काठमाडौं । गुमखोला थाङ्कुरे हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्न आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
यससम्बन्धी सम्झौतापत्रमा गुमखोला थाङ्कुरे हाइड्रोपावरका तर्फबाट अध्यक्ष मित्र बहादुर श्रेष्ठ र आरबीबी मर्चेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रशान्त पौडेलले हस्ताक्षर गरेका छन्।
कम्पनीले निर्माण गरिरहेको गुमखोला थाङ्कुरे जलविद्युत् आयोजना दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकामा अवस्थित छ। ‘रन अफ द रिभर’ (Run of River) प्रविधिमा आधारित आयोजनाको जडित क्षमता २.५० मेगावाट रहेको छ।
आयोजनाबाट वार्षिक करिब ९.६ गिगावाट आवर (GWh) विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ। उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने कम्पनीले जनाएको छ।

