Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महिला उद्यमीलाई वित्तीय पहुँच बढाउन कुमारी बैंक र महासंघबीच सहकार्य

२०८३ आश्विन २० गते

बैंकिङ खबर / महिला उद्यमशीलताको विकास तथा दिगो आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच सहकार्य भएको छ । महिला नेतृत्वमा सञ्चालित व्यवसायलाई वित्तीय पहुँच, बजार तथा आवश्यक व्यावसायिक ज्ञान उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच साझेदारी गरिएको हो । साझेदारीसम्बन्धी सम्झौतामा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार महिला उद्यमी तथा उनीहरूको नेतृत्वमा रहेका व्यवसायका लागि जिम्मेवार वित्तीय सेवामा पहुँच विस्तार, उद्यम विकास तथा दिगो लगानी प्रवर्द्धनमा सहकार्य गरिनेछ । त्यस्तै, जलवायु परिवर्तनका प्रभाव सामना गर्न सक्ने व्यवसायमा लगानी, डिजिटल वित्तीय समाधान, बजारका अवसरको विस्तार तथा मूल्य शृङ्खलासँग महिला उद्यमीको आबद्धता बढाउने विषयलाई समेत प्राथमिकतामा राखिने भएको छ ।

नयाँ वित्तीय उपायको खोजी गरिने

महिला उद्यमीले भोग्दै आएका वित्तीय चुनौतीलाई सम्बोधन गर्न परम्परागत कर्जा प्रणालीभन्दा बाहिरका वित्तीय उपायको समेत खोजी गरिने भएको छ । यसअन्तर्गत व्यवसायको नगद प्रवाहका आधारमा कर्जा मूल्याङ्कन गर्ने व्यवस्था, चल सम्पत्तिलाई आधार बनाएर वित्तीय सुविधा उपलब्ध गराउने तथा प्रत्याभूति र जोखिम साझेदारीका अन्य संयन्त्रको सम्भावना अध्ययन गरिनेछ ।

कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले साझेदारीले महिला उद्यमीको वित्तीय तथा बजार पहुँच विस्तारमा सहयोग पुग्ने बताए । उनका अनुसार महिला उद्यमी महासंघको व्यापक सञ्जाल र कुमारी बैंकको दिगो बैंकिङसम्बन्धी क्षमतालाई एकीकृत गरी महिला नेतृत्वका व्यवसायलाई थप सक्षम, उत्थानशील र विस्तारमुखी बनाउने लक्ष्य राखिएको छ ।

 उद्यम वृद्धि र रोजगारी सिर्जनामा जोड

सहकार्यअन्तर्गत महिला उद्यमीका लागि संयुक्त सिकाइ तथा क्षमता विकासका गतिविधि सञ्चालन गर्नुका साथै कार्यक्रमको प्रभाव मापन गर्न आवश्यक संयन्त्र निर्माण गरिनेछ । त्यस्तै, सम्बन्धित सरोकारवालासँगको सहकार्यलाई समेत अघि बढाइने बैंकले जनाएको छ । महिला उद्यमको विस्तारसँगै वित्तीय पहुँच, व्यवसायको उत्थानशीलता, रोजगारी सिर्जना र दिगो व्यावसायिक अभ्यासलाई सहकार्यको मुख्य प्राथमिकताका रूपमा अघि सारिएको छ ।

कुमारी बैंकका अनुसार यस सहकार्यबाट हरित तथा वित्तीय रूपमा सक्षम महिला उद्यमको विकास, उत्पादन तथा सेवाको मूल्य शृङ्खला सुदृढीकरण र रोजगारीका अवसर विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, जलवायुमैत्री तथा दिगो आर्थिक गतिविधि प्रवर्द्धनमा समेत साझेदारीले योगदान गर्ने बैंकको विश्वास छ ।

हाल कुमारी बैंकले देशभर २७९ शाखा, ४१ एक्सटेन्सन काउन्टर, २९४ एटीएम र ४० शाखारहित बैंकिङ इकाइ मार्फत सेवा दिँदै आएको छ । बैंकका अनुसार १ हजार २०० भन्दा बढी पीओएस टर्मिनलमार्फत समेत सेवा उपलब्ध छ । बैंकले डिजिटल तथा मोबाइल बैंकिङसहित आधुनिक वित्तीय सेवामार्फत वित्तीय पहुँच विस्तार गर्दै आएको जनाएको छ ।