सेयर बजारले यो साताको सुरुवात गिरावटबाट गरेको छ । कारोबार सुरु भएको डेढ घण्टामा १३५४.६९ अंकसम्ममा झरेको बजार पछिल्लो अवधिमा सम्हालिँदै १३६४.५० अंकमा कायम भएर बन्द भएको छ । समग्रमा, सेयर बजार १७.९५ अंकले घटेको हो ।
आइतबारको बजार बीमा र बैंकिङ समूहले घटाएका हुन् । यी समूह क्रमशः १२६.५५ र २०.७२ अंकले घटेका छन् । विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य पनि गिरावटलाई साथ दिँदै क्रमशः ४.०२, ०.३८, ५.७२ र ९.५४ अंकले झरेका छन् । होटल समूह भने ७.८९ अंकले उकालो लागेको छ ।
निरन्तर ओरालो लागेको बजारले लगानीकर्तामा निराशा झन्झन् बढिरहेको पाइएको छ । केही समयदेखि ५० करोडमाथिको कारोबार हुने गरेको बजारमा आइतबार २६ करोडको मात्रै काराबार भएको छ । दिनभरिमा १२२ वटा कम्पनीको छ लाख ३३ हजार सात सय ७८ कित्ता सेयर तीन हजार दुई सय ८२ पटक खरिदविक्री हुँदा कुल २६ करोड १४ लाख ३९ हजार तीन सय ५७ रुपैयाँ पुँजी परिचालन भएको हो ।
कुल कारोबारमध्ये, डिप्रोक्स डेभलपमन्ट बैंकको सबैभन्दा धेरै तीन करोड ३९ लाख ९१ हजार एक सय आठ रुपैयाँको कारोबार भएको छ भने प्रभु बैंक र नेपाल लाइफ इन्स्योरेन्सको डेढ करोडमाथिको सेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पनि एक करोडमाथिको कारोबार भएको छ । जलविद्युत् लगानी तथा विकास कोष, स्टान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक र नविल बैंकको क्रमशः ९२ लाख ४१ हजार, ८८ लाख ५८ हजार, ८४ लाख ३१ हजार, ७४ लाख ७७ हजार, ७१ लाख ८८ हजार र ७१ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार २५ वटा कम्पनीका सेयरधनीले अधिकतम ९.९८३१ प्रतिशतदेखि न्युनतम ०.०५९७ प्रतिशत सम्मका दरले आफ्नो सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै आईएलएफसीओ माइक्रोफाइनान्स र सबैभन्दा थोरै नविल व्यालेन्स फण्डका सेयरधनीले कमाएका छन् । नविल इक्विटी फण्ड, फस्र्ट माइक्रोफाइनान्स, डिप्रोक्स डेभलपमेन्ट बैंक र नेरुडे लघुवित्तका सेयरधनीले क्रमशः ८.४, ८.१४, ७.९२ र ६.५८ प्रतिशतका दरले कमाएका छन् । सहयोगी विकास बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, वरियन्टल होेटल्स, यती डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, अपि पावर कम्पनी, सप्तकोसी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
सिर्जना फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.०९ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा काबेली विकास बैंक, सूर्या लाइफ इन्स्योरेन्स, कालिका माइक्रोक्रेडिट, लक्ष्मी लघुवित्त र अरुण फाइनान्सका सेयरधनीले क्रमशः ८.१८, ७.६१, ६८७, ६.५७ र ५.७८ प्रतिशतका दरले सम्पत्ति घटाएका छन् । प्राइम बैंक, सनराइज बैंक, प्रिमियर इन्स्योरेन्स, नेपाल एसबीआई बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।




