सुष्मा थापा – हालै सञ्चालनको अनुमति पाएका १० बीमा कम्पनीले तीन महिनापछि व्यवसाय सुरु गर्ने भएका छन् । जीवन बीमा सञ्चालनको अनुमति पाएका नयाँ कम्पनीहरुलाई बीमा समितिले पुँजी कायम गर्न तीन महिनाको समयावधि दिएको छ । आइएमई, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटिजन, रिलायबल, ज्योति र युनियन लाइफ इन्स्योरेन्सले सञ्चालनको अनुमति पाएका छन् ।
कुन कम्पनीमा कुन बैंकको लगानी ?
स्वीकृति पाएर छिटै नै व्यवसाय थाल्ने तरखरमा रहेका सबै जीवन बीमा कम्पनीहरु बैंकिङ ग्रुपद्धारा प्रवद्र्धित छन् । जीवन बीमा कम्पनीको अनुमतीसम्बन्धी नीतिले नै बैंक तथा वित्तीय संस्थाको लगानी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएकोले पनि लगानीकर्ताको रुपमा बैंकहरु देखिएका हुन् ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी आईएमई ग्रुपले सञ्चालन गर्न लागेको छ । सिद्धार्थ बैंकले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालन गर्न अनुमति माग गरेकोमा उसले पनि अनुमति पाएको छ । तत्कालिन महालक्ष्मी फाइनान्स (हाल महालक्ष्मी बिकास बैंक) ले चार करोड ७० लाख सेयर रहने गरि महालक्ष्मी लाइफ इन्स्योरेन्स स्थापना गर्न आवेदन दिएको थियो । सो कम्पनीले पनि सञ्चालन अनुमति पाएको छ । त्यस्तै, सानिमा बैंकले सानिमा लाइफ इन्स्योरेन्स सञ्चालनमा ल्याउने अनुमति पाएको छ । तत्कालिन पब्लिक डेभलपमेन्ट बैंकले सन नेपाल लाइफ इन्स्योरेन्सको अनुमतिको लागि दर्ता गराएको थियो । यो कम्पनी पनि अब सञ्चालनमा आउँदैछ । त्यस्तै, नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सले स्टार लाइफ इन्स्योरेन्स कम्पनी खोल्ने अनुमति पाएको छ । सिटिजन्स बैंक इन्टरनेशनलले सिटिजन लाइफ इन्स्योरेन्स सञ्चालनमा ल्याउने अनुमति पाएको छ भने रिलायबल डेभलपमेन्ट बैंकले रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालन गर्ने अनुमति पाएको छ । त्यस्तै, सञ्चालनको अनुमति पाएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा ज्योति विकास बैंकको मूख्य लगानी रहेको छ ।
व्यवसाय थाल्ने तयारी
ती बीमा कम्पनीहरुले कर्मचारी नियुक्ति, कार्यालयको पूर्वाधार तथा बिजिनेस प्लानसमेत बुझाई तोकिएको समयमा तोकिएको चुक्तापुँजी पुर्याएर अन्तिम स्वीकृतिका लागि आवेदन दिनुपर्नेछ । यसका लागि ती कम्पनीहरुले गृहकार्य थालिसकेका छन् । बीमा समितिले संस्थागत सुशासन विनियमावलीभित्र रहेर नयाँ कम्पनीहरुको मूल्यांकन गर्ने छ । विनियमावलीभित्र अट्ने कम्पनीहरुले अन्तिम स्वीकृति पाउने बताइएको छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी एक अर्ब रुपैयाँ तोकको छ ।
नयाँ कम्पनी सञ्चालनको अनुमतिका लागि आवेदन दिएका १२ जीवन बिमा कम्पनीमध्ये १० वटाको स्वीकृतिका लागि समितिले अर्थ मन्त्रालयमा पठाएको थियो । गत बुधबार मन्त्रालयले १० वटै कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो ।
हाल नेपालमा नौ जीवन बीमा, १७ निर्जीवन र एक पुनर्बिमा कम्पनी सञ्चालनमा छन् भने १० वटा जीवन बीमा कम्पनी र चार निर्जीवन बीमा कम्पनी थपिने क्रममा छन् । जसमध्ये, जीवन बीमा कम्पनीहरु अबको केही महिनामा नै सञ्चालनमा आउने तयारीमा छन् । निर्जीवन बीमा कम्पनीहरु भने स्वीकृतिकै लागि पर्खिरहेका छन् । यी सबै बीमा कम्पनीहरु थपिएपछि नेपालमा समग्र बीमा कम्पनीहरुको संख्या ४१ पुग्नेछ ।