बलुराम पौडेल आइएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त आइएलएफसिओ माइक्रोफाइनान्स राष्ट्रिय स्तरको माइक्रोफाइनान्स हो । यस लघुवित्तले हाल १२ वटा शाखा मार्फत सेवा दिदै आइरहेको छ । शाखा विस्तारको गतिमा अलि कमजोर देखिएको यस संस्थाको पछिल्लो वित्तीय अवस्था र सेवा समग्रमा राम्रै छ । यसै सन्दर्भमा कृषि र पशुपालनजस्ता व्यवसायलाई कर्जा लगानीको प्राथमिकतामा राखेर ग्रामिण भेगका विपन्न वर्गहरुलाई सेवा दिदै आएको यस संस्थाका सीईओ पौंडेलसँग संस्थाको पछिल्लो अवस्था, भविष्यका योजना र सेवाबारे बैंकिङ खबर डट कमका लागि रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश :
आइएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्थाको पछिल्लो वित्तीय अवस्था के छ ?
हाम्रो करिब २५ करोड लगानी रहेको छ । यस संस्थाको भाखा नाघेको कर्जा १ प्रतिशत भन्दा पनि कम छ । समग्रमा भन्नुपर्दा लघुवित्त क्षेत्रमा हाम्रो वित्तीय अवस्था राम्रो छ ।
शाखा संजालहरु कति छन् ?
हामीले भर्खरै मात्र पाँचौ बार्षिक साधारणसभा सम्पन्न गर्यौ । आइएलएफसिओको स्थापना भएको पनि धेरै भएको छैन । शाखा सञ्जाल जुन रफ्तारमा विस्तार हुनु पर्ने हो त्यो हुन सकेको छैन । अहिले हाम्रो १२ वटा शाखा छन् । पूर्वमा ओखलढुंगा र पश्चिममा दाङसम्म यस संस्थाका शाखा रहेका छन् ।
ब्याजदरको अवस्था के छ ?
२० देखी २२ प्रतिशत छ । प्रतिशत हेर्दा धेरै जस्तो देखिन्छ । तर, अन्यको तुलनामा भने कम छ किनभने अन्यको ब्याजदरको हेर्दा थोरै देखिए पनि उनीहरुले सेवा शुल्क पनि लिन्छन । तर, हामीले सेवा शुल्क लिने गरेका छैनौं ।
यो त राष्ट्र बैंकको निर्देशनको उल्लंघन भएन र ?
मैले अघि भने नि । प्रतिशत हेर्दा थोरै बढीजस्तो देखिन्छ । तर, अरु कतिपय लघुवित्तहरुलाई हेर्नुभयो भने हाम्रो ब्याजदर कम नै छ । किनभने अन्यको ब्याजदरको हेर्दा थोरै देखिए पनि उनीहरुले सेवा शुल्क पनि लिन्छन । तर, हामीले सेवा शुल्क लिने गरेका छैनौं ।
लघुवित्तहरुले चर्को ब्याज लिन्छन भन्ने जनगुनासो त्यसो भए सही हो ?
कर्जाको चर्को ब्याज भनेर बुझ्नु हुँदैन । हामीले कर्जा लगानी गछौँ त्यसबाट कर्जा लिने सेवाग्राहीले त्यसको सदुपयोग गरेर अथवा उपलब्धी गरेर केहि हिस्सा मात्रै ब्याजको रुपमा बुझाउने हो । कर्जाको दुरुपयोग भयो भने कम ब्याजमा दिएको कर्जाको पनि कुनै मान्यता रहदैन । जुन कर्जा हामीले दिन्छौँ त्यसलाई उद्यमशिलतामा लगाई आय आर्जन गराउने हो भने त्यो चाहिँ ब्याजदर खासै उच्च जस्तो मलाई लाग्दैन ।
कर्जा दिने व्यवस्था कस्तो छ ?
हामीले २० हजार रुपैयाँदेखी कर्जा दिन्छौँ । त्यसमा आवश्यकता हेरेर कर्जा लगानी गछौँ । नेपाल राष्ट्र बैंकले तोके अनुसार हामीले बिना धितो कर्जा लगानी गरिरहेका छौँ । विस्तारै धितो लिएर कर्जा दिने व्यवस्था पनि हुनेछ ।
बिना धितो कर्जा कति सम्म दिनुहुन्छ ?
अहिले हामीले बिना धितो २ लाख सम्म दिने गरेको छौँ । अधिकतम् ३ लाख सम्म दिने हाम्रो योजना छ ।
बिना धितो कर्जा डुब्ने खतरा कत्तिको हुन्छ ?
वास्तबमा लघुवित्तमा महिलाहरुको समूहको जमानीमा कर्जा लगानी गर्ने हुँदा डुब्ने खतरा हुँदैन । ग्रामिण भेगमा वास्तविक गरिबहरुले एक त कर्जा लिन डराउछन् भने अर्को तर्फ कर्जा लिए पनि तिर्नै पर्छ भन्ने भावना हुन्छ यसर्थ डुब्ने खतरा त्यति हुँदैन । तर पनि मलाई के लाग्छ भने कर्जा लगानी गर्दा ग्राहक पहिचान गर्नु एकदमै आवश्यक छ ।
आपतकालिन कर्जा दिने व्यवस्था छ कि छैन ?
हामीले आपतकालिन कर्जा पनि दिने गरेका छौँ । सदस्यहरुको आवश्यकताअनुसार निर्णय गराएर उपलब्ध गराउँछौँ ।
कुन क्षेत्रमा बढी लगानी गर्नु भएको छ ?
दूरदराजमा बस्ने गरिब महिला जो उद्यमी वा आत्मनिर्भर बन्न चाहान्छन, उनीहरुलाई बिशेष गरेर कृषि क्षेत्रमा बढी लगानी गरेका छौँ । सानो–सानो घरेलु उद्योग लगायतलाई आधार बनाएर हामीले कर्जा लगानी गर्ने गरेका छौँ ।
आफ्ना सदस्यहरुलाई कर्जा बाहेक अन्य सेवा सुविधा पनि केहि दिनुहुन्छ की ?
अहिले क्रेडिट प्लसको कुरा छ । सामाजिक उत्तरदायित्व लघुवित्तहरुले पनि बहन गर्नु पर्छ । अहिले ट्यावलेट, इबैंकिङ, ब्रान्चलेस बैंकिङ लगायतको कुरा पनि आएको छ । हामी पनि नयाँ प्रविधि अनुसारको बैंकिङ सिस्टममा जानु पर्छ । सदस्यहरुलाई अत्याधुनिक सेवा दिने विचारमा छौँ । कर्जाको सुरक्षणका लागि बीमा कार्यक्रम संचालन गरिरहेको छौं ।
आइएलएफसीओ माइक्रोफाइनान्सबाट कति मानिसहरुले प्रत्यक्ष सेवा पाइरहेका छन् ?
आइएलएफसिओको वर्तमान अवस्था हेर्ने हो भने करिब ८ हजार महिलाहरु यसमा आवद्ध हुनुहुन्छ । यसलाई शाखा सञ्जाल विस्तार गरेर अझै व्यापक मात्रामा धेरै नेपाली महिला दिदि बहिनीहरुलाई सेवा दिने विचार गरिरहेका छौँ ।
नेपालको आर्थिक समृद्धिमा लघुवित्तले पनि सहयोग गर्न सक्ला ?
लघुवित्तहरुमा करिब २४ लाख ग्रामिण भेगका विपन्न वर्गहरु आबद्ध छन् । लघुवित्तहरु अझै दुरदराजममा पुग्न सकेका छैनन भन्ने पनि कुरो उठेको छ । नेपालको ग्रामिण भेगको दुरदराजमा पुगेर विपन्न वर्गहरुमा अझै सेवा विस्तार तर्फ लघुवित्तहरुले ध्यान दिने हो भने नेपालको आर्थिक समृद्धिमा लघुवित्तले पनि अवस्य सहयोग गर्न सक्नेछ ।
लघुवित्तको छुट्टै नियामक निकायको आवश्यकता कत्तिको छ ?
लघुवित्तहरुको नियामक छुट्टै हुनु पर्छ भनेर पहिल्यै देखी उठेको कुरा हो । खास गरेर ‘घ’ वर्गको लघुवित्तको छुट्टै नियामक निकाय हुनु आवश्यक जस्तो मलाई लाग्दैन । अनुमति दिँदा सेवा र गुणस्तरलाई ध्यानमा राखेर लघुवित्त सञ्चालनका लागि अनुमति दिने हो भने यसलाई निमयन गर्न छुट्टै नियामक निकायको जरुरत पर्दैन ।
यस संस्थाको पुँजीको बारेमा वताइदिनोस न ।
आइएलएफसिओको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । हाम्रो बार्षिक साधारणसभाबाट यसैपाली ५ प्रतिशत डिभिडेण्ट दिने निर्णय गरेका छौँ । यो डिभिडेण्ट पछि हाम्रो संस्थाको चुक्ता पुँ्जी १० करोड ५० लाख रुपैयाँ पुग्ने छ ।
तपाईकोहरुको शाखा अलि कम रहेछन्, थप शाखा विस्तार गर्ने योजना बनाउनु भएको छैन ?
तपाईले वास्तबमै सहि प्रश्न गर्नु भयो । आइएलएफसिओ एउटा राष्ट्रिय स्तरको लघुवित्त भएका कारणले शाखा विस्तार गर्नै पर्ने छ । हामी शाखा विस्तार गर्ने योजना बनाइरहेका छौँ । यसै आर्थिक बर्ष भित्रमा कम्तिमा पनि ७ वटा शाखा विस्तार गर्ने हाम्रो योजना रहेको छ ।
कुन–कुन ठाउँमा शाखा विस्तार गर्दैहुनुहुन्छ ?
आइएलएफसिओको क्षेत्र राष्ट्र भर नै हो । राष्ट्रिय स्तरको लघुवित्त भएका कारणले हामीले सुदुरपश्चिम अन्तर्गतका स्थानहरुमा शाखा खोल्ने तयारी गरिरहेका छौँ । हाम्रो अहिले बिशेष पुर्वी पहाडी जिल्लाहरु अर्थात प्रदेश नम्बर १ मा बढी शाखाहरु रहेका छन् । यसलाई सन्तुलन कायम गर्न हामीले पश्चिम प्रदेश नम्बर ७ सम्म नै शाखा सञ्जालहरु विस्तार गर्ने योजना बनाएका छौँ ।
तपाईको विचारमा मूलुकको आर्थिक समृद्धिका लागि के गर्नुपर्छ ?
नेपालको आर्थिक समृद्धिका लागि पहिलो कुरा हरेक नेपालीहरु स्वरोजगार बन्नु आवश्यक छ । पछिल्लो समय नेपाली युवाहरु बैदेशिक रोजगारीमा धमाधम गइरहेको अवस्था छ । नेपाली युवाहरुले बिदेशी भूमिमा गएर पठाएको पैसा नै अहिले अर्थतन्त्रको ढुकढुकी बनेको छ । रेमिट्यान्सले अहिले आम्दानी त भइरहेको छ तर, रेमिटेन्सले नै देश सधै चल्छ भन्न सकदैन । किनकी यो केवल सर्ट टर्मका लागि मात्र हो । रेमिटेन्सले लामो समयसम्म देश चलाउन सक्दैन । तसर्थ हरेक नेपाली युवाहरुलाई स्वरोजगार बनाउनका लागि सीपमूलक तालिमहरु दिनुपर्छ । बैदेशिक रोजगारीमा जान लागेका युवालाई रोकर स्वदेशमै उद्यमशील बनाउन हामी सबै लाग्ने हो भने नेपालको आर्थिक समृद्धि सम्भव छ ।


