Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बजारबाट उठाउँदै, तरलता व्यवस्थापनमा नयाँ कदम

२०८३ भाद्र १८ गते

बैंकिङ खबर /  बैंक तथा वित्तीय संस्थामा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ उठाउने भएको छ। केन्द्रीय बैंकले ९० दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गरी उक्त रकम तान्न लागेको हो ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले भदौ १८ गते दिउँसो ३ बजेसम्म यसका लागि बोलकबोल आह्वान गरेको छ। बोलकबोलबाट निर्धारण भएको ब्याजदरका आधारमा सोही दिन निक्षेप संकलन उपकरण निष्कासन हुनेछ ।

यस उपकरणमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँको बोल गर्नुपर्नेछ भने त्यसपछि १० करोड रुपैयाँले भाग जाने गरी रकम थप गर्न सक्नेछन्। कुल माग भने १८ अर्ब रुपैयाँभन्दा बढी हुन पाउने छैन।बोलपत्रमा बैंक तथा वित्तीय संस्थाले जम्मा गर्न चाहेको रकमसँगै प्रस्तावित ब्याजदर पनि खुलाउनुपर्नेछ। राष्ट्र बैंकले ब्याजदर दशमलवपछिको चार अंकसम्म उल्लेख गर्न सकिने व्यवस्था गरेको छ। एउटै संस्थाले विभिन्न ब्याजदरमा एकभन्दा बढी बोलपत्रसमेत पेस गर्न सक्नेछ ।

बोलपत्र मूल्यांकन गर्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखिनेछ। सोही क्रममा क्रमशः माथिल्लो ब्याजदरका बोल स्वीकार गर्दै १८ अर्ब रुपैयाँको सीमासम्म रकम संकलन गरिनेछ। एउटै ब्याजदरमा परेको बोलको कुल रकम आह्वान गरिएको रकमभन्दा बढी भएमा समानुपातिक रूपमा बाँडफाँड गरिनेछ ।

निक्षेपका लागि स्वीकृत रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी छुट्टै निक्षेप खातामा राखिनेछ। निष्कासनको दिन खातामा पर्याप्त रकम नभए सम्बन्धित संस्थामाथि थप कारबाही हुन सक्नेछ। त्यस्तो अवस्थामा संस्थालाई कालोसूचीमा राख्नुका साथै आगामी बोलकबोलमा सहभागी हुन रोक लगाउन सकिने राष्ट्र बैंकको व्यवस्था छ ।

राष्ट्र बैंकमा राखिएको यो रकमलाई बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन्। यद्यपि वैधानिक तरलता अनुपात तथा तरलता अनुपात कायम गर्ने प्रयोजनका लागि भने उक्त रकमलाई गणना गर्न सकिनेछ।राष्ट्र बैंकले संकलन गरेको रकमको साँवा तथा ब्याज मंसिर १६ गते भुक्तानी गर्नेछ। त्यसअघि निक्षेपको रकम फिर्ता लिन वा समयअगावै भुक्तानी माग गर्न नपाइने व्यवस्था गरिएको छ ।

बैंकिङ प्रणालीमा आवश्यकताभन्दा बढी रकम थुप्रिँदा त्यसको व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। यसपटकको १८ अर्ब रुपैयाँको निक्षेप संकलनले बजारमा रहेको अतिरिक्त तरलता केही मात्रामा घटाउने र मौद्रिक व्यवस्थापनलाई थप सन्तुलित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।