Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

उत्पादनमा वाणिज्य बैंकलाई उछिन्दै विकास बैंकहरु

२०७३ चैत्र ८ गते

नेपाल राष्ट्र बैंकबाट ख वर्गका मान्यताप्राप्त वित्तीय संस्था नै विकास बैंकहरु हुन् । खासगरी नेपालमा वित्तीय साक्षरता, पहुँच र ग्रामिण क्षेत्रमा बस्ने नागरिकको जीवनस्तर उकास्न विकास बैंकहरुको योगदान उच्च मानिन्छ । यसर्थ मुलुकको आर्थिक तथा सामाजिक विकासमा विकास बैंकहरुको निकै नै ठूलो भूमिका रहेको छ । 

ग्रामीण क्षेत्रका जनताहरुको आर्थिकस्तर माथि उठाउन, त्यस क्षेत्रमा व्यावसायिकता तथा उद्यमशीलताको विकास गर्न विशेषगरी वाणिज्य बैंकहरुको भन्दा बढी योगदान क्षेत्रीय तथा राष्ट्रियस्तरका विकास बैंकहरुकै हुन्छ । क्षेत्रीयस्तरका विकास बैंकहरु स्थानीयस्तरमा नै सञ्चालन हुने र स्थानीय जनताको सेयर रहने हुनाले पनि यस्ता विकास बैंकहरुमा ग्राहकको अपनत्व बढी रहेको हुन्छ । सोही कारण राष्ट्रियस्तरका ठूला विकास बैंक र फाइनान्स कम्पनीहरु समस्याग्रस्त भए पनि क्षेत्रीयस्तरका विकास बैंकहरुमा यस्ता समस्या खासै देखिने गरेको छैन । त्यसैले पनि क्षेत्रीयस्तरमा विकास बैंकहरुलाई ग्रामीण क्षेत्रका जनताले बढी नै मन पराएका छन् भने सोही आधारमा यस्ता बैंकहरु सफल पनि भएका छन् । 

क्षेत्रीयस्तरका विकास बैंकहरुले निक्षेप तथा कर्जा स्थानीयस्तरमा परिचालन गर्ने र एउटै व्यक्ति तथा संस्थाहरुको ठूलो परिमाणमा कर्जा परिचालन गर्नेभन्दा पनि सानो—सानो परिमाणको कर्जा धेरै जनामा प्रवाह गर्ने हुँदा कर्जाको जोखिम कम रहेको हुन्छ । विकेन्द्रित कर्जा, कम जोखिम र ग्राहकले पनि धेरै विश्वास गर्ने हुँदा पनि पछिल्लो समय क्षेत्रीयस्तरका विकास बैंकहरुलार्ई निकै हदसम्म सफल मान्न सकिन्छ । राष्ट्रियस्तरका वाणिज्य बैंक र विकास बैंकहरुको तुलनामा केही हदसम्म क्षेत्रीय बैंकहरुको सेयर मूल्य उच्च हुनु, सेयरधनीहरुलाई राम्रो प्रतिफल दिनु र अनुत्पादकभन्दा पनि उत्पादनमूलक क्षेत्रमा बढी अनुपातमा कर्जा प्रवाह गर्नुले पनि यी बैंकहरुलाई सफल मानिएको हो । राष्ट्र बैंकले पछिल्लो समय विकास बैंकहरुमा पनि कर्जा तथा निक्षेपको व्याजमा समेत कडाइ गर्दै आएको छ । 

विपन्न वर्गमा पनि विकास बैंकहरुले राष्ट्र बैंकको नीति मानेर लगानी गरेका छन् । त्यसैगरी कृषि तथा उत्पादनमूलक क्षेत्रमा यस्ता संस्थाको लगानी उल्लेख्यमात्रामा बढ्दै गएको देखिन्छ । वाणिज्य बैंकहरुमा लागू भएको औसत पाँच प्रतिशतको स्प्रेडदर विकास बैंकहरुले कार्यान्वयन गरेका छन् । अहिले विकास बैंकहरुमा निक्षेप र कर्जाको ब्याजदरमा अझै औसतमा सात प्रतिशतको ब्याजदर अन्तर (स्प्रेडदर) रहेको छ । स्प्रेडदर बढी हुँदा वाणिज्य बैंकहरुको तुलनामा विकास बैंकहरुमा कर्जाको ब्याज केही हदसम्म उच्च रहेको छ । मर्जरका कारण संख्यात्मकरुपमा घट्दै गएको विकास बैंकहरुको संख्या हाल चार दर्जनको हाराहारीमा सीमित रहेको छ । यीमध्यै प्राय सबै विकास बैंकहरुले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेकोमा एकाधबाहेक धेरैजसो बैंकहरुमा सात प्रतिशत भन्दा बढीको स्प्रेडदर देखिएको छ । 
यसबाहेक मुलुकमा बैंकिङ चेतना जगाउनेदेखि ग्रामिण जनतामाझ बैंकिङ सेवाकोे बानी बसाल्नमा विकास बैंकहरुको महत्वपूर्ण भूमिका रहेको छ । २०/२५ वर्ष पहिले मुलुकमा ३/४ वटा मात्र बैंक थिए, ती बैंकहरु पनि शहर केन्द्रीत थिए । सामान्य नागरिकको बैंकमा पहुँच थिएन, जब विभिन्न जिल्लाहरुमा विकास बैंकहरु खुले तत्पश्चात ती बैंकहरुले विभिन्न ग्रामिण स्थानमा आधुनिक बैंकिङ सेवा घर दैलोमा पु¥याउने काम गरे । ती बैंकहरुका कारण विपन्न, साना कृषक तथा उद्यमीहरुले सहजै सुपथ मुल्यमा ऋण सुविधा पाएका छन् । बचतकर्ताहरुले पनि बचत सुरक्षित राख्न पाएका छन् । विकास बैंकहरुले स्थानीय स्तरमै रोजगारी सिर्जना गरेका छन् । मुलुकभित्रका चार दर्जन वटा विकास बैंकले १० हजारभन्दा बढीलाई रोजगारी दिएका छन् । सरकारलाई करोडांै राजस्व बुझाएका छन् । दुई खर्ब बढी निक्षेप संकलन र एक खर्ब ६२ अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन्, जसमध्ये सात अर्बभन्दा बढी विपन्न वर्ग र क्षेत्रमा कर्जा प्रवाह भएको देखिन्छ ।