Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चार वित्तीय संस्थालाई एकैपटक खरिद गर्न लागेको कुमारीले तय गर्यो स्वाप रेसियो

२०७३ माघ २० गते

कुमारी बैंक लिमिटेडले चार वटा वित्तीय संस्थालाई एक्वायर गर्ने प्रक्रियालाई तीव्र रुपले अघि बढाएको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड, पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, महाकाली विकास बैंक लिमिटेड र काँक्रेबिहार विकास बैंक लिमिटेडलाई एक्वायर गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाइसकेको बैंकले एक्विजिसनका लागि स्वाप रेसियो तोकेको छ । बैंकहरुको डिडिए मूल्याङ्कनबाट आएको सेयर स्वाप अनुपात संयुक्त प्राप्ति समितिको बैठकमा छलफल गरी चार वटै सस्थालाई प्रति सेयर रु.८५ को दरले एक्वायर गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

एनसीसी बैंकसँगको मर्जर तोडिएपछि कुमारीले आफै चुक्ता पूँजी पुर्याउन भन्दै यसअघि ५० प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरिसकेको छ । हाल कुमारीको दुई अर्ब ६९ करोड रुपैंया चुक्ता पूँजी रहेको छ । हकप्रद निष्काशनपछि बैंकको पुँजी चार अर्ब हाराहारीमा पुग्नेछ । मर्जरअघि नै काष्टमण्डप डेभलपमेन्ट बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गर्नेछ । काष्ठमण्डपले जारी गर्ने २५ प्रतिशत हकप्रद तथा काष्ठमण्डपले यसअघि एक्वायर गर्ने सम्झौता गरेका महाकाली विकास, पश्चिमाञ्चल फाइनान्सको समेत गर्दा एक अर्ब ७० करोड रुपैयाँ पुँजी थपिनेछ । काष्टमण्डपको चुक्ता पूँजी ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ भने महाकाली विकास बैंकको चुक्ता पूँजी १२ करोड ७२ लाख रुपैयाँ रहको छ । त्यस्तै पश्चिामाञ्चल फाइनान्सको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ भने काक्रे विहार विकास बैंकको ६ करोड रुपैयाँ पूँजी रहेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी सवा छ अर्ब रुपैयाँ पुग्नेछ । एक्वायरपछि बन्ने संस्थाको निक्षेप ५० अर्ब र कर्जा ४१ अर्ब रुपैयाँ पुग्ने छ । यसैगरी, देशभर ८० वटा शाखा पुग्नेछन् ।