एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९७ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ दशमलव ८९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्टले ७५ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
चार अर्ब ६० करोड ६४ रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा १८ दशमलव ९२ प्रतिशतले वृद्धि गरी ९० अर्ब ४३ करोड ६६ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ३१ दशमलव ९३ प्रतिशतले बढाएर ७२ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २१ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ७६ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २६ दशमलव ६८ प्रतिशतले बढेर एक अर्ब ४८ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
दोस्रो त्रैमासमा तीन करोड ५३ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा नौ करोड ६५ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा चार अर्ब ८७ करोड ९२ लाख रुपैयाँ राखेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०३ प्रतिशतले बढेर शुन्य ७० प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ति एक दशमलव २४ प्रतिशतले घटेर १३ दशमलव २५ प्रतिशत कायम भएको छ । पुस मसान्तसम्ममा एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ४२ दशमलब ९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४ दशमलब ८४ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय सात दशमलब ७९ रुपैयाँ र तरलता अनुपात ३९ दशमलव ५५ प्रतिशत रहेको छ ।