कृषि विकास बैंकले रुपन्देही जिल्लाको सौफर्साटिकरमा अत्याधुनिक सेवासहितको नयाँ बैँकिङ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कार्यक्रमका प्रमुख अतिथि श्री लिला प्रकाश सिटौलाले पानसमा बत्ती बालेर सो कार्यालयको उद्घाटन गरे ।
सो अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकको ४९ वर्षको इतिहासमा हिमालदेखि तराईसम्म संजाल विस्तार गरी कारोवार सञ्चालन गरिरहेको कृषि विकास बैंकले अव आधुनिक प्रविधि सहित नेपाली जनतालाई बैंकिंग सेवा प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । कुल लगानीको ३१ प्रतिशत कृषिमा लगानी गरेको बैंकले कृषि क्षेत्रलाई नै लगानीको मुख्य प्राथमिकतामा राखेर आफ्नो कार्य अघि बढाई रहेको जानकारी सिटौलाले दिए । साथै, कृषि विकास बैंकले देशको आर्थिक विकासका लागि गाँऊदेखि बजारसम्मका जनतालाई आवश्यक बैंकिंग सेवा प्रदान गरिरहेको दाबी गरे । नयाँ तथा विस्तारित शाखाहरुबाट पनि जनताको आर्थिक पक्षलाई बलियो बनाउन सहयोग पुर्याउने तथा आम नेपालीमा वित्तिय साक्षरता सम्बन्धी चेतना जगाउने कुरामा आफूहरु पछि नहट्ने उनको भनाइ थियो ।
कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक अरुण कुमार ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको सो समुद्घाटन कार्यक्रममा बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख भरत प्रसाद साहले विशेष आतिथ्यता ग्रहण गरेका थिए । कार्यक्रममा मुख्य कार्यालयका शाखा प्रमुख हिमलाल पौडेल शाखा अधिकृत राजेन्द्र पराजुली लगायत त्यस क्षेत्रमा कार्यरत बैंकका कर्मचारी, स्थानिय बुद्धिजीवी, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी एवं स्थानिय जनताको ठुलो सहभागीता रहेको थियो ।
शाखा विस्तारको क्रममा प्रमुख कार्यकारी अधिकृत सिटौलाले रुपन्देही जिल्लामा रहेका शाखा कार्यालयहरु क्रमश मझगाँवा, सिद्धार्थनगर भैरहवा र पश्चिमाञ्चल क्षेत्रीय तालिम केन्द्र मंगलापुरमा अत्याधुनिक प्रविधि कोर बैँकिङ सिस्टम सहितको बैँकिङ कारोबारको विस्तार समेत गरे ।