बैंकिङ खबर / पुँजीबजारमा आज लाभांश घोषणा, बोनस शेयर पारित तथा कम्पनीको वित्तीय अवस्थासँग सम्बन्धित विभिन्न गतिविधि भएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नगद लाभांश घोषणा गरेको छ भने नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)ले बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ ।
निफ्राले ५.२६ प्रतिशत नगद लाभांश दिने
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको आधारमा लाभांश रकम १ अर्ब १३ करोड ६८ लाख रुपैयाँभन्दा बढी हुनेछ । प्रस्तावित लाभांश करसहित हो ।लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन आवश्यक पर्नेछ ।
मुक्तिनाथ म्युचुअल फन्ड–१ को २.२० प्रतिशत लाभांश
मुक्तिनाथ म्युचुअल फन्ड–१ ले इकाइधनीलाई २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले भदौ २४ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार भदौ २३ गतेसम्म कायम इकाइधनी लाभांशका लागि योग्य हुनेछन् ।
एनडीपीले २.५ प्रतिशत बोनस शेयर पारित
नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभाले २.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन पारित गर्नुका साथै स्वतन्त्र सञ्चालकको नियुक्तिलाई समेत अनुमोदन गरेको छ ।बोनस शेयरको कर प्रयोजनका लागि १५ लाख ५७ हजार रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ ।
सभाले अन्य कम्पनी गाभ्ने वा प्राप्ति गर्ने अधिकार सञ्चालक समितिलाई दिएको छ । साथै, परिवर्तनीय डिबेञ्चर, प्राथमिकता शेयर तथा विदेशी लगानी लक्षित वित्तीय उपकरण जारी गर्न सक्ने व्यवस्था पनि स्वीकृत गरेको छ ।
एनडीपीको नाफा ७ करोड ३३ लाख
एनडीपीले आर्थिक वर्ष २०८२/८३ मा ७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादनमूलक क्षेत्र, पूर्वाधार तथा ठूला आयोजनामा लगानी विस्तार गर्ने उद्देश्यसहित कम्पनी अघि बढिरहेको बताए ।उनका अनुसार कम्पनीले आगामी दिनमा जलविद्युत्, केबलकार, पर्यटन तथा सूचना प्रविधिसहितका क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाएको छ ।