बन्न पाउने छैनन् । स्नातक उतीर्ण गरी विदेशी वा स्वदेशी बैंक तथा वित्तीय संस्था वा संगठित संस्था वा नेपाल सरकारको सेवामा सञ्चालक वा पदाधिकारी तहमा तीन वर्ष काम गरेको व्यक्ति बैंक सञ्चालकमा योग्य हुने ऐनमा उल्लेख छ । त्यस्तै, एउटै व्यक्ति बीमा र वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।