२०७३ माघ २४ गते

९० करोड नाघ्यो कृषि विकास बैंकको मुनाफा, निष्कृय कर्जा ३.८२ प्रतिशतमा झर्यो

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कृषि विकास बैंक लिमिटेडले ९० करोड ६६ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलना १३३.९६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कृषि विकास बैंकले जम्मा ३८ करोड ७५ लाख २९ हजार मुनाफा आर्जन गरेको थियो । 

बैंकले सञ्चालन मुनाफामा १६१.५३ र खुद व्याज आम्दानीमा ५६.१९ प्रतिशतको वृद्धि हासिल गरेको छ । जसअनुसार, बैंकको सञ्चालन मुनाफा २६ करोड रुपैयाँबाट बढेर ६८ करोड रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी एक अर्ब ९९ करोड १० लाख ३५ हजार रुपैयाँबाट बढेर तीन अर्ब १० करोड ९८ लाख २२ हजार रुपैयाँ पुगेको छ । 

यो अवधिमा बैंकले ८७ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब पाँच करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले निक्षेप संलन गर कर्जा लगानीमा क्रमशः ६.८९ र २८.८२ प्रतिशत वृद्धि हासिल गरेको हो । गत आर्थिक वर्षको पहिलो छ महिनामा कृषि विकास बैंकले ८२ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जसअनुसार बैंकको कर्जा निक्षेप अनुपात ८२.९७ प्रतिशत रहेको देखिन्छ ।

यो अवधिमा कृषि विकास बैंकले चुक्तापुँजी ४४.४४ प्रतिशत प्रगति गर्दै चार अर्ब ९४ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको पुस मसान्तमा बैंकको चुक्तापुँजी तीन अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । निष्कृय कर्जा ५.३६ प्रतिशतबाट घटेर ३.८२ प्रतिशत कायम भएको बैंकले जगेडाकोषमा नौ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने प्रोभिजनमा ८६ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले ६५ करोड ४० लाख ५० हजार रुपैयाँ खराबकर्जा उठाएको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ दुई सय ८४ रुपैयाँ ४३ पैसा रहेको छ ।