Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

थोक कर्जा प्रवाहमा चार लघुवित्त : चुक्तापुँजी ६० करोड पुर्याउँदै

२०७३ चैत्र २३ गते

रुपा कोइराला – राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत थोक कर्जाको कारोबार गर्ने लघुवित्तको चुक्ता पुँजी ६० करोड पुर्याउने घोषणा गरेको थियो । घोषणाअनुसार थोक कर्जाको कारोबार गर्ने लघुवित्तले २०७५ साल असारसम्ममा तोकिएको पुँजी पुर्याउनुपर्ने व्यवस्था गर्दै यसमा लागि योजना पेस गर्न गत भदौसम्मको समयसीमा दिएको थियो । सोही अनुरुप थोक कर्जा प्रवाह गर्ने लघुवित्त बैंकहरुले राष्ट्र बैंकलाई आफ्नो पुँजीवृद्धि योजना बुझाएका थिए ।

हाल रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडीसी), साना किसान लघुवित्त विकास बैंक, फस्र्ट माइक्रोफाइनान्स र आरएसडीसीले थोक कर्जाको कारोबार गर्दै आएका छन् । यसमध्ये आरएमडीसीको तोकिको चुक्ता पुँजी पुगीसकेको छ । हाल आरएमडीसीको चुक्ता पुँजी ६२ करोड ९२ लाख रुपैयाँ छ ।
बाँकी तीन लघुवित्त कम्पनीले भने ०७५ असार मसान्तसम्ममा राष्ट्र बैंकले तोकेबमोजिम पुँजी पुर्याउन यस्तो यस्तो कसरत गरिरहेका छन् :

साना किसान विकास बैंकले राष्ट्र बैंकमा बुझाएको पूँजी वृद्धि योजना अनुसार गत आर्थिक बर्षको मुनाफाबाट २५ प्रतिशत बोनस बाँड्ने र चालु आर्थिक बर्षको नाफाबाट आगामी आर्थिक बर्षमा पनि २५ प्रतिशत नै बोनस बाड्ने बताएको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले योजनाअनुसार नै बोनस प्रस्ताव गरिसकेको छ । अहिले बैंकको ४० करोड २४ लाख रुपैयाँ रहेको छ । गतबर्षको मुनाफाबाट १० करोड रुपैयाँ बराबरको बोनस बाड्दा बैंकको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्ने र त्यसपछि अर्को बर्ष २५ प्रतिशत बोनस वितरण  गरेपछि बैंकको पूँजी ६३ करोड रुपैयाँ पुग्नेछ । 

त्यस्तै, फस्र्ट माइक्रोफाइनान्सले बुझाएको पुँजी वृद्धि योजनामा आव ०७४/७५ सम्ममा ६८ करोड ४३ लाख पुँजी पुर्याउने उल्लेख छ । जसमा २ आर्थिक वर्षमा १५/१५ प्रतिशतका दरले बोनस सेयर दिने र २ पटक २ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने उल्लेख गरिएको छ । जसअनुसार, गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर जारी गरेर माइक्रोफाइनान्सले २६ करोड ४५ लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । साथमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । हकप्रद सेयर जारी गरिसकेपछि संस्थाको चुक्तापुँजी ३३ करोड रुपैयाँ पुग्नेछ । आगामी आर्थिक वर्षमा पनि हकप्रद र बोनस सेयर जारी गरेर बैंकले ६० करोड रुपैयाँ चुक्तापुँजी नघाउनेछ । 

यता, आरएसडीसी लघुवित्तले साधारण सेयर र गत आर्थिक वर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर जारी गरेर साढे ११ करोड रुपैयाँ चुक्तापुँजी पुर्याइसकेको छ । सार्वजनिक गरिएको पुँजीवृद्धि योजनाअनुसार, अब एक बराबर दुईको अनुपातमा हकप्रद सेयर जारी गरेर कम्पनीले चालू आर्थिक वषभित्रै चुक्तापुँजी ३४ करोड ५० लाख रुपैयाँ पुर्याउनेछ । त्यस्तै, आगामी आर्थिक वर्षमा चालू आर्थिक वर्षको नाफाबाट पाँच प्रतिशत बोनस सेयर र पाँच बराबर तीन कित्ताका दरले हकप्रद सेयर जारी गरेर ५७ करोड ९६ लाख रुपैयाँ पुँजी पुर्याउनेछ । उक्त पुँजीमा आगामी आर्थिक वर्षको मुनाफाबाट दुई करोड ५३ लाख ५७ हजार रुपैयाँ पुँजीकृत गरि ६० करोड ४९ लाख ५७ हजार रुपैयाँ पुँजी पुर्याउनेछ । 

राष्ट्र बैंकको निर्देशनमा तोकिएको समयमा चुक्ता पुँजी नपुर्याउने कम्पनीलाई नगद लाभांश वा बोनस सेयर घोषणा तथा वितरण, थप वित्तीय स्रोत संकलन, कर्जा प्रवाह तथा शाखा विस्तारमा रोक लगाउने व्यवस्था छ । हाल राष्ट्रियस्तरका लघुवित्त विकास बैंकको १० करोड रुपैयाँ, क्षेत्रीय स्तरको ६ करोड रुपैयाँ, ४–१० जिल्ला कार्यक्षेत्र भएकाको दुई करोड र १–३ जिल्ला कार्यक्षेत्र भएकाको एक करोड रुपैयाँ पुँजी रहेको छ ।