श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । एभरेष्ट फाइनान्स लिमिटेडसँग मर्जर भएर बुधबारदेखि कारोबार सुरु गर्न लागेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२ दशमलव ८९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा श्री इन्भेष्टमेन्टले एक करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।
२४ करोड ३१ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले निक्षेपमा १० दशमलव ३० प्रतिशतले वृद्धि गरी एक अर्ब ९० करोड ६० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ २२ दशमलव ५४ प्रतिशत प्रतिशतले बढाएर एक अर्ब ६३ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी ६६ दशमलव ५५ प्रतिशतले बढेर चार करोड ५७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८४ दशमलव ८४ प्रतिशतले बढेर ३ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
निष्कृय कर्जा शुन्य दशमलव २४ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १३ दशमलव ३७ प्रतिशत रहेको फाइनान्सले जगेडाकोषमा १० करोड ४५ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३१ दशमलव १० गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५८ दशमलव ०२ रुपैयाँ रहेको छ ।


