२०७४ जेष्ठ ८ गते

सेयर बजारमा केन्द्रीय बैंकको प्रभाव 

गुणराज भट्ट । प्रख्यात अमेरिकी लेखक विलियम फिदरले भनेका छन्, “सेयर बजारको सबैभन्दा हास्यास्पद विषय भनेको हरेक समय एउटा व्यक्तिले बेच्छ र अर्कोले किन्छ, तर दुवै आफूलाई बुद्धिमानी ठान्छन् ।”

यो भनाइ यस अर्थमा सान्दर्भिक छ कि कुनै एउटाले अवश्य गुमाउनुपर्छ, तर दुवैले आफू जितेको महसुस गर्छन् । साधारणतया कुनै पनि व्यक्तिले सेयर खरिद गर्दा मूल्य बढ्ने अपेक्षा गरेको हुन्छ । सुरु निष्कासनका क्रममा देखिने अत्यधिक चापले समेत यस कुराको पुष्टि गर्छ । परिस्थितिजन्य बाध्यताबाहेक बेच्नेले मूल्य अब घट्ने अनुमान गरेको हुन्छ, अर्थात् यो नै अधिकतम प्रतिफलको बिन्दु हो भनी सोच्ने गर्छ । 

सिद्धान्ततः सेयर बजार परिसूचकलाई दुईवटा आधारभूत तत्वले प्रभाव पार्नुपर्छ । पहिलो आम्दानीको आधार, जसलाई प्रतिसेयर आम्दानी (इपिएस) ले जनाउँछ र दोस्रो मूल्याङ्कन गुणक, जसलाई मूल्य आम्दानी अनुपात (पिई रेसियो) ले मापन गर्छ ।

तसर्थ, कम्पनीको प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपातमा हुन सक्ने प्रभावका आधारमा सेयर मूल्य घटबढ हुनुपर्छ । यसबाहेक अन्य सहायक तत्वहरूमा सेयरको माग–आपूर्तिको अवस्था, विभिन्न नियामकीय प्रावधान, समाचार, राजनीति, अफवाह आदि हुन् । पहिलो दुई कारणबाट बजार प्रभावित भएमा अर्थतन्त्रको आधारभूत तत्व र बजारको लय एउटै भएको मानिन्छ ।

केन्द्रीय बैंकले मौद्रिक तथा समष्टिगत विवेकशील नीति (म्याक्रो प्रुडेन्सियल पोलिसी) मार्फत सेयर बजारलाई प्रभाव पार्ने गर्छ । खासगरी, केन्द्रीय बैंक वित्तीय बजारका उपकरणहरूमध्येको सशक्त टुल सेयर बजारमा सन्तुलित तथा परिपक्व विकास चाहने गर्छ ।

तसर्थ, बजार बुलिस प्रवृत्तिमा गएमा वित्तीय सम्पत्तिको मूल्य अत्यधिक बढ्ने र यसले वित्तीय स्थायित्व कायम गर्न चुनौती सिर्जना गर्ने दृष्टान्तबाट प्रभावित भई वित्तीय चक्रको नियन्त्रणका लागि सचेत रहने गरेको छ । सेयर बजारको प्रत्यक्ष तथा परोक्ष रूपमा बैंकिङ प्रणालीसँग सम्बन्ध हुने भएकाले समेत सेयर मूल्यमा केन्द्रीय बैंकको चासो स्वाभाविक हुन जान्छ ।

केन्द्रीय बैंकले सेयरको मूल्यमा विभिन्न प्रकारले प्रभाव पार्न सक्छ । यसका वित्तीय जस्तै, कर्जा तथा ब्याजदर एवम् गै वित्तीय च्यानल हुन्छन् ।
ब्याजदर कम भएमा सेयर बजार परिसूचक सामान्यतया बढ्ने गर्छ । यसको मूल कारण सस्तो लागतको ऋण प्राप्त गर्न सकिने एवम् निक्षेपको अवसर लागत कम हुने भएकाले सेयरको माग बढ्न जान्छ ।

ब्याजदर केन्द्रीय बैंकले नियन्त्रण गर्ने चर भएकाले यसमार्फत् सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्न सकिने नै भयो । त्यसैगरी, उच्च मुद्रास्फीतिका कारण लगानीकर्ताहरूले मूल्यवृद्धि विरुद्धको कवचका रूपमा स्टकमा लगानी गर्ने विभिन्न अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंककै अध्ययनले समेत यस कुराको पुष्टि गरेको छ । मौद्रिक नीतिको मूल उद्देश्य नै मूल्य स्थिरता रहेकाले मुद्रास्फीति नियन्त्रणद्वारा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।

यसका साथै, केन्द्रीय बैंकले बैंकिङ प्रणालीको साधनस्रोतलाई विभिन्न क्षेत्रमा लगानी गर्न सहुलियत ब्याज तथा निर्दे्शित ऋण प्रवाहजस्ता माध्यमबाट सकारात्मक भूमिका खेल्न सक्छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुनाफा आर्जन तथा त्यसको वितरणमा प्रत्यक्ष भूमिका निर्वाह गर्न सक्छ ।

वित्तीय क्षेत्रको सेयर बजारमा योगदान राम्रै हुने र नेपालमा त झन् ८० प्रतिशतभन्दा बढी रहेबाट केन्द्रीय बैंकको बैंक मुनाफामा असर हुने कुनै निर्णयले सेयर मूल्यमा प्रभाव पार्ने गरेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरू सेयर बजारमा सूचीकृत हुने हुनाले सेयरको आपूर्ति घटाउने वा बढाउने नीतिले नेपालमा समेत ठूलै प्रभाव पर्ने गरेको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको उच्च निगरानी गर्ने, विवेकशील नियमन तथा सुपरिवेक्षण अपनाउने तथा बैंक तथा वित्तीय संस्थाको अन्तिम ऋणदाता भएको कारणबाट हाम्रो जस्तो बैंकिङ अधिनस्थ प्रकृतिको सेयर बजारमा यसले सर्वसाधारणमा सूचीकृत संस्थाप्रति उच्च प्रतिफल वा घाटा नहुने विश्वास सिर्जना गर्छ । यसले समेत सेयर बजार उकास्न ठूलै सहयोग गर्ने गरेको छ ।

विकसित देशहरूमा सेयर धितोमा प्रवाह गरिने मार्जिन कर्जा अथवा सेयर खरिदै गर्नसमेत ब्रोकरहरूले कर्जा दिने प्रचलन छ । नेपालमा भने बैंक तथा वित्तीय संस्थाहरूले यस्तो कर्जा दिइरहेका छन् ।

मार्जिन कर्जामा कडाइ गर्ने या खुकुलो भन्ने कुरा केन्द्रीय बैंकले प्रत्यक्ष नियन्त्रण गर्न सक्ने विषय भएकाले यसले दुईवटा च्यानलमार्फत सेयर मूल्यमा प्रभाव पार्छ ः पहिलो, सेयर धितोबाट प्राप्त हुने ऋण रकम र दोस्रो, बजार संकेत दिएर । यदि मार्जिनका कारण ऋण रकम कम भएमा तरलता कम भई सेयरको माग घट्छ भने केन्द्रीय बैंकले मार्जिन घटाई कडाइको संकेत गरेमा पनि बजारलाई नकारात्मक असर पर्ने गर्छ ।

मार्केट ओभर रियाक्सन भनिने केन्द्रीय बैंकका उच्च पदस्थहरूको सेयर बजारप्रतिको धारणा पनि बजार प्रभाव पार्ने एउटा महŒवपूर्ण पक्ष हो । सारभर नै केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नरलगायत उच्चपदस्थ कर्मचारीहरूले सेयर मूल्य कता जाँदैछ, केन्द्रीय बैंकले के गर्दैछ वा अन्य संकेत गरेमा यसले ठूलै हलचल ल्याउने गरेको देखिन्छ । सामान्यतया कुनै एक्सनबिना नै बजार सच्याउने यो एउटा पद्धतिसमेत हो ।

स्टक र बोन्ड सामान्यतया विपतिी सम्बन्धमा रहने गर्छन् । केन्द्रीय बैंकले सरकारी ऋणपत्र तथा केन्द्रीय बैंक ऋणपत्र जारी गरी राष्ट्र ऋण उठाउने तथा तरलता व्यवस्थापन गर्ने गर्छ । बोन्डको आपूर्ति बढी यसको आकर्षक प्रतिफल प्रस्ताव गरेमा सेयर मूल्य घट्न जान्छ ।

घरजग्गा र सेयर बजार उस्तै–उस्तै प्रकृतिमा हिँड्ने गरेको देखिएकाले घरजग्गा कारोबार प्रभावित गर्ने नीतिले सेयर मूल्यमा समेत गिरावट आउन सक्ने सम्भावना रहन्छ । तसर्थ, केन्द्रीय बैंकले घरजग्गा मूल्य तथा सेयर मूल्य दुइटै विश्लेषण गरी बजार करेक्सन गराउन सक्छ ।

वित्तीय साक्षरतामार्फत पनि केन्द्रीय बैंकले लगानीकर्ताहरूलाई सुसूचित गर्न सक्छ । वित्तीय साक्षरताअन्तर्गत पुँजी बजारमा लगानी गर्ने तरिका, सेयर बजार, धितोपत्र खरिदबिक्री आदिसमेत पर्ने हुनाले वित्तीय रूपमा साक्षर लगानीकर्ताहरू विवेकी निर्णय लिन्छन् । तसर्थ, वित्तीय साक्षरता बढ्दै गएमा अफवाह, भेडे प्रवृत्ति आदिमा नियन्त्रण भई बजार सूचकमा उच्च उतारचढाव हुन पाउँदैन ।

विवेकी लगानीकर्ताले सेयर किनबेच गर्दा केन्द्रीय बैंकको भूमिका र उसको व्यवहार हेर्न सक्छन् । यसले नेपालमा राम्रै काम पनि गरेको छ । त्यसैले, केन्द्रीय बैंकको सेयर बजारप्रतिको नीति सन्तुलित, तटस्थ र बजार परिसूचकमा ठूलो उतारचढाव नपार्ने हिसाबले नीति बनाउनुपर्छ ।

केन्द्रीय बैंकको भूमिका भनेको मूल्य स्थिरता हो र यस अन्तर्गत वस्तु तथा सेवाको मात्र नभई सम्पत्तिको मूल्य स्थिरतासमेत पर्न जान्छ । सन् २००८ को विश्व वित्तीय संकटपश्चात् त झन् यो विषयलाई अहम् रूपमा हेर्ने गरिएको छ । (लेखक नेपाल राष्ट्र बैंकसँग आबद्ध छन् ।) कारोबार दैनिकबाट साभार गरिएको