Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘तरलता संकटमा बैंकहरु दोषी’ : समाधान– ‘उत्पादन क्षेत्रमा लगानी बढाऊ’

admin २०७३ माघ २३ गते
सेयर:

नवराज कुँवर– पछिल्लो समय वित्तीय बजारमा चरम बहसमा रहेको एउटा विषय हो, ‘लगानीयोग्य पुँजी (तरलता) अभाव ।’ खासगरी वाणिज्य बैंकहरु भनिरहेका छन्, ‘बजारमा तरलता संकट चुलिएको छ, हामी अब लगानी गर्न सक्ने अवस्थामै छैनौँ ।’ तर यता केन्द्रीय बैंकको दाबी छ, ‘वित्तीय प्रणालीमा पर्याप्त तरलता छ ।’

बैंकहरुकै कारण समस्या
आर्थिक क्षेत्रका विश्लेषकहरुले पनि मिश्रित प्रतिक्रिया दिइरहेका छन् । यसको मतलव ‘दाल मे कुछ काला है ।’ अर्थात वित्तीय बजारमा तरलताको संकट चुलिदै गएको सत्य हुन सक्छ तर यसको जिम्मेवार को हो भन्ने सवाल भने महत्वपूर्ण रहेकोमा विश्लेषकहरु पनि करिब–करिब एकमत देखिन्छन् ।

यतिबेला तरलता नभएको भन्दै अधिकांश बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह रोकेका छन् । बैंक तथा वित्तीय संस्थाले मनपरी ढंगले कर्जा प्रवाह गरेकै कारण तरलताको संकट देखिएको पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीको तर्क छ । ‘बैंक तथा वित्तीय संस्थाले अनुत्पादक क्षेत्रमा गरेको उच्च लगानी गैरकानूनी त होइन्’, क्षेत्रीले बैंकिङ खबरसँग भने, ‘तर अनुत्पादक क्षेत्रमा गरेको उच्च लगानी गरेकै कारण तरलता संकट आएको कुरा भने अस्वीकार गर्न सकिदैन ।’ पुँजी वृद्धिको निर्देशन दिँदा त्यसका विकल्पहरुमा राष्ट्र बैंक लचिलो भएकाले पनि अहिलेको अवस्था आएको उनको भनाई छ ।

तरलताको समस्या अल्पकालीन भए पनि यसले दीर्घकालीन रूपमा अर्थतन्त्रलाई असर पार्ने अर्थविदहरुको भनाई छ । किनकी यसको असरस्वरुप दीर्घकालीन मूल्यवृद्धि हुने निश्चितजस्तै छ । जसका कारण जनताले दुख पाउने छन् । ‘तरलता अभावको समस्या बैंकहरुकै गल्तीका कारण निम्तिएको हो’, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले भने, ‘यसको जिम्मेवारी बैंकले किन नलिने ? बैंकरले ल्याएको समस्याको भार जनताको टाउकोमा थोपर्नुहुँदैन ।’ बैंकहरूले नै अनुमान गर्न नसकेका कारण तरलता समस्या आएको उनको भनाई छ ।

राष्ट्र बैंकको दाबी
नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाले भविष्यभन्दा बढी वर्तमानको फाइदालाई नै हेरेकाले समस्या बढेको बताइरहेको छ । उसले अहिलेको अवस्था आउनुमा बैंक तथा वित्तीय संस्था नै बढी जिम्मेवार रहेको बताएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सार्वजनिक कार्यक्रमहरुमै भनिरहेका छन्, ‘केन्द्रीय बैंकलाई वाणिज्य बैंकहरुले जिस्काइरहेका छन् ।’ किनकी पछिल्लो पटक अनुत्पादक क्षेत्रमा देखिएको वाणिज्य बैंकहरुको लगानी केन्द्रीय बैंकको प्राथमिकताको विपरित रहेको उनको भनाई छ । अनुत्पादक क्षेत्रमा बैंकहरुको उच्च लगानीप्रति संकेत गर्दै उनले भनेका छन्, ‘गलत तरिकाबाट हौसिएर बढी नाफाको लोभमा कसैले जनताको निक्षेपलाई गलत तरिकाबाट लगानी गर्छ भने केन्द्रीय बैंकले त्यस्तालाई छाड्दैन । त्यो निश्चित छ । किन भने अहिले निक्षेपभन्दा लगानी जुन रुपमा बढ्यो, यसमा हामी अत्यन्तै सजक छौँ ।’
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी पनि बैंक तथा वित्तीय संस्थाको गल्तीकै कारण अहिलेको अवस्था आएको दाबी गर्छन् । ‘बैंक तथा वित्तीय संस्थाले सम्पत्ति तथा दायित्व (एसेट–लायब्लीटी) राम्रोसँग व्यवस्थापन गर्न नसकेकै कारण अहिलेको अवस्था आएको हो ।’ उनले भने, ‘अब उनीहरुले त्यसलाई सही ढंगले व्यवस्थापन गर्नुपर्यो ।’

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डीत भने बैंकहरुको समस्या निर्देशित तरलता कायम गर्नेमा नभइ लगानीयोग्य रकममा भएकाले अनुत्पादक क्षेत्रमा लगानी घटाउनुपर्नेमा जोड दिन्छन् ।  ‘बैंकहरुले उत्पादनशील क्षेत्रमा कर्जा बढाउनुपर्छ’, उनले बैंकिङ खबरसँग भने, ‘अनुत्पादक क्षेत्रमा लगानी उच्च भएपछि जोखिमका साथै वित्तीय प्रणालीमा अहिलेकोजस्तो समस्या आउने त निश्चित नै हो ।’

केन्द्रीय बैंकको लचकता
खासगरी पुँजी वृद्धि प्रयोजनका लागि निश्चित सीमाभन्दा बढी रकम बैंकबाट कर्जा ल्याउन नपाउने व्यवस्था गर्नुपर्ने व्यवस्थामा केन्द्रीय बैंक लचिलो भएका कारण अहिलेको समस्या आएको अर्थविदहरुको भनाई छ । अहिले अधिकांश बैंकका सञ्चालकहरुले अर्को बैंकबाट ऋण लिएर हकप्रद सेयरमा लगानी गरिरहेका छन् । त्यसैले यताको बैंकका सञ्चालकले उताबाट र उताको बैंकका सञ्चालकले यता बैंकबाट ऋण ल्याएर पुँजी वृद्धि गरिरहेको कुरा केन्द्रीय बैंकका अधिकारीहरु जानकार नै छन् ।   

सीसीडी रेसियोमा समस्या 
अहिले सीसीडी रेसियोमा मुख्य समस्या रहेका बैंकहरुको भनाई छ । ‘धेरै बैंकहरुले कर्जा प्रवाहमा रोक लगाएका छन्’, नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले भने, त्यसैले तरलता समस्या अब धेरै दिन कायम रहँदैन ।’

उता बैंकरहरुले भने तरलता अभावले ऋण प्रवाह रोक्नु परेको जनाउँदै आएका छन् । ‘अधिकांश बैंकहरुले कर्जा प्रवाह रोकेका छन्,’ संघका अध्यक्ष अनिलकेशरी शाहले भने । यद्यपि तरलता अवस्थामा सुधारको संकेत देखिएकाले विद्यमान समस्या छिट्टै समाधान हुने उनले बताए । ‘अहिलेको समस्या सीसीडी रेसियोमा छ । त्यसकारण बैंकहरुले निक्षेपको ब्याज बढाएका हुन् । आउँदा दिनमा सीसीडी रेसियोको दबाब पनि कम हुनेछ ।’

तरलतामा सर्टफल
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार पछिल्लो समयमा तरलतामा अलिकति दबाब परेको स्थिति हो । यसको मतलब, नेपाल राष्ट्र बैंकले तरलता कति छ भनेर बजारमा अनुगमन गर्ने एक खालको संयन्त्र छ, जसलाई आधार मानेर हेर्दा गत हप्ता अलिकति सर्टफल देखिएको केन्द्रीय बैंकका प्रवक्ता पण्डितको भनाई छ । उनका अनुसार रेमिट्यान्स र सरकारी खर्चका कारण तरलता संकटमा केही सुधार देखिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।