मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो छ महिनामा पाँच करोड २१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकमो छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.४० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो छ महिनामा मितेरीले तीन करोड ९७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको खुद नाफामा यो बर्ष एक करोड २४ लाख रुपैँयाले वृद्धि भएको हो ।
यो अवधिमा मितेरीले निक्षेप संकलन एक अर्ब ९० करोड ६१ लाख रुपैयाँबाट बढाएर दुई अर्ब ३८ करोड रुपैयाँ पुर्याएको छ । बैंकले कर्जा प्रवाह पनि एक अर्ब ७० करोड रुपैयाँबाट बढाएर दुई अर्ब १६ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ । बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा दुई करोड चार लाख रुपैयाँ बढेर आठ करोड ८८ लाख रुपैँया पुगेको छ ।
सुनसरीमा केन्द्रीय कार्यालय रहेको बैंकको चुक्ता पूँजी ३७ करोड ४३ लाख रुपैयाँ रहेको छ । गत बर्षभन्दा बैंकको पूँजी १६ करोड ३१ लाख रुपैयाँ बढेको हो । बैंकको जगेडा कोष गत बर्ष यसै अवधिमा आठ करोड २५ लाख रुपैयाँ रहेकामा ५२.१८ प्रतिशत बढेर १२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । बैंकले समिक्षा अवधिमा निष्कृय कर्जा अनुपात शुन्य दशमलव २४ प्रतिशतबाट घटाएर शुन्य दशमलव ११ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ८८ पैसा, प्रतिसेयर नेटनर्थ १३३ रुपैयाँ ५७ पैसा, पूँजीकोष अनुपात ६.५० प्रतिशत तथा मूल्य आम्दानी अनुपात १७.७५ गुणा रहेको छ ।