अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग शिष्टाचार भेट गरेको छ । नेपालको वित्तीय अवस्थाको अध्ययनका लागि गत बुधबार नेपाल आएको जेरार्ड जे. अलमेकिन्डर्सको नेतृत्वको सात सदस्यीय टोलीले गत शुक्रबार(पुस २९ गते) श्रेष्ठसँग भेट गरेको हो ।
उक्त भेटको अवसरमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालको हालको आर्थिक अवस्था, पूँजिगत खर्चको अवस्था, ठूला आयोजनाहरुको कार्यान्वयनको अवस्था र राष्ट्रिय योजना आयोगले योजना कार्यान्वयनलाई प्रभावकारी तुल्याउन पछिल्लो समयमा चालेका कदम बारेमा प्रकाश पारेका थिए । सो अवसरमा राष्ट्रिय योजना आयोगबाट हालसालै पारित गरिएको चौधौं योजनाका प्रमुख विशेषताहरु, आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमको तयारी लगायतका विषयमा समेत छलफल गरिएको थियो । सो भेटको अवसरमा आयोगकासदस्य डा. स्वर्णीम वाग्लेको समेत सहभागिता थियो ।
’आर्टिकल-IV' मिसनका लागि नेपाल आएको १३ दिनसम्म नेपालमा रहने छ । यहाँ रहँदा टोलीले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको अध्ययन गर्नेछ । टोलीले नेपालको विनिमय दर प्रणाली र विनिमय अवस्थाका बारेमा पनि अध्ययन गर्ने बताइएको छ । टोलीले आवश्यक अध्ययन तथा अनुसन्धान गरेर ’आर्टिकल-IV' मार्फत आफ्नो धारणा सार्वजनिक गर्नेछ ।