पोखराको सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स मर्ज भएपछि सोमबारबाट अर्को एउटा राष्ट्रिय स्तरको विकास बैंक थपिएको छ । सिटी र ओम मर्ज भएपछि ओम डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट अर्को विकास बैंक थपिएको हो । सोमबारबाटै ओम डेभलोपमेन्ट बैंकले कारोबार पनि सुरु गरेको छ ।
पोखरा उप–महानगरपालिकाद्धारा अघि सारिएका प्लास्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा कार्यक्रममा बैंकिङ पार्टनरको रुपमा काम गर्ने तथा भूकम्पपीडितलाई सहुलियत दरको आवास कर्जा आह्वानपत्र प्रदान गरी कार्यक्रम समुद्घाटन गरिएको बैंकका अध्यक्ष सुशीलकुमार गोसलीले जानकारी दिए । बैंकका सिईओ विश्वमोहन अधिकारीकाअनुसार संयुक्त कारोबारपछि बैंकको चुक्ता पुँजी १ अर्ब ५ करोड, निक्षेप १० अर्ब ८२ करोड, कर्जा ९ अर्ब २२ करोड पुगेको छ भने शाखा २५ वटा, एटीएम तीनवटा, कर्मचारी २ सय १९ जना, ग्राहक संख्या करिब १ लाख तथा सेयरधनी संख्या १६ हजार २ सय ७५ भएको छ ।
निक्षेपको आधारमा ओम डेभलपमेन्ट बैंक लिमिटेडमा नेपालका विकास बैंकमध्ये अग्रहणी विकास बैंक बन्न सफल भएको अधिकारीले दाबी गरे । बैंकको अध्यक्षमा सुशीलकुमार गोसली, प्रमुख कार्यकारी अधिकृतमा विश्वमोहन अधिकारी र डेप्युटी सिईओमा बुद्धि मल्ल रहेका छन् । संयुक्त कारोबारपछि बैंकको प्रधान कार्यलय चिप्लेढुंगा, पोखरामा रहेको छ ।