सगरमाथा फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ६३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सगरमाथाले छ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
कम्पनीको सञ्चालन मुनाफा ८९ प्रतिशतले बढेर १० करोड ३८ लाख रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी ५८ दशमलव ७५ प्रतिशतले बढेर १३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीले चार अर्ब ३२ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५७ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
चुक्तापुँजी ६६ करोड ४७ लाख रुपैयाँ पुर्याएको फाइनान्सले यो अवधिमा ७२ लाख ८६ हजार रुपैयाँ खराब कर्जा उठाएको छ । कम्पनीको जगेडा कोष गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ८८ प्रतिशत बढेर ३३ करोड चार लाख रुपैयाँ पुगेको छ । कम्पनीको निष्कृय कर्जा ३१ प्रतिशत घटेर दुई दशमलव ६६ प्रतिशत कायम भएको छ ।