स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरु अब आफ्नो क्षेत्रलाई कस्तो बनाउने भन्ने सोचमा व्यस्त छन् । आफ्नो क्षेत्रका जनतालाई रिझाउन उनीहरुले विभिन्न योजनाहरु सार्वजनिक गरेका छन् । यस विषयमा सबैभन्दा बढी चासो बनिरहेको क्षेत्रको काठमाडौँ महानगरपालिका । मुलुकको केन्द्र भएको हिसाबले अब काठमाडौँ कस्तो बन्ला भन्नेतर्फ सबैको ध्यानाकर्षित भइरहेको छ । काठमाडौँ महानगरपालिकाको मेयर बनेर विद्यासुन्दर शाक्य आएका छन् । उनले काठमाडौँ महानगरपालिकाभित्र ८० बर्ष उमेर पुगेका पुरुष तथा ७५ बर्ष उमेरका महिलालाई बार्षिक १२ हजार महानगर भत्ता दिने घोषणा गरेका छन् । यद्यपि, यतिबेला तलबभत्ता बढाउनेतिर भन्दा पनि विकासको गति बढाउनेतर्फ मेयरको ध्यान जानुपर्ने टिप्पणीहरु आउन थालेका छन् । वास्तवमा काठमाडौँ सहरले के खोजिरहेको छ त ? आगामी दिनमा नगरप्रमुखले काठमाडौँ महानगरपालिकालाई उत्कृष्ट बनाउन केकस्ता विषयलाई प्राथकितामा राखेर अगाडी बढ्ने त ? हेरौँ केही टिप्सहरु :
१. सरसफाई
अहिले काठमाडौँ सहरको मूख्य समस्याको रुपमा देखिएको विषय हो, सरसफाई । हुन त, मुलुकमा थोरै संख्या सहर भएका कारण सबै जनता एकै ठाउँमा थुप्रिँदा उब्जिएको समस्या हो यो । सटरैपिच्छे पसल, चोकैपिच्छे तरकारी बजार, एउटा घरमा दर्जनौँ परिवार लगायतका कारण एउटै घरबाट फोहोरको डंगुर निस्किन्छ । त्यसमाथि, फोहोर फाल्ने व्यवस्थित तरिका व्यक्तिगत तवरबाट अपनाइँदैन । महानगरपालिकाको गाडी आएर लगिहाल्छ नि, अथवा महानगरका मान्छेले यही सफा गर्ने जागीर खाएका छन्, हामीले किन गर्ने भन्ने मानसिकताका कारण जथाभावी फोहोर फाल्ने प्रवृत्ति छ । यसको नियन्त्रण समयमा नै गर्नु जरुरी भइसकेको छ ।
२. ट्राफिक समस्या
बसोबास गर्ने मानिसको संख्या बढेपछि ट्राफिकको समस्या पनि बढ्दो छ । दिनहुँजसो दुर्घटनाका खबरहरु सुनिन्छन् । एक त व्यवस्थित र फराकिलो सडकको अभाव छ, त्यसमाथि सवारी साधनको प्रयोग गर्ने जनसंख्या बढ्दै गएकाले ट्राफिक समस्या पनि काठमाडौँको मूख्य समस्याको रुपमा देखिएको छ । छिटो र सहज तरिकाले गन्तव्यमा पुग्न सवारी चढ्नेहरु ट्राफिक जामका कारण न त समयमा नै पुग्छन्, न त सहज तरिकाले ।
३. पार्किङ समस्या
सहरमा विलासी जीवन जिउनेको कमी छैन । छोटो दुरीको बाटोमा पनि सवारी लिएर जाने प्रवृत्ति छ, चाहे देखावटीकै लागि किन नहोस् । यद्यपि, काठमाडौँमा पार्किङको बडो समस्या छ । सडकका भित्ताभरि जताततै गाडीहरु पार्क गरिएका हुन्छन् । नो पार्किङ लेखिएको समेत याद गरिँदैन । हेलचेक्र्याईँले मात्र यस्तो भएको भने हैन । काठमाडौँमा यति धेरै घरहरु बनिसकेका छन् कि पार्किङको लागि कति पनि ठाउँ छैन ।
४. खुल्ला ठाउँको अभाव
काठमाडौँमा एउटा घर ठड्याउने सबैको रहर पुर्याउँदापुर्याउँदै अब खाली ठाउँको अभाव भइसकेको छ । ०७२ वैशाख १२ गतेको भुकम्पले यो कुरा सबैलाई छर्लंग पारिदिएको छ । तैपनि मानिसले चेतेका भने छैनन् । भुकम्प गएयता पनि थुप्रै घरहरु बनिसकेका छन् । सानो ठाउँमा पनि कोठामाथि कोठा थप्दै घर बनाएर सान देखाउनेहरुको घुईँचो बाक्लै छ यहाँ । यो समस्या पनि पछिल्लो समय विकराल बन्दै गएको छ ।
५. पानीको व्यबस्थापन
काठमाडौँमा मेलम्चीको पानी आउने रे भन्ने आसामा नै यहाँका जनताले वर्षौँ विताइसकेका छन् । तर, पानीको अभाव उस्तै छ । कतै ढुंगेधाराहरु बगेर खेर गइरहेका छन् भने कतै पानीको हाहाकार छ । प्रायः जसोको गुजारा नै जारको पानीले हुन्छ । कसैकोमा भने घरबेटीले ट्यांकरको पानी किनेर खटाई खटाई दिने गरेका पनि छन् । प्रायको घरमा बोरिङबाट पानी तानिएको हुन्छ, तर धेरै समय भएपछि बोरिङ सुक्छ । अनि, पूरानै कोकोहोलो ।
६. धुलो सडक
सडकको धुवाँधुलोका कारण आजकाल काठमाडौँमा भेटिने प्रायः मानिसहरु मुख ढाकेर हिँडेका भेटिन्छन् । धुवाँ धुलोका कारण सहरको हावा नै प्रदुषित बनिरहेको छ, रोगहरु फैलिरहेको छ । यसको नियन्त्रण छिटै नै गरिनु आवश्यक छ ।
७. अव्यबस्थित बसोबास
केन्द्रीय सहर भएर पनि काठमाडौँमा बसोबार व्यवस्थित छैन । अव्यवस्थित बसोबासको कारण सहर नै कुरुप देखिने भइसकेको छ । जताततै घरहरु छन् । घरहरुपनि कतै दुई तले कतै आठ तले । कुनै प्लानिङ बिना जथाभावी घरहरु बन्दा कतिपय ठाउँमा त सडक बनाउने ठाउँसम्म छैन । सडक विस्तारका लागि धेरैको घर नै भत्काउनु परेको छ । त्यसैले, सहरमा घरहरु बनाउँदा प्लानिङ गरेर बनाउने, वस्तीहरु व्यवस्थित बनाउने, जथाभावी घरहरु बनाउने अनुमति नदिने लगायतका व्यवस्था गरेर काठमाडौँलाई मुलुकको केन्द्र भन्न लायक सहर बनाउनु जरुरी छ ।
८. घरभाडा समस्या
काठमाडौँका हरेक घरमा दर्जनौँ परिवार बस्ने गरेका छन् । कतिपयले धेरै घरहरु बनाएर घर भाडामा लगाएर नै गुजारा चलाउने गरेका छन् । मुलुकका हरेक कुनाबाट मानिसहरु काठमाडौँ आइरहेका छन् । त्यसैले, यहाँ आफूले चाहेजस्तो कोठा पाउन सजिलो छैन । पाइहालेपनि, मौकाको फाइदा उठाएर मनलाग्दी भाडा असुल्ने घरबेटीहरुको कमी छैन, यहाँ । घरभाडासम्बन्धी कुनै मापदण्ड नहुँदा यस्तो समस्या आइपरेको छ । यसप्रति छिटै नै ध्यानाकर्षण हुनु जरुरी छ ।
९. यातायातको व्यबस्थापन
यातायातको पनि व्यवस्थापन गर्नुपर्नेछ, काठमाडौँमा । सबै स्थानमा सार्वजनिक यातायात पुग्ने व्यवस्था मिलाउनुपर्नेछ । त्यस्तै, बस स्टप, आकाशे पुल, जेब्रा क्रसिङ लगायतको व्यवस्था पनि मिलाउनुपर्नेछ । गत सातादेखि जेब्रा क्रसिङभन्दा बाहिरबाट बाटो काट्नेलाई जरिवाना लिने कार्य सुरु भएको छ । यो सकारात्मक सुरुवात हो । यसलाई निरन्तरता दिनुपर्छ । आकाशे पुल र जेब्रा क्रसिङ जनताकै सुरक्षाको लागि हो भनेर चेतना जगाउनु पर्नेछ ।
१०. हरियालीको आबश्यकता
काठमाडौँको हावा यति प्रदुषित भएको छ कि खुला रुपमा सास फेर्दा पनि रोगले समातिहाल्छ । माक्र्स नलगाई नहिड्नु भनेर र सार्वजनिक सूचना नै जारी गरिएको अवस्था छ । हरियो रुखविरुवाहरु लगाउन यहाँ वासिन्दालाई प्ररित गर्ने हो भने वायु प्रदुषणबाट केही हदसम्म मुक्ति मिल्थ्यो । हरेक घर वरिपरि रुखविरुवा रोप्ने नियम नै बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।
माथि उल्लिखत कुराहरु नै सबै कुरा हैनन् । तर, पहिले यी कुराहरुलाई व्यवस्थित गरियो भने विकास अन्य योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा सहज भने पक्कै हुनेछ ।




