मिसन डेभलपमेन्ट बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासमा तीन करोड ६६ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मिसनले एक करोड ७७ लाख ८९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
१९ करोड ४९ लाख २५ हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकको सञ्चालन मुनाफा पनि दुई गुणाले बढेको छ भने खुद व्याज आम्दानी ६१.९५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको छ महिनामा दुई करोड ७९ लाख ६८ हजार रुपैयाँ रहेको मिसनको सञ्चालन मुनाफा चालू आर्थिक वर्षको छ महिनामा पाँच करोड ७६ लाख ११ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले सात करोड ६४ लाख २६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । जबकि, गत आर्थिक वर्षको सोही अवधिमा मिसनले चार करोड ७१ लाख ९० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
यो अवधिमा मिसन डेभलपमेन्ट बैंकले दुई अर्ब ६२ करोड ६३ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २५ करोड ७० लाख ५२ हजार रुपैयाँ कर्जा लगानी गरेको हो । त्यस्तै, बैंकको जगेडा कोष ८१ प्रतिशतले बढेर १० करोड ४० लाख रुपैयाँ पुगेको छ भने निष्कृय कर्जा पनि गत आवको तुलनामा बढेर शून्य दशमलव ३७ प्रतिशत पुगेको छ । बैंकको पुँजीकोष अनुपात १२.२७ प्रतिशत, प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ६१ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार पाँच सय ५२ रुपैयाँ ५४ पैसा र तरलता अनुपात २१.५२ प्रतिशत रहेको छ ।



