Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पासपोर्ट च्यातेर उद्यमशीलतामा : ‘च्याउ खेतीबाट चमत्कार’

२०७४ बैशाख ७ गते

६ वर्ष कुबेतको गर्मीमा काम गरेर फर्किंदा न घरमा श्रीमती थिइन् न त पठाएको पैसा । ऋण तिर्न पठाएको पैसा लिएर श्रीमतीले दोस्रो बिहे गरेर हिँडिन् । ४ प्रतिशत ब्याजदरमा जग्गा दृष्टिबन्धक राखेर लिएको १ लाख ५ हजार ऋण बढेर ४ लाख १७ हजार पुगेको थियो । ऋण तिरेर भ्याउँदा उनी पहिलेकै अवस्थामा फर्केका थिए । तर, मिहिनेत र लगनले बाँके सीतापुर ३ ‘के’ गाउँका ३८ वर्षीय लालबहादुर सुनार पाँच वर्षमै करोडपति बन्दै छन् ।

दैनिक ३ क्विन्टलसम्म च्याउ बिक्रि
व्यावसायिक च्याउ खेती फस्टाएपछि उनी पश्चिमकै ठूला च्याउ उत्पादक बनेका हुन् । गत वर्ष उनले दैनिक ३ क्विन्टलसम्म च्याउ बेचे । यो वर्ष दैनिक ५ क्विन्टल बिक्री गर्ने लक्ष्य लिएर च्याउ लगाउँदै छन् । वर्षे र हिउँदे च्याउले बजार पाए आउँदो वर्ष उनको आम्दानी १ करोड नाघ्ने छ । ‘बाह्रै महिना च्याउ उत्पादन गर्दै छु,’ उनलेभने, ‘यो वर्ष दैनिक ५–६ क्विन्टल च्याउ बेच्ने गरी काम भइरहेको छ ।’

एअरपोर्टमा ओर्लिनासाथ पासपोर्ट च्यातिदिएँ,’ 
बेल्डिङको काम गर्ने भनेर गएका लालबहादुरले ग्रिनहाउस बनाउने काम गर्नुर्पयो । तलब पनि भनिएभन्दा कम थियो । मुस्किलले १३ हजार मासिक हुन्थ्यो । दुई वर्ष निकै दुखले बिताए । भाषा नबुझेर त्यस्तै हैरानी । केही सहज हुँदै थियो । एकदिन उनी झन्डै ठूलो दुर्घटनामा परे । त्यसपछि उनलाई विदेशी भूमि बस्नै मन लागेन । ‘पासपोर्ट आफूसँग भए फेरि जान मन लाग्छ भनेर एअरपोर्टमा ओर्लिनासाथ च्यातिदिएँ,’ उनले भने ।

सुरुमा ठेलामा फलफूल 
लालबहादुरले एक वर्षमा २ लाख ८३ हजार श्रीमती खगिसरालाई पठाएका थिए । ‘ऋण तिरियो होला भन्ठानेका थिएँ । श्रीमतीजी त छोरीलाई माइतीमा छाडेर अर्कैसँग पो हिँडिछन्  उनले भने, ‘ऋण तिरेर भ्याउँदा ६० हजार बँचेको थियो । त्यसैबाट व्यवसाय थालें ।’ सुरुमा उनले ठेलामा फलफूल बेच्न थाले । पछि स्थानीय चेतबहादुर खड्कासँग मिलेर च्याउ खेती गरे । पहिले च्याउ लगाउने अस्थायी टहरा थिए, अहिले पक्की संरचना बनाएका छन् ।

६३ लाखको आधुनिक फर्म 
अहिले उनी एक्लै साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको आंशिक सहयोगमा झन्डै ६३ लाखको आधुनिक फर्म बनाएका छन् । धनगढीकी अभिसरा नाम्जाली मगरसँग बिहे गरे । छोरा जन्मिएपछि उनकै नामबाट उद्योग दर्ता गरे, ‘श्यामसुन्दर च्याउ उद्योग’ । जहाँ च्याउ लगाउन ८ वटा ठूला कोठा छन् । त्यस्तै पराल काट्ने र पकाउने उपकरण छन् । एउटा कोठामा १ हजार ६४ पोकामा च्याउको बीउ राख्ने गरेको उनी बताउँछन् । एकै पटक ८ हजार ५ सय १२ पोकामा च्याउ फल्दा दैनिक ६ क्विन्टलभन्दा धेरै उत्पादन हुने उल्लेख गर्दै लालबहादुरले भने, ‘दैनिक एक लाखको च्याउ बेचिन्छ । त्यो हिसाबले थोरैमा पनि १ करोड कमाउने लक्ष्य छ ।’

च्याउलाई बजारको समस्या छैन 
उत्पादित च्याउलाई बजारको समस्या छैन । च्याउको खुद्रा बजार मूल्य प्रतिकेजी २ सय रुपैयाँँ छ । थोकमा १ सय ६० रुपैयाँमा बिक्री हुन्छ । बेमौसमको च्याउ प्रतिकेजी ३ सय रुपैयाँँ सम्ममा किनबेच हुन्छ । लालबहादुरको फर्मको च्याउ नेपालगन्ज र कोहलपुरका तरकारी मन्डी, ठूला होटल र घरघरमा पुग्ने गरेको छ । आउँदो वर्षका लागि अहिल्यै नेपालगन्ज उद्योग वाणिज्य संघ र ठूला होटलहरूसँग सम्झौता भइसकेको उनले बताए । च्याउ उत्पादन वृद्धिसँगै प्याकिङ गरी निर्यात गर्ने उनको योजना छ । त्यसका लागि माइक्रो ओभन पनि ल्याउँदै छन् ।

बीउ राख्ने बेला सधैं चटारो
च्याउको बीउ राख्ने बेला उनी सधैं  चटारोमा हुन्छन् । दैनिक ३५ कामदार लगाउँछन् । अरू बेला ५ कामदार नियमित छन् । हिउँदका लागि कन्य र गोब्रे च्याउ लगाउँछन् भने वर्षे मौसममा मिल्की च्याउ लगाउँछन् । अहिले वर्षे च्याउ लगाउने बेला भएको छ । लालबहादुरको यो फर्म बाँके र बर्दिया मात्र हैन, सम्भवतस् पश्चिमकै सबैभन्दा ठूलो च्याउ उद्योग हो । च्याउमा हासिल गरेको सफलतापछि कृषि विकास कार्यालयका प्राविधिकहरूले कृषक समूहलाई च्याउ खेती तालिम दिन उनलाई निम्त्याउन थालेका छन् । एक वर्षमा उनले २९ वटा कृषि समूह र ५ वटा गाविसमा च्याउ खेतीसम्बन्धी तालिम दिइसकेका छन् । लालबहादुर सानै छँदा उनका बुवा र आमा बिते ।

५ भाइबहिनीको लालनपालन गर्नुपर्ने भएपछि उनले ८ कक्षामै पढाइ छाडेर कामका लागि भारत जान थाले । पछि ऋण काढेर कुबेत पुगे । ‘हर चिज पैसा हैन रै’छ,’ अनेक हन्डरठक्करले खारिएका उनले भने, ‘विदेशमा मरीमरी ८  घण्टा काम गर्छौं । घरपरिवार सम्झेर ओभरटाइम गर्छौं । घरमा दुई घण्टा पनि राम्ररी काम गरिन्न कहाँ हुन्छ ? आफ्नै देशमा त्यत्ति गरे त पैसा यहीँ फल्छ नि ।’
– कान्तिपुर दैनिकबाट