लक्ष्मी बैंकले न्युन लागत आवास कर्जा कार्यक्रमको विस्तार गर्ने भएको छ । बैँकले आफ्नो चौधौं वार्षिकोत्सवको अवसर पारेर सो कार्यक्राम विस्तार गर्न लागेको जानकारी दिएको हो । कार्यक्रम अन्तर्गत बैँकले सेवा प्रा.लि सँगको सहकार्यमा विराटनगर र कोहलपुरमा क्रमशः १२० र १५० वटा न्यून लागतका घर निर्माण गर्ने परियोजना सञ्चालन गर्ने जनाएको छ ।
यी दुई स्थानमा सञ्चालन गर्न लागिएको परियोजनाका लागि सेवा प्रा.लि. र लक्ष्मी बैंक विच शुक्रबार छुट्टा छुट्टै समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताका अनुसार सेवा प्रा.लि. ले सिफरिस गरि पठाएका न्यून आय भएका व्यक्तिहरुलाई लक्ष्मी बैंकले प्रति व्यक्ति अधिकतम ४ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने छ भने वार्षिक ७.५% को सुलभ व्याजदरमा कुनै पनि प्रशासनिक शुल्क नलिईकनै सो कर्जा प्रदान गर्नेछ । यस्तो कर्जा लिने ऋणीहरुले ७ वर्षको सरल मासिक किस्तावन्दीमा कर्जा भुक्तानी गर्ने सुविधा प्राप्त गर्नेछन् । यस कार्यक्रमबाट न्यून आय भएका तथा बैंक समक्ष सहज पहुँच नभएका विपन्न घर–परिवार समक्ष सहज रुपमा घर कर्जा योजना पुग्ने भएको हुँदा विपन्न परिवारहरु यसबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
लक्ष्मी बैंकले विगत २०१३ देखि नै न्यून लागत आवास कर्जा कार्यक्रम सञ्चालन गर्दे आई रहेको छ । जस अन्तर्गत तानसेन र पोखरामा न्यूनआय भएका घर–परिवार लक्षित ‘न्यून लागत आवास कर्जा’ प्रदान गरि सो कर्जा रकमबाट ३५० भन्दा बढी घरहरु निर्माण भैसकेका छन् ।