Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

७ वर्ष, ६% ब्याज : आरबिबिएलको ऋणपत्र आउँदै

२०८३ आश्विन २१ गते

बैंकिङ खबर / राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ नाममा असोज २९ गतेदेखि ऋणपत्र बिक्री खुला गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख इकाइ निष्कासन गर्नेछ । ७ वर्ष अवधिको यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन् ।

कुल निष्कासनमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ । यसमध्ये ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ । बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

सर्वसाधारणले न्यूनतम २५ इकाइ अर्थात् २५ हजार रुपैयाँदेखि आवेदन दिन सक्नेछन् । अधिकतम भने सर्वसाधारणका लागि छुट्याइएको सम्पूर्ण इकाइका लागि आवेदन दिन सकिनेछ ।  ऋणपत्रको बिक्री असोज २९ गतेदेखि सुरु भई छिटोमा कात्तिक १० गते बन्द हुनेछ । सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि कात्तिक १२ गतेसम्म थप हुन सक्नेछ ।

इच्छुक लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो सेयर’मार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ । ऋणपत्रको अवधि ७ वर्ष रहेकाले लगानीकर्ताले सो अवधिभर वार्षिक ६ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन् । बैंकले ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गर्ने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले दीर्घकालीन स्रोत परिचालनका लागि यो ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्रमार्फत जुटेको रकम बैंकको स्रोत व्यवस्थापन तथा कर्जा प्रवाहमा उपयोग हुनेछ ।