Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सहारा नेपालले बनायो राजबंशीलाई सफल उद्यमी  

२०७३ चैत्र १८ गते

सुमन पुरी/घनश्याम राय, बिर्तामोड, झापा । झापाको बिर्तामोड पश्चिम वसस्टेन पछाडि छ, सूर्योदय टोल । यही टोलमा पाथीभरा बिस्कुट उद्योग छ । सो उद्योगमा सञ्जय राजबंशीले धेरै वर्ष कामदारको रुपमा काम गरे । शारदा राईसँग अन्तरजातीय विवाह गरेपछि उनले श्रीमती मात्रै होइन छोरा पनि पाल्नुपर्ने जिम्मेवारी आइलाग्यो । त्यसपछि सञ्जयले श्रीमतीलाई पनि त्यही उद्योगमा काम लगाए, उद्योगमा काम गर्नेहरुको खाना पकाउने । कामदारका लागि शारदाले बिहान बेलुकाको खाना पकाउन थालिन् । खाजा चियाको व्यवस्था पनि शारदाकै जिम्मामा थियो । तर उनले महिनावारी रुपमा एक रुपैयाँ पनि तलब भने पाइनन् । भात भान्सा गरिदिएवापत उद्योग धनीले शारदा र सञ्जयलाई निःशुल्क बस्ने कोठा मिलाई दिए । सञ्जय र शारदा दुवैको पारिवारीक आर्थिक अवस्था राम्रो थिएन । शारदा सानै उमेरदेखि अरुको घरमा भात भान्सा गरेर हुर्किइन् । सञ्जयको घरमा पनि खान लाउने व्यवस्था थिएन । 

तर अहिले शारदा र सञ्जयको पारिवारिक अवस्था मात्रै फेरिएको छैन, आर्थिक अवस्था पनि फेरिएको छ । पाथीभरा बिस्कुट उद्योगको अगाडि उनीहरुको सात धुर जग्गा छ । त्यही जग्गामा घर बन्दै छ । बन्दै गरेको घरमा आफ्नै दुनोट उद्योग छ । छोराछोरी बिर्तामोडको निजी बिद्यालयमा पढ्छन् । सञ्जयले उत्पादन गरेको दुनोट अहिले झापाका अधिकांश गाँउ शहरमा पुग्छन् । उद्योगबाटै सबै दुनोट बिक्री हुन्छ । उनीहरुले दैनिक एक सय २० केजीसम्म पिठोको दुनोट बनाउँछन् । दुई चार जना कामदार कहिलै टुट्दैनन् । दैनिक १० हजार जतिको दुनोट बिक्ने गरेको उनीहरु बताउँछन् । महिनाको ६० हजार रुपैयाँभन्दा बढि त नाफा नै भइरहेको उनीहरुको भनाइ छ । यति मात्रै होइन हिजो राम्रोसँग नबोलाउने गाँउलेहरु आजकाल केहि पर्दा शारदालाई खोज्न थालेका छन् ।

पाँच हजारमा १० किलो पिठो
१० बर्षअघि बिस्कुट फ्याक्ट्रीमा काम गर्दा गर्दै छोरा जन्मिएपछि समस्या हुन थाल्यो । दुई जनालाई त खान लाउन पुगेकै थियो । छोरा पनि जन्मिएपछि समस्या सुरु भयो । बेला बेलामा छोरा बिरामी हुन थालेपछि त झन् शारदा र सञ्जयको परिवारले आर्थीक रुपमा सारै कष्ट खेप्यो । त्यसपछि आफैँले दुनोट बनाउने काम गर्ने योजना बन्यो, सञ्जयको मनमा । काम त जानेका थिए, तर चाहिने सामान कसरी किन्ने ? हातमा एक रुपैयाँ पैसा थिएन, सञ्जयले भने –‘टोलभरी पैसा सापट माग्यौँ, कसैले दिएन । पाँच हजार रुपैयाँ ऋण माग्दा पनि गाँउलेले भन्थे, ‘घर न थरको मान्छेले कसरी पैसा तिर्छ ?’ 

जहाँ इच्छा त्यहाँ उपाय– टोलका महिलाहरु सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बनाएको लघुवित्त समुहमा बसेको शारदाले थाहा पाएकी थिइन् । त्यहीँ बसेर ऋण लिने र त्यसबाट आफ्नै दुनोट व्यवसाय थाल्ने सपना देखेकी शारदालाई सुरुमा गाँउका महिलाहरुले ऋण दिन पनि इन्कार गरे । कसरी तिर्छे भनेर भनेपछि सुरुमा त सहाराले पनि ऋण पत्याएन । शारदाले व्यवसायीक योजना सुनाएपछि साहारा नेपाल साकोसले सुरुमा ५ हजार रुपैयाँ ऋण दियो । ५ हजारमा शारदा र सञ्जयले केहि पैसाको दाल चामाल ल्याए, बाँकीको १० किलो आँटा, चिनी र तेल किनेर दुनोट बनाउने काम सुरु गरे । त्यही १० किलो आँटाबाट सुरु भएको व्यबसायले शारदा र सञ्जयले जग्गा किनेर घर बनाउन सफल भएका छन् । सहारा नेपालले बनाएको सफल साहारा महिला समुहकी सचिव शारदा भन्छिन् –‘सहाराको साहारा नभएको भए अहिले पनि म कसैकोमा भाँडा माझिरहेकी हुन्थेँ ।’

सहारा को साहारा
काम गर्न लाज थिएन । अरुकोमा त काम गरेका शारदा र सञ्जयलाई आफ्नै व्यवसायमा काम गर्न के को समस्या ? आफैले दुनोट बनाए । आफैँले बेचे । बजार बजार गएर सञ्जयले दुनोट बेच्थे । बिक्री राम्रै भएपछि पन्ध पन्ध्र दिनमा किस्ता तिर्न समस्या भएन । दैनिक रुपमा आम्दानी भएपछि उनीहरुले सहाराबाट ऋण बढाँउदै गए । लिएको ऋण उद्योगमा थप्दै गए । सञ्जय भन्छन् –‘सहाराबाहेक मेरो प्रगतीको अरु कुनै बाटो छैन ।’ अहिले त्यही ऋणबाट शारदा र सञ्जयको प्रगती भएको सहारा नेपाल बिर्तामोड सेवा केन्द्रका प्रबन्धक घनश्याम रायले बताए । 

गर्दा के हुँदैन ?
काम गर्न परिश्रम गर्न लजाउनु हुँदैन । यही कारणले गर्दा शारदा आज सफल उद्यमी समेत बन्न सकेकी छिन् । सहाराले अहिलेसम्म शारदालाई १२ पटक लगानी गरिसकेको छ । ५ हजारबाट सुरु भएको सहाराको लगानी अहिले एक लाख ६० हजार रुपैयाँ पुगिसकेको छ । अहिले शारदालाई सहाराले घर कर्जा समेत दिएको छ ।