Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्त सुधारका उपाय खोज्दै बीएफआईएनको राष्ट्रिय सम्मेलन आज

२०८३ आश्विन २३ गते

बैंकिङ खबर / नेपालको लघुवित्त क्षेत्रमा देखिएका समस्या, कर्जाको गुणस्तर सुधार र संस्थागत दिगोपनका उपायबारे छलफल गर्न आज शुक्रबार, असोज २३ गते ललितपुरमा तेस्रो बीएफआईएन वार्षिक लघुवित्त सम्मेलन–२०२६ आयोजना हुँदैछ । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) र नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन (एनएमबीए) को सहकार्यमा ग्वार्कोस्थित होटल रोयल ट्युलिपमा सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा लघुवित्त संस्थाका सञ्चालक, वरिष्ठ व्यवस्थापक, नियामक निकायका प्रतिनिधि तथा वित्तीय क्षेत्रका विज्ञ सहभागी हुनेछन् । लघुवित्त संस्थाले भोगिरहेका चुनौती पहिचान गर्ने, कर्जा असुली सुधार गर्ने र वित्तीय सेवालाई थप प्रभावकारी बनाउने उपायबारे छलफल गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

कर्जाको गुणस्तर र ऋणीको समस्यामा छलफल

नेपालको लघुवित्त क्षेत्रले ग्रामीण तथा न्यून आय भएका समुदायमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ । तर, कर्जा असुलीमा कठिनाइ, ऋणीको भुक्तानी क्षमता, एकभन्दा बढी संस्थाबाट कर्जा लिने प्रवृत्ति र संस्थाको वित्तीय अवस्थाजस्ता विषय यस क्षेत्रका प्रमुख चुनौती बनेका छन् ।

सम्मेलनमा कर्जाको गुणस्तर सुधार, जोखिम व्यवस्थापन, ग्राहक संरक्षण र वित्तीय अनुशासन कायम गर्ने उपायबारे छलफल हुनेछ । कर्जा पुनर्संरचना, संस्थाको सञ्चालन दक्षता बढाउने र सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका विषय पनि छलफलमा समेटिनेछन् ।

लघुवित्त संस्थाले सामाजिक उद्देश्य पूरा गर्नुका साथै वित्तीय रूपमा दिगो रहनुपर्ने भएकाले कर्जा विस्तार र जोखिम नियन्त्रणबीच सन्तुलन कायम गर्ने विषयलाई महत्त्वका साथ हेरिएको छ ।

लघुवित्तमा डिजिटल प्रविधि र एआईको प्रयोग

सम्मेलनमा डिजिटल प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट लघुवित्त सेवा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुनेछ । प्रविधिको प्रयोगले ग्राहकको आवश्यकता पहिचान, कर्जा जोखिम मूल्यांकन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्ने सम्भावना छ ।

यद्यपि, डिजिटल सेवा विस्तारसँगै साइबर अपराध, अनलाइन ठगी र ग्राहकको व्यक्तिगत तथा वित्तीय विवरणको सुरक्षासम्बन्धी जोखिम पनि बढ्न सक्छन् । यस विषयमा सम्मेलनमा छुट्टै सत्र सञ्चालन गरिनेछ । नेपाल प्रहरीको साइबर ब्युरोका प्रतिनिधि तथा प्रविधि क्षेत्रका विज्ञले वित्तीय अपराधका जोखिम र सुरक्षाका उपायबारे छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

बंगलादेशको अनुभवबाट सिक्ने प्रयास

सम्मेलनको विशेष सत्रमा बंगलादेशको चार दशकभन्दा लामो लघुवित्त अनुभवबाट नेपालले सिक्न सक्ने विषयमा छलफल हुनेछ । उक्त सत्रमा बंगलादेशको ढाकास्थित ग्रामीण बैंकका उपमहाप्रबन्धक ए. के. एम. सज्जाद हुसेन सहभागी हुनेछन् ।

छलफलमा महिलाको वित्तीय पहुँच, महिला नेतृत्वमा उद्यमशीलता विकास तथा लघुवित्तमार्फत वित्तीय सेवा विस्तारका अभ्यासबारे चर्चा गरिनेछ । बंगलादेशमा अपनाइएका सफल र चुनौतीपूर्ण अभ्यासबाट नेपालका लागि उपयोगी सिकाइ पहिचान गर्ने उद्देश्य राखिएको छ ।

नयाँ वित्तीय सेवाको सम्भावना पनि छलफलमा

सम्मेलनमा परम्परागत लघुकर्जाभन्दा बाहिरका वित्तीय सेवाको सम्भावनाबारे पनि छलफल हुनेछ । ग्रामीण उद्यम विकास, कृषि तथा जलवायु वित्त, लघुबीमा, सस्तो आवास र शिक्षासम्बन्धी कर्जाजस्ता सेवाको विस्तार तथा व्यवसाय विविधीकरणका विषय समेटिनेछन् ।

त्यसैगरी, नेपालको लघुवित्त क्षेत्रको वर्तमान अवस्था, नियामकीय व्यवस्था र आगामी सुधारका प्राथमिकताबारे विशेष छलफल हुनेछ । कर्जाको गुणस्तर, संस्थाको वित्तीय अवस्था, ग्राहक संरक्षण र जिम्मेवार कर्जा विस्तारलाई लघुवित्त क्षेत्रको दीर्घकालीन विकाससँग जोडेर हेरिनेछ ।

सम्मेलनमा नियामक निकाय, लघुवित्त संस्था, वित्तीय क्षेत्रका विज्ञ र अन्तर्राष्ट्रिय प्रतिनिधिबीच अनुभव आदानप्रदान हुनेछ । यसबाट प्राप्त सुझावले लघुवित्त क्षेत्रका समस्या पहिचान गर्न र आगामी दिनमा सुधारका प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।