April 15th, 2016

यस्तो छ, देशको वर्तमान वित्तीय स्थिति 

bankingगत बैशाख १२ गतेको विनासकारी भुकम्प, मधेस आन्दोलन, नाकाबन्दी र पेट्रोलियम पद्धार्थको आपूर्तिमा देखिएको असहजताको प्रभावबाट बैँकिङ क्षेत्र पनि अछुतो रहन सकेन । नेपालको मुद्रास्फीर्तीमा मुलुकको प्रतिकुल अवस्थाको प्रभाव ज्यादा पर्यो । यी सबै समस्या क्रमशः समाधान हुँदै जान थालेपछि भने उपभोक्ता मुद्रास्फीति दरमा केहि सुधार देखिएको नेपाल राष्ट्र बैँकले जनाएको छ । राष्ट्र बैँकको तथ्यांक अनुसार, २०७२ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीर्तीत दर १२.१ प्रतिशत पुगेकोमा २०७२ माघमा ११.३ प्रतिशतमा झरेको छ । वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क वृद्धिदर १२.८ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर १०.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

थोक मुद्रास्फीर्ति
आर्थिक वर्ष २०७२/७३ को माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीर्तिदर ६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरुको मूल्य सूचकाङ्क ११.५ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरुको मूल्य सूचकाङ्क ६.५ प्रतिशतले वृद्धि भएको छ भने आयातीत वस्तुहरुको मूल्य सूचकाङ्क २.६ प्रतिशतले घटेको छ । 

विदेशी विनिमय सञ्चिति
कुल विदेशी विनिमय सञ्चिति २०७२ असार मसान्तको रु. ८२४ अर्ब ६ करोडबाट २३.१ प्रतिशतले वृद्धि भई २०७२ माघ मसान्तमा रु. १०१४ अर्ब ४० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७२ असार मसान्तको तुलनामा २०७२ माघ मसान्तमा २४.५ प्रतिशतले वृद्धि भई रु. ८७५ अर्ब ५६ करोड पुगेको छ । 

सार्वजनिक ऋण तथा सरकारको नगद मौज्दात
समीक्षा अवधिमा नेपाल सरकारले रु. १९ अर्ब ६० करोड बराबरको आन्तरिक ऋणको भुक्तानी गरेको छ । फलस्वरुप, नेपाल सरकारको तिर्न बाँकी आन्तरिक ऋण २०७२ असार मसान्तमा रु. १९६ अर्ब ७९ करोड रहेकोमा २०७२ माघ मसान्तमा रु. १७७ अर्ब १९ करोड रहेको छ । स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७२ माघ मसान्तमा नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रु. ७६ अर्ब २० करोड नगद मौज्दात कायम रहेको छ ।

निक्षेप संकलन
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको निक्षेप क्रमशः ८.८ प्रतिशत, ४.७ प्रतिशत र ७.४ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०७२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २२.६ प्रतिशतले बढेको छ ।

कर्जा प्रवाह
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रततर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंक र विकास बैंकहरुको कर्जा प्रवाह क्रमशः ८.३ प्रतिशत र ३.३ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ०.९ प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा २०७२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १६.२ प्रतिशतले बढेकोछ । सीमा नाका अवरोध एव्म मधेश आन्दोलनका कारण आयात उल्लेख्य रुपमा घट्न गएकोले यस्तो कर्जाको उपयोगमा कमी आएको हो ।

तरलता व्यवस्थापन
आर्थिक वर्ष २०७२/७३ को ७ महिनासम्ममा यस बैंकले रु. ४०४ अर्ब ८५ करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, पटक–पटक गरी निक्षेप बोलकबोलमार्पmत् रु. २५८ अर्ब ४० करोड, रिभर्स रिपोमातर्फत् (टर्नओभरको आधारमा) रु. १३७ अर्ब ३५ करोड तथा सोभैm बिक्री बोल–कबोलमार्फत्रु. ९ अर्ब १० करोड तरलता प्रशोचन भएको छ । २०७२ माघ मसान्तमा निक्षेप संकलन बोल–कबोल बक्यौता रकम रु. १०१ अर्ब १५ करोड रहेको छ । 

वित्तीय पहुँच
वित्तीय संस्थाहरुको शाखा सञ्जालमा भएको वृद्धिसँगै वित्तीय सेवाको पहुँच विस्तार हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७१ माघमा ३,७०७ रहेकोमा २०७२ माघमा ४,०६१ पुगेको तथा निक्षेप एवम् ऋण खाता संख्या बढदैं गएकोले समग्र वित्तीय पँहुच अभिवृद्धिमा सघाऊ पुगेको छ ।

अन्तर–बैंक कारोबार र स्थायी तरलता सुविधाको उपयोग
आर्थिक वर्ष २०७२/७३ को ७ महिनामा वाणिज्य बैंकहरुले रु. ४४८ अर्ब ५७ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक) ले रु. ३८ अर्ब ५२ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. २१२ अर्ब ५३ करोड र रु. १११ अर्ब ८७ करोडको यस्तो कारोबार गरेका थिए । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले स्थायी तरलता सुविधाको माग गरेका छैनन् ।

बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा प्राप्तिको अवस्था
वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर नीति कार्यान्वयनमा आएसँगै मर्ज हुने बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढ्दै गएको छ । “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी विनियमावली, २०६८” कार्यान्वयनमा आएपछि २०७२ माघ मसान्तसम्ममा ८४ वटा बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भई ३१ वटा संस्था बनेका छन् । 

समष्टिगत विवेकशील नियमन
घरजग्गा क्षेत्रमा प्रवाहित कर्जा कुल कर्जाको २५ प्रतिशतको सीमाभित्र रहनुपर्ने व्यवस्था रहेकोमा २०७२ माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले यस क्षेत्रमा कुल २ सय २० अर्ब ७६ करोड रुपैँया कर्जा (प्रति ग्राहक १ करोड रुपैँयाभन्दा कमको १ सय २६ अर्ब ४८ करोड रुपैँयाको आवासीय घरकर्जा सहित) प्रवाह गरेका छन् । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १५.१ प्रतिशत हुन आउँछ । २०७२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको १.८ प्रतिशत (रु. २६ अर्ब ९१ करोड) रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा–निक्षेप (स्वदेशी निक्षेप र प्राथमिक पूँजी सहित) अनुपात ८० प्रतिशत नाघ्न नहुने व्यवस्था रहेकोमा २०७२ माघमा यस्तो अनुपात वाणिज्य बैंकहरुको ७२.२२ प्रतिशत, विकास बैंकहरुको ६९.६३ प्रतिशत तथा वित्त कम्पनीहरुको ७१.४५ प्रतिशत रहेको छ ।