Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी सनराइज बैंकको नाफामा उछाल, पहिलो त्रैमासमै ६५ करोडभन्दा बढी आर्जन

२०८३ कार्तिक १६ गते

बैंकिङ खबर / लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै ६५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा बैंकको नाफा झण्डै दोब्बर भएपछि पहिलो त्रैमासिक वित्तीय नतिजामा उल्लेख्य सुधार देखिएको हो ।

बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म खुद नाफा ६५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । यस आधारमा एक वर्षको अवधिमा बैंकको खुद नाफा ९६.६ प्रतिशतले बढेको देखिन्छ ।

नाफा वृद्धिको प्रभाव प्रतिसेयर आम्दानीमा पनि परेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ५ रुपैयाँ ४६ पैसा रहेको प्रतिसेयर आम्दानी चालु वर्षको सोही अवधिमा ९ रुपैयाँ ७६ पैसा पुगेको छ । यसले बैंकको प्रतिशेयर कमाइमा सुधार आएको देखाउँछ ।

तर बैंकको नाफा वृद्धिसँगै ब्याज आम्दानीमा भने त्यही अनुपातको विस्तार देखिँदैन । समीक्षा अवधिमा खुद ब्याज आम्दानी २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ७१ करोड रुपैयाँभन्दा सामान्य बढी हो । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ७ करोड २३ लाख रुपैयाँ रहेको छ भने कुल सञ्चालन आम्दानी ३ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको व्यवसायको आकार भने ठूलो रहेको छ । असोज मसान्तसम्म बैंकमा ४ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ निक्षेप रहेको छ । सोही अवधिमा बैंकले ३ खर्ब २७ अर्ब १९ करोड रुपैयाँ कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकको कुल सम्पत्ति ५ खर्ब ३८ अर्ब २८ करोड रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ ।

यद्यपि, बैंकका लागि कर्जा गुणस्तर व्यवस्थापन चुनौतीकै रूपमा देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ५.४२ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर ५.५८ प्रतिशत पुगेको छ । नाफा बढेको अवधिमै खराब कर्जाको अनुपातसमेत उकालो लागेकाले कर्जा असुली र जोखिम व्यवस्थापनमा बैंकको ध्यान आवश्यक देखिन्छ । लक्ष्मी सनराइज बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.८९ गुणा रहेको छ ।

 

Ad